कंगना उर्मिला विवाद

एजेन्सी, मुम्बई । विवादास्पद अभिव्यक्तिका कारण अभिनेत्री कंगना रनौतको पछिल्लो समय बलिउडका अधिकांश कलाकारसँग सम्बन्ध बिग्रिएको छ । उनले आफूमाथि टिप्पणी गर्ने हरेक कलाकारको आलोचना गर्दै आएकी छन् । यसैबीच कंगनाले अभिनेत्री उर्मिला मातोण्डकरमाथि गरेको टिप्पणीले बलिउड तातेको छ । उर्मिलाले एक अन्तर्वार्तामा कंगनालाई लक्षित गरी बोलेपछि यी दुईबीचको बहसले बलिउड गर्माएको छ । उर्मिलाले भनेकी थिइन्, ‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात हिमाञ्चल प्रदेशबाट नै सुरु भएको थियो ।’
यसको जवाफ दिँदै कंगनाले एक भारतीय मिडियासँग भनिन्, ‘मैले उर्मिलाको एक अपमानजनक अन्तर्वार्ता हेरेँ । उनले जुन तरिकाले मेरो बारेमा कुरा गरेकी छन्, त्यो मलाई उत्तेजित बनाउनका लागि हो । उनले मेरो संघर्षको मजाक बनाएकी छन् । उनलाई थाहा छ कि, म भाजपा पार्टीबाट चुनाव लड्न चाहन्छु, जुन मेरा लागि ठूलो कुरा नै होइन ।’

उनले उर्मिलामाथि कडा टिप्पणी गर्दै भनिन्, ‘उर्मिला एक सफ्ट पोर्न स्टार हुन् । मलाई थाहा छ यो थोरै भद्धा टिप्पणी हो । तर, उनी आफ्नो अभिनयका लागि कहिले पनि परिचित भइनन् । उनी, कुन कुराका लागि परिचित छन् भन्ने सबैलाई थाहा छ । यदि, उनलाई कांग्रेसबाट टिकट मिल्यो भने मलाई किन मिल्न सक्दैन ।’ कंगनाको यो भनाई बाहिरिएसँगै उर्मिलाको समर्थनमा केही बलिउडकर्मीले बोलेका छन् ।
अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणपछि कंगनाले परिवारवाद र कृपावादका विषयमा चर्को आवाज उठाउँदै आएकी छन् । उनले फिल्म उद्योगमा लगभग सबै कलाकारलाई लक्षित गर्दै टिप्पणी गर्दै आएकी छन् । हालै उनले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भन्दै उनी आफ्नो अभिनयका कारण परिचित नभएको जिकिर गरिन् ।

यस्तै उर्मिलाले कंगनामाथि निशाना साँध्दै उनले विनाकारण पीडित र महिला कार्ड खेलिरहेको बताइन् । उर्मिलामाथि कंगनाको यस्तो भनाइ सार्वजनिक गरेपछि थुप्रै बलिउड कलाकारले कंगनालाई घेरेका छन् । उर्मिलाले कंगनाको सफ्ट पोर्न स्टारको जवाफ एक अन्र्तवार्तामा दिएकी छिन् । उनले भनिन्, ‘कंगनाले ती मानिसहरुको नाम लिउन् जसले इन्डस्ट्रिमा ड्रग्स लिन्छन् । यदि कंगनाले यस्तो गर्छिन् भने उनको यो जानकारीका लागि थम्स अप दिने पहिलो महिला हुनेछु ।’

उर्मिलाले भनेकी छन्, ‘के तिमीले लगातार म पीडित हुँ, पीडित हुँ भनेर भिक्टिम कार्ड खेलिरहनु पर्छ ? तिमीले यो निश्चित गर्नुपर्छ । यदि कंगनालाई यी सबै कुरा थाहा थियो कि उनी किन चुप बसिन् ? अगाडि आएर किन बोलिनन् ?’ उनले कंगनालाई सबै चीज चलचित्र उद्योगले दिएको बताएकी छन् । उनले भनेकी छन्, ‘तिमीसँग आज जे छ नि, नाम–दाम, यी सबका लागि तिमीले मुम्बई र फिल्म इन्डष्ट्रिलाई धन्यवाद भन्नुपर्छ । तिमीले पहिले नै यस्ता विषय किन उठान गरिनौ ? पछिल्लो केही महिनादेखि मात्रै तिमीले यी सबै किन बोलिरहेकी छौ ? समय निकै उदेकलाग्दो लागिरहेको छ । परिस्थिति पनि अचम्मको लागिरहेको छ ।’ उनले यदि कोही चिच्याइरहेको छ भने ती व्यक्तिले वास्तविकता नै बोलिरहेको छ भन्ने हुँदैन भन्दै कंगनाको आलोचना गरिन् ।

प्रतिक्रिया