मुगु–चीन सीमामा रहेको १३ नम्बर पिलर निरीक्षण गर्न टोली प्रस्थान

मुगु । जिल्लाको मुगु–चीन सीमामा रहेको पिलर निरीक्षण गर्न सरकारी टोली सीमा क्षेत्रमा प्रस्थान गरेको छ । हुम्ला चीन सीमा पिलरबारे बिवाद बढेपछि मुगु–चिन (तिब्बत) सीमाको पिलरको निरीक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली, शसस्त्र प्रहरी निरिक्षक खुमबहादुर केसी, मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामासहित १४ जनाको टोली विहिबार मुगु–तिब्बत सीमा क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

हुम्ला–तिब्बतको सीमा पिलरबारे बिवाद देखा परेपछि सत्यतथ्य एवं यथार्थ बुझ्न सहायक प्रजिअ ज्ञवालीको नेतृत्वमा टोली उक्त क्षेत्रमा खटाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । मुगुको चिनसँग एक मात्र १३ नम्बर सीमा पिलर पहिलेकै स्थानमा या एताउता सारिएको विषयमा बुझेर टोलीलाई रिपोर्ट ल्याउन जिल्ला सदरमुकाम गमगढीदेखि मुगुको तिब्बत सीमा क्षेत्रसम्म टोली पुग्न ४ दिन र फर्किन ४ दिनगरि ८ दिन समय तोकिएको पनि प्रजिअ निरौलाले बताए ।

टोलीले तिब्बती जनप्रतिनिधिलाई भेटेर सीमा पिलर तथा सुरक्षाबारे छलफल व्यापार आदानप्रदानबारे परामर्श पनि गर्ने भएको छ । निरिक्षणमा खटिएको टोलीले मुगु गाउँमा शसस्त्र क्याम्प स्थापनाको लागि उपयुक्त स्थान र जग्गाको बारे टुंगोसमेत लगाएर फर्किने बताइएको छ । मुगु र तिब्बत सीमा क्षेत्र सुरक्षार्थको लागि अहिलेसम्म शसस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छैन ।

पहिलेदेखि नै सीमा क्षेत्रमा रहेको मुगु गाउँमा रहेको प्रहरी चौकीले मुगु तिब्बत सीमाको बारेमा सामान्य सुरक्षा प्रदान गर्दै आएको छ । सीमा निरिक्षणको लागि गएको टोलीले सीमावती गाँउ मुगुमा शसस्त्र प्रहरीको सीमा सुरक्षा बल राख्न आवश्यक भौतिक पुर्वाधार बनाउन चाहिने जग्गा पनि खोज्ने योजनाका साथ सरकारी टोली गएको बुझिएको छ । सीमामा स्थायी सुरक्षा नहुँदा चोरी सिकारी तथा नेपालतर्फ पाईने मूल्यवान जडिबुटी र वन्यजन्तुहरु चिनतर्फ अवैध व्यापार पनि हुने गरेको छ ।

प्रतिक्रिया