दीपिका, सारा र श्रद्धासँग सोधपुछ

मुम्बई । बलिउड अभिनेत्री सारा अलि खानले सुशान्त सिंह राजपुतसँग प्रेमसम्बन्ध रहेको स्वीकार गरेकी छन् । तर आफूले ड्रग्स कहिल्यै नलिएको उनले एनसिबीसँग बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभिनेता सुशान्तको आत्महत्या प्रकरणपछि अहिले सिआइबीसँगै लागुपदार्थविरुद्धको संस्था एनसिबीले पनि अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा मुख्य रुपमा जोडिएकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि एनसिबीले बलिउडमा लागुऔषधको कनेक्सन पत्ता लगाएको थियो । उक्त क्रममा बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरलाई ड्रग्सको विषयमा एनसिबीले शनिबार सोधपुछ गरेको थियो ।

अभिनेत्री साराले सन् २०१८ मा चलचित्र सुटिङका क्रममा सुशान्तसँग आफ्नो सम्बन्ध रहेको स्वीकारेकी हुन् । उनले आफूले सुशान्तले ड्रग्स लिने गरेको देखे पनि आफूले कहिल्यै प्रयोग नगरेको जनाएकी थिइन् । त्यस्तै, अभिनेत्री श्रद्धा कपुरले पनि आफूले सुशान्तले ड्रग्स लिने गरेको देखेको एनसिबीसँग बताएकी थिइन् । यस्तै, अभिनेत्री दीपिका भने सोधपुछका क्रममा तीनपटक भक्कानिएर रोएकी थिइन् । उनले आफूले ड्रग्स नलिएको एनसिबीसँग बताएकी थिइन् । भारतीय सञ्चारमाध्यमले दीपिकाले आफूले आफ्ना म्यानेजरसँग ड्रग्सको विषयमा च्याट गरेको स्वीकार गरेकी थिइन् ।

शनिबार बयानका क्रममा दीपिकाले आफूहरुको छुट्टै वाट्सअप ग्रुप रहेको र उक्त ग्रुपको एडमिन आफू रहेको स्वीकारेकी छन् । साथै उनले उक्त ग्रुपमा ड्रग्ससम्बन्धी कुराहरु हुने पनि स्वीकारेको सञ्चार माध्यमले जनाएका छन् । दीपिकासँग ब्युरोले शनिबार साढे ५ घण्टा सोधपुछ गरेको थियो । उक्त गु्रप च्याटमा दीपिकासँगै उनका म्यानेजर करिष्मा प्रकाश, जया शाह लगायत बलिउडकर्मी रहेको उनले बताएकी छन् । च्याटमा ड्रग्सका कुरा स्वीकार गरे पनि ड्रग्स लिने विषयमा भने दीपिका सिधासिधा उत्तर नदिएको र केही प्रश्नमा मुख नखोलेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, अभिनेत्री श्रद्धा कपूरसँग भएको सोधपुछमा उनले आफूले ड्रग्स नलिने बयान दिएको जनाइएको छ । हाल एनसिबीले दीपिका, श्रद्धा र सारा अलिखानको फोन जफत गरेको छ । फोनबाट ड्रग्सको विषयमा अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया