झिमरुक प्रशासनिक भवनको काम तीव्र

प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाको प्रशासनिक भवनको कामले तीव्रता पाउँदै गएको छ । गत चैतदेखि निर्माण सुरु भएको प्रशासनिक भवनको अहिलेसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी गराए ।

उनले भने ‘शुरुशुरुमा लकडाउनको कारण निर्माण सामाग्री अभामले समस्या भयो, अहिले सामाग्री सहज पाउन थालेपछि कामको गति बढेको छ ।’ पछिल्लो ६ महिनाभित्र भवनको दुई तला ढलाई गर्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायी बालाजु श्रेष्ठले भवनको निर्माण तोकिएकै समयावधि भित्र पूरा हुने बताए ।

रविना–आँशु–मल्लरानी जेभीले निर्माणको जिम्मा पाएको छ । २०७८ जेठ मसान्तभित्र भवनको निर्माण पूरा गर्ने सम्झौता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी गराए । भवनको लागत अनुमान ६ करोड ५७ लाख ३५ हजार ७ सय २४ रुपैयाँ रहेको उनले बताए ।

चार तलाको भवन निर्माण गर्ने डिपिआर तयार भए पनि यस वर्ष २२ कोठाको २ तले भवन निर्माण पूरा हुने गाउँपालिका इञ्जिनियर निरज शाहले बताए । प्रशासनिक भवनमा आपतकालिन भर्याङ र अपांगमैत्री शौचालय समेत निर्माण हुने साइट इन्चार्ज एवं सव इञ्जिनियर नगेन्द्र आचार्यले बताए ।

भवन निर्माणको ६ महिनामै धेरै महत्त्वपूर्ण काम सम्पन्न भएकोले समयमै काम पुराहुने साइट इन्चार्ज आचार्यले बताए । भवन निर्माणपछि कार्यालयको नियमित सेवा प्रवाहमा सहज हुने आशा गरिएको छ । कार्यालय केही वर्ष भाडाका भवनमा संचालन भएको र हाल सभाहललाई विभाजन गरी चलाइएको सूचना अधिकारी निमप्रसाद भण्डारीले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया