कालिकोटका जनता अन्धकारमा, संघीय सरकारको बेवास्ता

कालिकोट । जिल्लाको एकमात्र विद्युत पोतमारा जलविद्युत आयोजना विगत केही महिनादेखि अलपत्र अवस्थामा छ । वर्खाको समयमा आउने पानीका कारण गएको पहिरोले पावर हाउसको नहर भत्काउँदा र विद्युत हाउसका केही मेसिनहरुमा खरावी आउँदा कालिकोटको विद्युत लाईन बन्द भएको छ ।

बन्द भएपछि जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिकाका केही वडाहरुमा गएको बत्ती बन्द हुँदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । पोतमारा जलविद्युत कहिले बन्ने हो यसको एकिन भने छैन ।

नेपाल विद्युत प्राधिकरण कालिकोटका प्रमुख मेघराज जोशीले पावर हाउसमा काम भइरहेको बताएका छन् । अझै केही महिना लाग्ने उनले बताए । अहिले यति दिन, यति महिना लाग्छ भन्न सकिँदैन’, उनले भने ‘हामीलाई विद्युत सेवा अवरुद्ध गराउन रहर हैन, तर के गर्ने वर्षाको समयमा आएको बाढी, पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।’

जेनेरेटरबाट दिइने सेवा पनि बन्द

पोतमारा जलविद्युत अवरुद्ध भए लगत्तै कालिकोटवासी केही दिन अन्धकारमा बसे । सरकारी तथा गैर सरकारी संस्थाहरुले जेनेरेटरबाट काम चलाए पनि सेवाग्राहीको काम भनेको समयमा हुन सकेन । व्यापारीहरुले जेनेरेटरबाट दिइने सेवाको चर्को मूल्य लाग्न थाल्यो ।

सदमुकाम मान्मलगाएत स्थानीय तहका नागरिकहरु अन्धकारमै बस्न बाध्य भए । वर्षाको समयमा आकाशे वर्षासँगै सोलार सिस्टम पनि चार्ज हुन नपाउँदा साच्चीकै अध्यारोमय जिवन विताउन बाध्य भए कालिकोटका नागरिकहरु । नेपाल विद्युत प्राधिकरणका निर्देशक मोतिलाल महताराको विशेष पहलमा जुम्ला जिल्लामा भएको जेनेरेटर कालिकोट विद्युत प्राधिकरणको कार्यालयसम्म आइपुग्यो ।

केही दिन जेनेरेटरबाट विद्युत प्राधिकरण कालिकोटले सेवाग्राहीलाई सेवा दियो । दुई घण्टा दिउँसो, दुई घण्टा बेलुका जेनेरेटरबाट सेवा पाएका कालिकोटका सेवाग्राहीले अहिले तेही दुइ घण्टाको जेनेरेटर सेवाबाट बन्चित भएका छन् । जेनेरेटरमा आएको खरावीका कारण सेवाग्राहीले हाल विद्युतको सेवा लिन भने सकेका छैनन् ।

निरन्तरको वर्षासँगै किसान हर्षित

निरन्तरको वर्षासँगै किसान हर्षित देखिएका छन् । विगत केही दिन यता वर्षा नभएकाले कोदो, धान लगाएतका बालीहरु सुक्दै जाने समस्याले किसान चिन्तित देखिएका थिए । पानीको अभाव हुने ठाउँमा किसानहरुलाई आकाशे पानीको भर पर्नुपर्छ ।

जिल्लाको खाँडाचmक्र नगरपालिका वडा नं. ५ दाडिमबोटमा पानीको मुहान नहुँदा किसानले लगाएको अन्नबाली सुक्दै गएको थियो । तर, निरन्तरको बर्षाका कारण किसान खुशी देखिएका हुन् ।

खाँडाचक्र नगरपालिकामा मात्र नभइ जिल्लाका अन्य स्थानीय तहका केही वडाका वस्तीहरुमा पानीको अभाव छ । पानी नहुँदा हिउँदमा होस् या बर्खाको समयमा किसान आकाशे पानीको भरमा खेतिपाती गर्छन् ।

कर्णाली राजमार्ग पुनः अवरुद्ध

निरन्तरको वर्षापछि कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा जाने पहिरोका कारण राजमार्ग अवरुद्ध भएर यात्रुहरु अलपत्र पर्ने समस्याले भने झन् पीडा दिएको छ ।

कर्णाली राजमार्ग अन्र्तगत घट्टेखोला, सेरीघाट, ताडी बजारदेखि जुम्लासम्मको सडकखण्डमा प्रायः जसो बाढी, पहिरो जाने गर्दछ । यस राजमार्ग स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको खासै ध्यान गएको देखिँदैन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया