को हुन् देवी–देवता ?

डा.निर्मलमणि अधिकारी

लोक–कल्याणकारी महान् आत्माहरूको सम्मान गर्नु हिन्दू–समाजमा जीवनशैली नै बनेको छ र हिन्दू–समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरूमा इश्वरीय अंशावतार देख्दछ । अवतारी सिद्ध महात्माहरूका उपदेशहरूलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापना समेत भएको हामी पाउँछौं । हुन त हिन्दू–इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तोकि मोहम्मदलाई अल्लाहुको पैगम्बर ठान्नु जीसस क्राइस्टलाई ईश्वर–पुत्र ठान्नु आदि । तिनका जीवनगाथा गाउने क्रममा कति अतिराजना थपिएका छन् भन्ने पक्ष अध्ययन हुनसकेमा धेरै रहस्यका पर्दा खुल्न सक्छन् ।

चर्चा आरम्भ गरौँ वैदिक देवताहरूका सम्बन्धमा बिजी रेलेको एक विचित्र मतबाट । सन् १९३१ मा प्रकाशित पुस्तक ‘वैदिक गड्स् ः एज दि फिगर्स अफ् बायोलोजी’ मा उनले प्रतिपादित गरेका छन् कि सबै वैदिक देवता मनुष्यका स्नायु संस्थानका विभिन्न चेतना केन्द्र तथा क्रियाहरूका प्रतीक हुन् । देवताको रूपमा जुन चेतनसत्तालाई वैदिक ऋषिहरूले कल्पना गरे त्यो मानव चेतनाको नै प्रतिरूप हो । यस चेतनाको अधिष्ठान स्नायु तन्त्र मस्तिष्क सुषम्ना एवम् तन्त्रिकाहरू नै देवहरूको निवासस्थान हो । उनकै शब्दमा, ‘ मेरो यो दृढ विश्वास छ कि वेद स्नायु संस्थान एवम् तिनको कार्य प्रणाली सम्बन्धमा ऋषिहरूद्वारा लेखिएको पुस्तक हो । यी सबैलाई वैदिक ऋषिहरूले एक यस्तो भाषामा व्यक्त गरेका छन् जो तिनीहरूको निवासस्थानसँग सम्बन्धित प्राकृतिक दृश्यहरूबाट लिइएका रुपकहरू अथवा प्रतीकहरूले युक्त छ ।’

‘यथा पिण्डे तथा ब्रह्माण्डे’ यस प्रसिद्ध भनाइभैmँ वैदिक ऋषिहरूले मस्तिष्कलाई सम्पूर्ण ब्रह्माण्डको लघु–प्रतिकृति सम्झिए । अतः उनीहरूले मस्तिष्कको विभिन्न विभागहरूसँग सम्बन्धित यी देवताहरूलाई बाह्य प्रकृतिका विभिन्न क्षेत्रसँगपनि संबद्ध गरेका छन् । वैदिक देवताहरूको यस्तो स्वरुपमाथि दृष्टि राखेर नै सम्भवतः प्रसिद्ध प्राचीन भारतीय भारतवर्षीय शल्यचिकित्सक सुश्रुतले भनेका छन् कि वेदमा वर्णित सबै देवताहरूको मानव शरीरमा स्थायी अस्तित्व छ । श्री रेलेले शरीर–शास्त्रसंबन्धी अनेक सूक्ष्म प्रमाणहरूका आधारमा यो सिद्ध गर्ने प्रयत्न गरेका छन् कि प्रमस्तिष्क नै इन्द्र हो ।

प्रमस्तिष्कको मध्य भागमा स्थित अनुभूतिको केन्द्र थ्यालेमस् नै अग्नि हो । लघु–मस्तिष्क पूषन् हो । मेडुला एवम् लघु–मस्तिष्कको समीपको पोन्स् नामक भाग रुद्र हो । सुषम्ना विष्णु हो । प्रमस्तिष्कको दाहिने र बायाँ भागबाट आएर सुषम्नामा प्रवेश गर्ने दुई स्नायु समूह अश्विनौ शब्दले बताइएका हुन् । स्नायुहरूको यी तीन समूह नै ऋभु नामले ऋग्वेदमा वर्णित गरिएका छन् । मस्तिष्क एवं सुषम्नाको चारैतर्फ रहेका द्रव मित्र र वरुण मैत्रावरुण हुन् । रेलेले ऋग्वेदका अनेक ऋचाहरूको प्रमाणी दिँदै यो पनि सिद्ध गरेका छन् कि रोदसी शब्दको अर्थ अन्य भाष्यकारहरूले अर्थ गरेजस्तो पृथ्वी एवम् आकाश होइन वस्तुतः यो शब्द प्रमस्तिष्कका दुई गोलाद्र्धको वाची हो । मुखमण्डलको मांसपेशीहरूलाई नियन्त्रित गर्ने एवम् त्यहाँबाट प्रमस्तिष्कसम्म सूचना लैजाने तन्त्रिकाहरूलाई मरुत् संज्ञा दिइएको हो । यिनीहरू गएर त्यो सेतुसँग मिल्दछन् जसलाई वैदिक भाषामा रुद्र नाम दिइएको छ । यसप्रकारले यी रुद्रका पुत्र हुन् । भ्रुण एवम् तत्पश्चात् शिशुको रूपमा विकसित हुनेवाला कोषनै हिरण्यगर्भ हो । आदि–आदि ।

वैदिक देवताहरूका सम्बन्धमा एक अन्य विचित्र मत श्री परमशिव अयरको रहेको छ । आफ्नो ‘रिक्स’ ९च्ष्पक० नामक पुस्तकमा उनले प्रतिपादित गरेका छन् कि ऋग्वेदमा त्यस समयका घटनाहरूको उल्लेख छ जब पृथ्वीको जन्म भएको मात्र थियो र पर्वतहरू नदीहरू तथा समुद्र आदिको भूतलमा क्रमशः निर्माण भइरहेको थियो । भूतलमा हुने विविध प्रकारका परिवर्तनहरूलाई नै वैदिक ऋषिहरूले ऋग्वेदको रूपमा उपनिबद्ध गरेका हुन् र सम्पूर्ण देवता भू–गर्भ विद्यासम्बन्धी दृश्यहरूका नै वाची हुन् । वेदमा वर्णित मरुद्गणको उत्पत्ति क्रियाहरू तथा रूपसँग समानता देखाउँदै उनले सिद्ध गरेका छन् कि मरुतहरूको गण पर्वतका उच्च शिखरमा जमेका हिम हिमयुक्त शिखर एवम् बरफिलो झंझावातलाई सूचित गर्दछ ।

मरुतहरूलाई रुद्रस्य सूनवः तथा पृश्निमातरः पृश्नि माता येषां भनिएको छ । पृश्नि कुन्तल मेघ सिरस हो जो सदा अग्ला पर्वत भन्दा पनि माथि हावामा तैरिरहन्छ र कहिल्यै पृथ्वीमा उित्रँदैन । ब्राह्मण ग्रन्थहरूमा रुद्रलाई अग्नि भनिएको छ । वस्तुतः रुद्र अन्तरिक्षको अग्नि विद्युत् या तडित हो । यसै तडितको कारणलेनै उच्च पर्वतीय शिखर तथा तीभन्दा माथिको वायुमण्डल विद्युन्मय हुन्छ र फलस्वरुप मेघको वाष्पसँगको संयोगबाट ती शिखरमा हिमकण जम्दछन् । मरुत् र रुद्रलाई अनेक औषधिहरूका स्वामी तथा रोग विनाशनमा निपुण बताइएको छ । वस्तुतः विद्युतको आवेशले युक्त हिमयुक्त तीव्र झंझावात वायुमण्डलमा रहेका रोगोत्पादक कीटाणु एवम् अन्य हानिकारक तत्वहरूलाई नष्ट गरी वातावरणलाई शुद्ध बनाउँछ । साथै यस्तो झंझावात पश्चात् विविध प्रकारका औषधिहरूको पनि तीब्रताले वृद्धि हुन्छ । यस्तो झंझवात प्रायः अचानक पूर्व संकेतबिना नै आउँछ । अतः मरुतहरूलाई विमान तथा अश्वहरूविना नै विचरण गरेको वर्णित गरिएको छ ।

यस्ता अनेक मतहरू देखेर श्री गयाचरण त्रिपाठीले आफ्नो पुस्तक वैदिक देवता उद्भव और विकासमा भन्नुभएको छ, ‘वैदिक मन्त्रहरूको दुरुहता एवम् अनेक प्रकारका अर्थहरूलाई व्यक्त गर्न सक्ने क्षमताले ऐना जस्तै निर्मल एवम् स्वच्छ वैदिक मन्त्रहरूमा हेर्ने जो कोहीले पनि तिनीहरूको पृष्ठभूमिमा स्थित रहस्यहरूलाई खोज्ने इच्छा गर्दछ भने उसलाई तिनमा आफ्नै भावनाको प्रतिबिम्ब देखा पर्दछ । हुनसक्दछ प्रत्येकमा सत्यको केही केही अंश होओस् । वैदिक ज्ञान–विज्ञानको सम्बन्धमा अझसम्म हामी यति अधिक प्रारम्भिक अवस्थामा छौँ कि यससम्बन्धमा प्रत्येक नवीन दृष्टिकोणहरूलाई हामीले स्वागत गर्नु पर्दछ ।’

यो समस्त विश्व परमात्माको नै विराट रूप हो तसर्थ प्रत्येक प्राणी परमेश्वरको नै अंशरूप हो । तीमध्येमा यदि जहाँ–कहीँ पनि कसैमा सामान्यतया जोकोहीमा नपाइने कुनै विशेष गुण या शक्ति देखियो भने त्यसलाई परमात्माको विशेष विभूति मानेर सम्मान गर्ने गरिएको पाइन्छ । विशिष्ट क्षमतावानलाई सम्मान गरिनु स्वाभाविक नै हो । अर्कातर्फ नवपुस्तालाई शिक्षा प्रदान गर्न आख्यानहरू बनाइनु पनि स्वाभाविकै हो । कतिपय आख्यानका पात्रहरू यदाकदा यति प्रभावशाली भइदिन्छन् कि समाजमा तिनीहरूको छुट्टै अस्तित्वबोध समेत हुन थाल्छ । हाम्रा कतिपय देवीदेवताहरू यसप्रकारले स्थापित भएका पनि होलान् भन्न सकिने स्थिति छ ।

लोक–कल्याणकारी महान् आत्माहरूको सम्मान गर्नु हिन्दू–समाजमा जीवनशैली नै बनेको छ र हिन्दू–समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरूमा इश्वरीय अंशावतार देख्दछ । अवतारी सिद्ध महात्माहरूका उपदेशहरूलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापनासमेत भएको हामी पाउँछौँ । हुन त हिन्दू–इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तो कि मोहम्मदलाई अल्लाहका पैगम्बर ठान्नु जिसस क्राइस्टलाई ईश्वर–पुत्र ठान्नु आदि । तिनका जीवनगाथा गाउने क्रममा कति अतिराजना थपिएका छन् भन्ने पक्ष अध्ययन हुनसकेमा धेरै रहस्यका पर्दा खुल्न सक्छन् ।

प्रतिक्रिया