नेपाली इतिहासमाथि भारतको डकैती

डा. निर्मलमणि अधिकारी

नेपाललाई हिमवत्खण्ड, भरतखण्ड, भारतवर्ष आदि नामले पनि पुकार्नु स्वभाविक हो । सन् १९४७ मा ब्रिटिस आधिपत्यबाट स्वतन्त्र भएको एउटा देशले आफ्नो नाम इन्डिया र भारत पनि राखिदिनाले इतिहास नै भ्रमपूर्ण हुने परिस्थिति आएको हो । यदि हाम्रो छिमेकी देशले ‘इन्डिया भनेकै भारत’ भनेर इतिहासमाथि डकैती नगरेको भए परिस्थिति अर्कै हुने थियो ।

स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देश (भू–राजनीतिक–वैधानिक राज्य) को हैसियतमा नेपालको अस्तित्व अत्यन्त प्राचीन कालदेखि रहिआएको छ । वर्तमानमा विश्वमा रहेका स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देशहरूमध्ये नेपाल सबैभन्दा प्राचीन हो भन्दा पनि अत्युक्ति हुँदैन । हाम्रो छिमेकी चीन र इन्डिया दुवैको इतिहासलाई हेर्ने हो भने भू–राजनीतिक–वैधानिक राज्यका हैसियतमा नेपालभन्दा निकै कनिष्ठ हुन् ।

प्राचीनकालमा नेपाल देशको विस्तृति कामरूप–कामाक्षा (वर्तमान नेपालको पूर्वी सीमानाभन्दा धेरै पूर्व) देखि कश्मिर (वर्तमान नेपालको पश्चिमी सिमानाभन्दा धेरै पश्चिम) सम्म, मानसरोवरभन्दा पनि उत्तर (वर्तमान नेपालको उत्तरी सीमानाभन्दा धेरै उत्तर) देखि गंगा नदीको दक्षिण (वर्तमान नेपालको दक्षिणी सिमानाभन्दा धेरै दक्षिण) सम्म थियो । कहिलेकाहीँ नेपालको सार्वभौमसत्ता पूर्णशासनअन्तर्गत रहने भूखण्ड निकै साँघुरिएको अवस्था पनि नआएको होइन । जे भएता पनि, स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देश (भू–राजनीतिक–वैधानिक राज्य) को हैसियतमा हाम्रो देशको अविच्छिन्न अस्तित्व वैदिक कालदेखि नै रहिआएको छ ।

नेपाललाई हिमवत्खण्ड, भरतखण्ड, भारतवर्ष आदि नामले पनि जनाइन्छ । नेपाल नामले विशेष सांस्कृतिक भूखण्डका साथै स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न देश अर्थात् भू–राजनीतिक–वैधानिक राज्यलाई समेत जनाइएको हो । हिमवत्खण्ड, भरतखण्ड, भारतवर्ष आदि संज्ञाहरूलेचाहिँ एक विशिष्ट सांस्कृतिक भूखण्डका रूपमा यस देशको परिचयलाई प्रकट गर्छन् ।

प्राचीनकालमा जरो भएका भारत, भरतखण्ड तथा भारतवर्षजस्ता संज्ञा र वर्तमान कालमा इन्डिया, भारत, हिन्दुस्तान, हिन्द आदि नामले समेत चिनिने हाम्रो छिमेकी देशको संज्ञाबीचमा भ्रमित नहोऔँ । वास्तवमा प्राचीनकालमा भारत, भारतवर्ष, भरतखण्ड आदि संज्ञाले कुनै भू–राजनीतिक–वैधानिक राज्यलाई जनाउँदैनथ्यो, त्यो त सांस्कृतिक भू–खण्डलाई जनाउने संज्ञा थियो । प्राचीनकालका भू–राजनीतिक–वैधानिक राज्यहरू त नेपाल, आन्ध्र, अंग, अवन्ति, भद्राश्व, द्रविड, कलिङ, कोशल, गान्धार, मगध, मालव, ओड्र, पाञ्चाल, बंग, बाह्लिक, सिन्धु, त्रिविष्टप, महाराष्ट्र आदि आदि थिए । तसर्थ वर्तमान नेपाललाई हिमवतखण्ड, भरतखण्ड, भारतवर्ष आदि नामले पनि पुकार्नु स्वाभाविक हो । सन् १९४७ मा ब्रिटिस आधिपत्यबाट स्वतन्त्र भएको एउटा देशले आफ्नो नाम इन्डिया र भारत पनि राखिदिनाले इतिहास नै भ्रमपूर्ण हुने परिस्थिति आएको हो । यदि हाम्रो छिमेकी देशले ‘इन्डिया भनेकै भारत’ भनेर इतिहासमाथि डकैती नगरेको भए परिस्थिति अर्कै हुने थियो । जे होस्, हामीले बुझ्नै पर्ने ऐतिहासिक तथ्य के हो भने जुन व्यक्तिको नामबाट एक विशाल सांस्कृतिक भू–खण्डलाई भरतखण्ड, भारत, भारतवर्ष भनियो, ती प्रतापी व्यक्ति स्वयंको थातथलो गण्डकी प्रश्रवण क्षेत्र ( वर्तमान नेपालका गण्डकी र धौलागिरि अञ्चल) नै हो ।

वर्तमान नेपालका आदिवासी, अनादिवासी, मूलवासी र भूमिजन खस (प्राचीन नाम कश, अचेल ‘खस’ पनि भनिने), किरात र गांगेय (गंगा मैदान आसपासका समुदाय, जस्तै आजका मैथिल) हुन् ।

(१) खस (प्राचीन नाम कश) किरात र गांगेय (गंगा मैदान आसपासका समुदाय, जस्तै आजका मैथिल) वर्तमान नेपालका आदिवासी, अनादिवासी र मूलवासी र भूमिजन हुन् । दलित भनिने शिल्पी समुदाय पनि खस महाजातिकै शाखा हो ।
(२) नेपालको अहिलेको संविधानले ‘खस आर्य’ भनेको समुदाय मूलतः खस महाजाति (नीप जन) को उत्तराधिकारी हो । अति प्राचीन नीपजनको उत्तराधिकारी यही समुदाय हो, जसको कारणले ‘नेपाल’ (नीप आलय) नामकरण भएको हो । खसका साथसाथै गांगेय, सैन्धव (प्राचीन सिन्धु देश) र कुमाउनी–गढवाली समुदाय लगायतको पनि सम्मिश्रण यो ‘खस आर्य’ भनिएको समुदायमा छ । (यो समुदाय र नेवार समुदाय राज्यराष्ट्र सिद्धान्तका सफलताका प्राचीन उदाहरण हुन् ।)
(३) किरात र मंगोल अलगअलग जाति हुन् । किरात मूलतः वर्तमान नेपाल भूमिकै आदिवासी हो, तर मंगोल होइन । किरात महाजाति भित्रैको एक जाति लिम्बुमा मंगोलको सम्मिश्रण छ जस्तो देखिन्छ, तर निष्कर्षमा पुग्नुभन्दा पहिले थप अनुसन्धान गर्नुपर्छ ।
(४) मगर जाति मूलतः मुख्यतः खस महाजातिकै एक जाति हो । मगर जातिमा किरातको पनि सम्मिश्रण भएको छ, नाग जातिको पनि यसमा सम्मिश्रण भएको जस्तो देखिन्छ । मगर जातिलाई मंगोल भन्नु चरम् अज्ञानता हो, मंगोल समूह नेपाल आउनुभन्दा हजारौँ वर्ष पहिल्यै मगर जाति नेपालमै थियो । कालान्तरमा मगर समुदायमा मंगोल समूहको पनि रक्त सम्मिश्रण भएको हुन सक्छ ।
(५) गुरुङ जातिमा खस, किरात र मंगोलको सम्मिश्रण छ जस्तो देखिन्छ । थप अनुसन्धान गरिँदै छ ।
(६) थारू जाति मुख्यतः किरात हो । आजको थारू जातिमा किरात, खस र राजस्थानी राजपूत समुदायको सम्मिश्रण रहेको जस्तो देखिन्छ । थप अनुसन्धान गरिँदै छ । तर, यो तथ्यचाहिँ स्पष्ट छ कि आजको नेपाली थारू जातिमा मंगोल मिसिएको छैन ।
(७) नेवार समुदाय खस (नीप जन), किरात, गांगेय, मंगोल, राजस्थानी रजपूत, सैन्धव र कुमाउनी–गढवाली आदि धेरै जातिहरूको सम्मिश्रण भएको छ । राज्यराष्ट्रले विभिन्न जाति, प्रजाति, समुदायलाई बडो राम्ररी समन्वित गराउँछ भन्ने जिउँदो उदाहरण नेवार समुदाय हो । तसर्थ यो विश्वकै लागि उदाहरणीय समुदाय हो । (नेपालको वर्तमान संविधानले ‘खस आर्य’ भनेको समुदायमा पनि यो समन्वयको प्रवृत्ति छ, तर ‘खस आर्य’ नामकरण भएको समुदायमा मिसिन नसकेका जातिहरू पनि नेवार समुदायमा मिसिन सकेका छन् ।)
(८) गांगेय महाजातिमा नेपालको मैदानी इलाकामा केन्द्रित बसोवास भएका मैथिल समुदायका साथसाथै अचेल मधेसी पहिचानले चिनाइनेमध्येका धेरैजसो पर्छन् । अति प्राचीन नीपजनको एक समूह मैदानमा ओर्लेको थियो, जसको सम्मिश्रण आजको मधेसी समुदायमा छ मधेसी पहिचानको नारा उरालेर राजनीति चम्काउने कतिपयले ‘खस’ लाई गाली गर्छन्, तर आजको मधेसी समुदाय खस पनि सम्मिश्रण भएर बनेको होे । अर्कोतिर, प्राचीन सैन्धव समुदायको एक समूह पहाड उक्लेको थियो भने अर्को समूह मैदानमै रहेको थियो, जसको सम्मिश्रण आजको मधेसी समुदायमा छ । मधेसी पहिचानले चिनाइने मध्येका कतिपयको मूलभूमि नेपाल होइन, जसबारे विस्तृतमा पछि लेखिनेछ ।
(९) खस (प्राचीन नाम कश) किरात र गांगेय (गंगा मैदान आसपासका समुदाय, जस्तै आजका मैथिल) को मूलभूमि नेपालमा विभिन्न कालखण्डमा अनेकौँ जात, जाति, प्रजाति मिसिन आइपुगेका छन् । नेपाल सबैको साझा घर हो ।

प्रतिक्रिया