मुगुमा माटो परिक्षण गरेर भवन बन्दै

मुगु । हिमाली जिल्लामा पहिलो पटक माटो परिक्षण गरेर भौतिक संरचना निर्माण हुदै छ । छायाँनाथ रारा नगरपालिकाले प्रशासकिय भवन र कर्भड हल तथा सभाहललगायत भौतिक संरचनाको डिपिआरलगायत माटो परिक्षण गरेर भौतिक संरचना निर्माण गर्न लागेको हो ।

नगरपालिकाले प्रशासकिय भवन निर्माणलगायत भौतिक संरचना निर्माणको लागि र्मोड्न कर्णाली ईन्जिनियरिङ तथा विकास परामर्श प्रणालीसँगकोे सहकार्यमा डिपिआर तयार गरि सोमबारदेखि माटो परिक्षण भईरहेको छ । भवन तथा सभाहल, कर्भड हल निर्माण गर्नु पूर्व भौतिक संरचना निर्माण हुने स्थानको भौगोलिक अवस्थाका बारेमा जानकारी लिन डिपिआर अन्तरगत माटो परिक्षण गरिएको हो ।

सदरमुकाम गमगढी बजारको तल्लो रोड नजिकै बन्न लागेका भौतिक संरचना निर्माण हुन लागेका स्थानको भुगोल, जग्गा भिरालो तथा तल खोला भएकाले माटो परिक्षण नगराई भौतिक संरचना निर्माण गर्दा भविष्यमा समस्या उत्पन हुने भन्दै भौगोलिक क्षेत्रको डिपिआरलगायत अन्य काम गरीनुका साथै माटो परिक्षण गरीएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकाको प्रशासकिय भवन तीन तलाको बन्दै छ । सभाहल तथा कर्भड हल पनि बन्दै छन् । भवन निर्माण मापदण्ड २०७२ अनुसार तिन तल्ला भन्दा माथिका भौतिक संरचना निमार्ण गर्दा अनिवार्य माटो परिक्षण गरिनुपर्ने उल्लेख भए पनि त्यसको पालाना कहीँ कतै भएको पाइँदैन ।

तर, छायाँनाथ रारा नगरपालिकाले मुगु जिल्लाको इतिहासमा पहिलो पटक भौतिक संरचना निर्माण गर्नु पूर्व डिपिआर गरि माटो परिक्षण गरेकोे नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार भवन निर्माण मापदण्ड २०७२ जारी भएको छ । तर, पालाना भएको छैन । त्यसैले नगरपालिकाले त्यसको सुरुवात पनि गरेको र डिपिआर गराई माटो परिक्षण गर्दा भवन बलियो हुने नगर प्रमुख शाहीको भनाई छ ।

माटो परिक्षणको रिपोर्टको आधारमा भवनलगायत अन्य भौतिक संरचना निर्माण गरिने छ । नगरपालिकाले ५ करोड ५० लाख रुपैयाँमा प्रशासकिय भवन र ८ करोडमा कर्भड हल तथा सभाहल निर्माण गर्ने नगर प्रमुख शाहीको भनाई छ ।

यता लामो समयदेखि ईन्जिनियर पेशामा संलग्न रहेका विक्रम बहादुर शाहीका अनुसार माटो परिक्षणविनै मुगुमा भवन बनाउने चलन छ । भवन निर्माण मापदण्डमा स्पष्ट भए पनि त्यसको सरोकारवाला निकायले नै वेवास्ता गरेका छन् । निजी घरधनिले पनि सरकारी भवन निर्माण गर्दा अनिवार्य माटो परिक्षण गर्नुपर्ने भए पनि त्यो नगरेको शाहीले बताए ।

प्रतिक्रिया