सत्यमोहनका नाममा भवन

ललितपुर । नेपालको लोक साहित्यको संरक्षण, प्रवद्र्धन तथा विकासका निम्ति भवन निर्माण गर्न लागिएको छ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीका नाममा निर्माण भइरहेको ‘सत्यमोहन लोक साहित्य भवन’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लोक साहित्य परिषद्ले लोक साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर महानगरपालिका–१२ बखुंबहालस्थित संस्कृतिविद् सत्यमोहन जोशीको निजी निवास परिसरमा सो भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि जोशीले दुई आना दुई पैसा जग्गा परिषद्लाई दान गरेका हुन् । ललितपुरका प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाखबाट भवनको निर्माण कार्य सुरु गरिएको ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले जानकारी दिए । उनले भने, ‘साढे चार तलाको भवन निर्माण भइसकेको छ । यसमा जाोशीका कृृति, सम्मान, विभूषण, पुरस्कार र प्रतिमाआदि राखेर प्रदर्शनी भवन बनाउन लागेका हौँ ।’ सो भवनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागेका जोशी र उनका कृतिलाई वर्षाै वर्षसम्म जीवित तुल्याउने उनको भनाइ छ ।

उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सो भवनमा हालसम्म करिब ६० लाख खर्च भइसकेको भवन निर्माण समितिका सदस्य शान्त्ताराज शाक्यले बताए । भवन निर्माणका लागि विभिन्न दाताबाट आठ लाख पचास हजार सहयोग भएको छ भने वल्र्ड नेवा अर्गनाइजेसनले १५ देखि १६ लाखसम्म सहयोग गर्ने घोषणा गरेको उनले जानकारी दिए । भुई तल्लामा बैठक कक्ष, पहिलो तल्लामा सङ्ग्रहालय, दोस्रो तलामा पुस्तकालय रहने बताइएको छ । यो भवन कला संस्कृतिप्रेमीहरूको साझा भवन भएको संस्कृतिविद् सत्यमोहन जोशीले बताए । उनले भने, ‘कला संस्कृति नेपालको अमूल्य निधि हो । समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि कला, संस्कृतिको संरक्षण हुनुपर्दछ ।’

प्रतिक्रिया