दार्मामा सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाइँदै

सल्यान । जिल्लाको दार्मा गाउँपालिकामा टोल सिकाइमार्फत विद्यार्थीलाई पठनपाठन कार्य सुरु गरिएको छ । कोरोना भाइरसका कारण पाँच महिनादेखि शिक्षण संस्था बन्द भएपछि वैकल्पिक सिकाइका लागि टोल सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु गरिएको हो ।  आधा शैक्षिक सत्र सकिन लाग्दासमेत विद्यालयमा पठनपाठन गराउन समस्या भएपछि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीहरूलाई पठनपाठन गराउन थालेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत शेरप्रसाद ढकालले बताए । ‘माध्यमिक र आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीहरू धेरै र सेवा क्षेत्र पनि धेरै हुने भएकाले कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले हामीले टोलटोलमा पुगेर पठनपाठन सुरु गरेका हौँ’, ढकालले भने ।

टोल सिकाइ केन्द्रमा विद्यालय व्यवस्थापन वा शिक्षक–अभिभावक संघका पदाधिकारीको संयोजकत्वमा अभिभावक, शिक्षक, वृद्धिजीवी समेतको प्रतिनिधित्व हुने गरी सात सदस्यीय टोल सिकाइ सहजीकरण व्यवस्थापन समिति गठन गरिएको ढकालले बताए । कोभिड–१९ को जोखिम कम, विद्यार्थी संख्या न्यून, सानो सेवा क्षेत्र र क्वारेन्टाइन नभएका विद्यालयहरूमा प्राथमिक तहको सिकाइ सहजीकरण गरिने उनको भनाइ छ । ‘प्राथमिक तहका विद्यार्थीहरूलाई एकदिनको अन्तर राखेर पठनपाठन सञ्चालन गरिरहेका छौँ’, ढकालले भने ।  कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि टोल सिकाइ केन्द्रबाट सुरु भएको पठनपाठन प्रभावकारी भएको श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरका प्रधानाध्यापक मीनराज वलीले बताए । विशेष गरी मावि र निमाविका विद्यार्थीलाई लक्षित गरी टोल सिकाइ केन्द्रमार्फत शिक्षण गराइरहेको उनको भनाइ छ ।

दार्मा गाउँपालिकाभित्र हाल १२ वटा सिकाइ केन्द्रहरू माध्यमिक विद्यालयका लागि र चार वटा प्राथमिक विद्यार्थीका लागि चार वटा सिकाइ केन्द्रको स्थापना गरी पठनपाठन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।  टोल सिकाइ केन्द्रमा शिक्षकहरूले घुम्ती प्रणाली, फोन सम्पर्कबाट पनि अध्ययन गराउने उनको भनाइ छ । सिकाइ सहजीकरणका लागि विद्यालयले विद्यार्थी संख्याका आधारमा टोल सिकाइ केन्द्र स्थापना गर्न सक्ने र उक्त केन्द्रमा साबुनपानीको उचित व्यवस्था गरिएको छ ।

दार्मा गाउँपालिकामा ६ माध्यमिक विद्यालय, १० निम्न माध्यमिक विद्यालय र १७ प्राथमिक विद्यालय रहेका छन् । मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा गर्ने योजनाका साथ पठनपाठन भइरहेको दार्मा गाउँपालिकाले जनाएको छ ।  दार्मा गाउँपालिकामा कोरोना संक्रमण दर घट्दै गएपछि स्वास्थ्य सुरक्षाका लागि अपनाइने सबै सावधानीहरू अपनाएर पठनपाठन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया