पर्यटन दिवस मनाइरहँदा

यदि, विश्वव्यापी कोरोनाको महामारी हुँदैनथ्यो भने आजको दिन अर्थात सेप्टेम्बर २७ हाम्रो मुलुकका लागि विशेष दिन हुने थियो । नेपाल भ्रमणवर्ष २०२० को करिब करिब अन्तिम चरण र विश्वपर्यटन दिवससमेत भएकोले मुलुकले धुमधामका साथ मनाउने थियो । पर्यटन व्यवसायीहरू कति खुसी हुने थिए होलान ? तर, दुर्भाग्य ४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउँदै गर्दा मुलुकका पर्यटन मजदुर तथा व्यवसायीहरूको अनुहारमा हर्ष होइन कि, आँखामा आँसु छन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । ‘सबैका लागि पर्यटन  : पहुचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । नेपालले पर्यटन क्षेत्रलाई देशको अर्थतन्त्रका लागि महत्वपूर्ण सूचीमा राखेर प्रवर्धन सुरु गरेको ०४६ सालको परिवर्तनपछि हो । त्यस यता केही वर्ष बिराएर नेपाल भ्रमण वर्षको आयोजना गर्नेलगायत पर्यटन प्रवर्धनका काम नेपालमा आयोजना हुँदै आएका छन् । माओवादी द्वन्द्व, शाही शासन, विनासकारी भूकम्पलगायत केही अपवादका समयबाहेक नेपालले पर्यटनको क्षेत्रमा सन्तोषजनक प्रगति गर्दै आएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई विशेष उपलव्धीपूर्ण बनाउने अभियान थालेको पनि थियो तर वर्षको मुखमै कोरोना महामारीका कारण पर्यटक आगमन संभव भएन । भ्रमण वर्ष स्थगित गर्न सरकार बाध्य भयो । यो अवस्था अझै कतिन्जेल रहने हो ? त्यसको टुंगो छैन । कोरोना महामारी समाप्त भयो भने पनि विश्वका अधिकांश मुलुकहरूको आर्थिक अवस्था लयमा फर्कन केहीवर्ष लाग्ने निश्चित छ । विश्व अर्थतन्त्र लयमा नर्फेसम्म पर्यटन व्यवसायले गतिलिन संभव छैन । आफ्नो आधारभूत आवश्यकतालाई भन्दा घुमघामलाई कसैले पनि प्राथमिकता दिदैन । विश्वमा सबैभन्दा बढी आर्थिक गतिविधि उत्पन्न गराउने भनेकै पर्यटन उद्योगले हो । आर्थिक गतिविधिका कारण मात्रै पर्यटन उद्योगलाई महत्वपूर्ण मानिएको होइन, विश्वभरका मानिसलाई एकआपसमा घुलमिल गराउन र एकसमुदाय र अर्को समुदायबीच भाइचाराको संबन्ध विकास गर्न पनि पर्यटन उद्योगले टेवा पुर्याएको हुन्छ ।

अध्ययन तथा अनुसन्धान एवं नयाँ आविष्कारका लागि पनि पर्यटन उद्योगले टेवा पु¥याएको हुन्छ । त्यसैले पर्यटनलाई उद्योगहरूको पनि उद्योग मानिएको छ । नेपालका सन्दर्भमा भन्ने हो भने त पर्यटन उद्योग भनेको वैदेशिक मुद्रा आर्जनको निर्विकल्प स्रोत हो । अन्य औद्योगिक उत्पादनहरू निर्यात गर्ने हैसियत हामी राख्दैना“ै तर पर्यटकीय क्षेत्रहरू भने नेपालमा असंख्य छन् । छिमेकी मुलुक चीन र भारतले विश्वको करिब करिब ४० प्रतिशत जनसंख्या ओगटेको छ । यी मुलुकबाट जति मानिस विदेश घुम्न निस्कन्छन् त्यसको पाँच प्रतिशत मात्रै भित्र्याउन सक्ने हो भने पनि नेपालको अर्थतन्त्रमा कायाकल्प हुनसक्छ ।
पर्यटन उद्योग आफैं “मा संवेदनशील हो ।

शान्ति–सुरक्षा र सञ्चार प्रविधि पर्यटन उद्योगका आधारभूत अंग हुन् । पछिल्ला दिनमा नेपालले शान्ति सुरक्षा तथा सञ्चार प्रविधिको क्षेत्रमा सन्तोषजनक उपलव्धी हासिल पनि गरेको छ । विदेशी पर्यटकहरूको वृद्धिदर वार्षिक २० प्रतिशतको हाराहारीमा पुगेकोसमेत थियो । व्यवसायीहरूले उत्साहित हुँदै ठूलो लगानी गर्न थालेका थिए । उदाहरणका लागि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै व्यवसायीहरूले करिब १६ अर्ब रुपैयाँ प्रत्यक्ष लगानी गरेका थिए । तर, कोरोनाका कारण त्यो लगानी डुबेको छ । पर्यटन क्षेत्रमा रोजगारी गर्नेहरू पलायन भएका छन् । पर्यटन व्यवसायी तथा मजदुरहरूलाई टिकाइरहनु अहिलेको आवश्यकता हो । यसका लागि सरकारले विशेष प्याकेज ल्याउनु अनिवार्य छ । कोरोना कहर सकिनासाथ पर्यटन उद्योगलाई लयमा फर्काउने सोचका साथ सरकारले अहिलेदेखि नै कदम चाल्नुपर्छ ।

प्रतिक्रिया