नेपाली कला र संस्कृतिको ऐतिहासिक पक्ष

देवेन्द्र थुम्केली

विषय प्रवेश
नेपाली कलाको विकास परापूर्वकालदेखि भएको हो । विविध कला र संस्कृतिले सम्पन्न नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । यहाँ विविध किसिमका कला र तिनका बहुआयामिक क्षेत्र रहेका छन् । यी कलाको माध्यमबाट हामीले देशको सांंस्कृतिक अवस्था कस्तो रहेको छ र त्यसको प्रवद्र्धनात्मक कार्यमा के–कस्ता कार्यक्रमिक नीति तथा योजना तर्जुमा गर्नुपर्दछ, यसमा राज्यको भूमिका कहाँ र कस्तो हुन्छ, त्यसलाई राज्यको मूलधारमा जोडेर कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय नै अहिलेको प्रमुख विषय हो ।
राज्यले सांस्कृतिक चरित्र वरण गर्न नसक्दा कुनै पनि उपलब्धिले संस्थागत रुपधारण गर्न कठिन हुन्छ । कला तथा संस्कृति यस्तो औजार हो जसले राज्यको पहिचान मात्रै होइन त्यसको भावी दिशासमेत निर्धारण गरिरहेको हुन्छ । यो प्रत्यक्ष तथा परोक्षरुपमा समाजका सबै अवयवमा अन्तरघुलित हुँदै समाजको चरित्रलाई अगाडि बढाइरहेको हुन्छ । मनिसमा रहेको ज्ञान, सीप र क्षमताबाट समाजलाई गतिशील बनाउने सशक्त औजार भनेकै कला र संस्कृति हुन् । मानव जीवनमा कला र संस्कृतिले गति पैदा गर्दै समाजप्रति उत्तरदायी हुने वातावरण पनि निर्माण गर्दछ । समाजलाई सभ्य बनाउनुका साथै मानवीय मूल्य र मान्यतालाई स्थापित गर्ने माध्यम पनि यिनै हुन् । समाजको सामाजिक चरित्र निर्माणसँगै मानव जातिले स्थापित गरेका जीवन मूल्यलाई सही ढंगले अगाडि बढाउनका लागि पनि कला र संस्कृतिको भूमिका अहम् रहन्छ । मानव जातिले समाजमा भौतिक र अभौतिक सिर्जनामार्फत जीवनयापनलाई सहज बनाएका हुन्छन् । कला र संस्कृतिकै माध्यमबाट भौतिक र अभौतिक संस्कृतिको सिर्जना हुन्छ ।

संस्कृति
मानव जातिले जीवन र जगतलाई सहज बनाउनका लागि आर्जेको सीप, ज्ञान र क्षमताको उपजको रुपमा संस्कृतिको निर्माण भएको हुन्छ । भूगोल र वातावरणले संस्कृतिमा निकै प्रभाव पारेको हुन्छ । मानिसको रहनसहन, खानपान, बसोबास, धर्म, रीतिरिवाज, भाषा, साहित्य, कला, गीत÷संगीत तथा अन्य सामाजिक गतिविधि संस्कृतिमा पर्दछन् । संस्कृति मानव जीवनको महत्वपूर्ण अंग पनि हो । मानव जातिले आविष्कार गरेका जति पनि मानवीय क्रियाकलाप छन, ती सबै संस्कृतिका अंगका रुपमा रहेका हुन्छन् । कला पनि संस्कृतिको अंगकै रुपमा रहेको छ ।
नेपाली संस्कृतिमा हाल नेपालमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायले निर्माण गरेका कलात्मक सिर्जना तथा उनीहरुका पुर्खाले आर्जेको कलात्मक ज्ञान जुन अहिलेका पुस्ताले अनुशरण गर्दै अर्को पुस्ताका लागि पुस्तान्तरण गर्ने जीवनोपयोगि देखिने तथा अनुभूत गर्न सकिने सम्पदाहरुलाई बुझ्नुपर्दछ ।

कला
कला रचनात्मक अभिव्यक्ति हो । मानव जातिले आफ्नो सीप क्षमता, ज्ञानलाई जीवन र जगतमा उपयोग गर्ने सशक्त औजार कला हो । कला मानव मन र मस्तिष्कको सिर्जनात्मक उपज पनि हो । जीवनलाई सहज र सिर्जनात्मक बनाउन कलाको भूमिका अहम् रहन्छ । सुसंस्कृत अर्थात् सभ्य समाज निर्माणका लागि पनि यसको अहम् भूमिका रहन्छ ।  समाजको सांस्कृतिक चेतनानुरुप विकास भएको मानवीय सिर्जनाको रुपमा कलालाई लिन सकिन्छ । नेपालमा परापूर्वकालदेखि नै कलाको विकास भएको पाइन्छ । नेपालभित्र पुर्खाले आर्जेको सीपगत ज्ञानका आधारमा रचिएका कलादेखि अहिले चलनचल्तीमा रहेका कलाका विभिन्न शैली र चिन्तनलाई समेत आत्मसात् गरेका कलालाई नेपाली कलाका रुपमा बुझ्नुपर्दछ ।

हाल नेपालमा परम्परागत कला, लोककला, समसामयिक लगायतका कला चलनचल्तीमा छन् । परम्परागत कला अन्तर्गत पौभा÷थाङ्का, मूर्तिकला रहेका छन् । लोककला अन्तर्गत नेपालका विभिन्न समुदाय तथा जातिले परम्परादेखि बनाएका कला पर्दछन् । मिथिला, थारु, अवधि, पर्वते, खाम, किराँत, तामाङ, नेवारी, दनुवार, मगधी, सतार, मेचे लगायत विभिन्न जातजातिले बनाउने कला पर्दछन् । त्यस्तै समसामयिकतर्फ आधुनिक कलाका विभिन्न शैली र चिन्तनमा रचिएका कला पर्दछन् । चित्र, मूर्ति, प्रतिस्थापन कला, पर्फमेन्स आर्ट, भिडियो आर्ट, फोटोग्राफी लगायतका सिर्जनात्मक विधा यसमा पर्दछन् ।


ऐतिहासिक पक्ष
कुनै पनि सभ्यता या संस्कृतिको विकास प्रक्रिया लामो हुन्छ । एकैदिन या छोटो समयमा संस्कृतिको निर्माण कार्य हुन कठिन हुन्छ या त्यो स्थायी हुन सक्दैन । विश्वका विभिन्न सभ्यताले लामो कालखण्डपछि मात्रै जीवन्त हुने स्थितिमा पुगेका हुन् । नेपाली कला र संस्कृतिले पनि लामो कालखण्ड पार गरेर मात्रै आजको अवस्थामा पुगेको यथार्थलाई स्वीकार्नु पर्दछ ।

विभिन्न विद्वानले नेपालमा मानव जाति दुईदेखि अढाई लाख वर्ष अघिदेखि बसेको दावी गर्दै आएका छन् । दाङ उपत्यकामा पाइएका पाषाण हतियारले यसलाई तथ्यको नजिक पु¥याउँछ । त्यसैगरी नवपाषाण युगका हतियार पाइनु तथा बुटवलस्थित तिनाउ नदी किनारमा रामापिथेकसको बंगारा पाइनुले यसलाई बल मिलेको छ । नेपालका दाङ, कपिलवस्तु, नवलपरासी, झापा, मोरङ, सुनसरी लगायतका विभिन्न स्थानमा पुरातात्विक सामग्री भेटिएका छन् ।

त्यस्तै, नेपालमा गोपालवंशी, महिषपाल, किराँत, लिच्छवी, मल्ल, शाह, राणा÷शाह आदिले शासन गरेको इतिहास छ । नेपालमा किराँतकालमा बनाइएका केही कलाकृति भेटिएका छन् । त्यस्तै लिच्छवीकाललाई नेपाली कलामा स्वर्णकाल मानिन्छ । लिच्छवीकालीन वैभवले नेपाली कलालाई मौलिक रुपमा स्थापित गर्न सहयोग मिलेको छ । लिच्छवीकालीन सांस्कृतिक वैभवको आधारमा काठमाडौं उपत्यकाको कलाले नेपाली ज्ञान सीप र क्षमतासँगै मौलिक रुपमा विकास हुने वातावरण बन्यो ।

त्यस्तै, कर्णाली क्षेत्रमा आठौं/नवौं शताब्दीमा खस राज्यको स्थापना भयो । खस क्षेत्रमा स्थापित कला र संस्कृतिले त्यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक जीवनमा निकै प्रभाव पा¥यो जसको प्रभाव आज अद्यापिसम्म रहेको छ । सिम्रौनगढमा एघारौं शताब्दीमा कर्णाटकको शासन रहेको थियो । १३औं शताब्दीमा मुस्लिम शासक समसुद्दिनको आक्रमणले काठमाडौंमा समेत तहसनहस पारेको थियो । काठमाडौं उपत्यकामा मल्लकालमा पनि नेपाली कलाको विकाससँगै सांस्कृतिक चहलपहल निकै बढेको थियो । त्यसैगरी विभाजित काठमाडौं उपत्यकाका तीन राज्यमा कलाकै प्रतिस्पर्धा भयो । हिन्दु बौद्ध धर्मसँग सम्बन्धित मठ–मन्दिर, चैत्य, बिहार, देवल तथा विभिन्न सांस्कृतिक जात्रा तथा पर्वहरुको सुरुवात् पनि यसै समयदेखि हुन् थालेको हो । मुस्ताङका कतिपय गुफाहरुमा ईसाको आठौं शताब्दीतिरै मानवजातिले बसोबास गरेको पाइएको छ । मुस्ताङका मानव निर्मित गुफामा बनेका कला तथा अन्य सामग्रीको उपलब्धताले नेपाली कला र संस्कृतिको विकास विभिन्न स्थानमा स्थानीय भूगोल, वातावरण तथा सामाजिक जीवनमा आधारित मौलिक रुपको रहेको मान्नुपर्दछ ।

काठमाडौं उपत्यकामा चित्रकला, मूर्तिकला, वास्तुकला तथा संस्कृतिका अन्य विभिन्न आयामको विकास भयो । यो समयमा नेपालमा विभिन्न क्षेत्र र जाति तथा समुदायमा कलाको विकास मौलिक रुपमा हुन सक्यो भने कतिपय स्थानमा लोप नै हुने अवस्थामा पुग्यो । लामो कालखण्डमा नेपालमा परम्परागत कला (पौभा, थाङ्काका साथै मूर्ति), लोककला (मिथिला, थारु, अवधि, पर्वते, खाम, नेवारी, तामाङ, किराँत लगायतका विभिन्न आदिवासी जनजातिका कला) तथा आधुनिक समयमा समसामयिक कलाको विकाससँगै नेपालले आफ्नो मौलिक संस्कृतिको निर्माण गर्न सक्यो । यी कलामार्फत नेपालले आफ्नो मौलिकतालाई स्थापित गर्न सकेको छ । कलासँगै संस्कृतिका विभिन्न आयाम पनि जोडिएर आउने भएकाले यसमा संस्कृतिको विकाससँगै नेपाली इतिहास र पहिचान स्थापित हुन सकेको हो ।


विकासमा संस्थागत अभ्यासहरु
नेपाली कलाको विकासमा राज्यस्तरबाट आवश्यकता अनुरुपको नीति निर्माण बन्न नसके पनि केही संस्थागत अभ्यासहरु भने भएका छन् । हुनत त लिच्छवी तथा मल्ल कालमा कलाकार राज्यबाटै संरक्षित थिए । राज्यकै निगरानीमा चित्र, मूर्ति तथा वास्तुकलाको विकास सम्भव भएको हो । लिच्छवीकाललाई कलाका दृष्टिमा स्वर्ण कला नै मानिएको छ । शाहकालमा कलाकारले राज्यबाट त्यत्ति अवसर नपाए पनि केही कलाका काम भएका छन् ।

सन् १८१६ मा नेपाल र इष्ट–इण्डिया कम्पनीबीच सुगौली सन्धिी भएपछि नेपालमा बेलायतको पहिलो स्थायी आवासीय प्रतिनिधिको रुपमा इडवार्ड गार्डनर नेपाल आएका थिए । उनी कुटनीतिसँगै नेपालको वनस्पतिको खोज अनुसन्धानमा समेत संलग्न थिए । उनी सन् १८१६ देखि १८२९ सम्म नेपाल बसे । यिनै गार्डनरको सहयोगी रोर्बट स्टुआर्ट थिए । इष्ट–इण्डिया कम्पनीअन्तर्गत भारतमा वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुख व्यक्ति नाथालियल वालिच गार्डनरका साथी थिए । गार्डनरका सहयोगी स्टुअर्टको वालिचसँगै सन् १८२० मा तराई हुँदै आउँदा मलेरियाका कारण काठमाडौंमा मृत्यु हुन्छ । यिनै स्टुअर्टको स्थानमा पछि ब्रायन एचएच हड्सन नियुक्त हुन्छन् ।

हड्सनले नेपालमा वनस्पतिसँगै जीवजन्तु तथा चराचुरुंगीको अध्ययन गरेका थिए । यिनले अध्ययनका क्रममा आवश्यक दृष्टान्तचित्रका लागि नेपालमा १० जना कलाकारलाई काममा लगाए । चित्रकारको प्रमुखमा राजमान सिंह चित्रकार रहेका थिए । उनीसँगै सो टोलीमा राजवीर, तुल्सीमुनि, भाजुमान चित्रकार, धनानन्द बाडा लगायतका कलाकारले काम गरेका थिए । यो टोलीले सन् १८२० को दशकपछि काम गरेको पाइन्छ । यी कलाकारले नेपालको परम्परागत तथा नेवारी लोककला बनाउने भएकाले हड्सनको अध्ययनका लागि जीवजन्तु तथा चराचुरुंगीका चित्र कोर्न सिकाउने प्रशिक्षकका रुपमा कलकत्ताबाट दुईजना कलाकार बेलायती कलाकार बोलाएका थिए । सन् १८३० पछि बनाइएका जनावर, चराचुरुंगी र विभिन्न जातजातिका प्रशस्तै चित्र रोयल एसाइटिक सोसाइटी लण्डनमा रहेका छन् । त्यस्तै नेपालको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा समेत ४२ थान चित्र रहेको कुरा नारायणबहादुर सिंहले उल्लेख गरेका छन् ।

सन् १८५० मा जंगबहादुर बेलायत भ्रमण जाँदा कलाकार भाजुमान चित्रकारलाई सँगै लगेका थिए । भाजुमानले बेलायतबाट फर्केपछि राणाका मुहारचित्र तथा अन्य यथार्थपरक चित्र बनाए । तत्कालीन बेलायती स्कुलिङमा आधारित मुहारचित्र बनाउने हेतुका साथ उनी बेलायत लगिएका थिए । त्यसबेला राज्यको कला नीति निर्माण नभए पनि कलाकारबाट कलात्मक कार्य सम्पन्न गर्न राणाले कलाकारलाई लगाएका थिए । कला अध्ययनका लागि कलाकारलाई तत्कालीन भारतका विभिन्न आर्ट कलेजमा पठाउने काम पनि राणाले गरे । पहिलोपल्ट चन्द्रमान सिंह मास्केले (विं सं.१९५७–२०४२) र तेजबहादुर चित्रकार (विंसं.१९५७–२०२८) कलाको औपचारिक अध्ययन गर्ने अवसर वि.सं. १९८० को दशकमै पाएका थिए ।

वि.सं. १९९१ सालमा नेपालमा पहिलोपटक नेपाल आर्ट स्कुल स्थापना भयो । वि.सं. १९९४ मा जुद्धकला पाठशालाका रुपमा नामाकरण गरिएको सो स्कुलले नेपाली कलाका क्षेत्रमा निकै प्रभाव पा¥यो । नेपालमा औपचारिक रुपमा कला शिक्षाको सुरुवात् भएपछि यसले नेपाली कला क्षेत्रलाई अगाडि बढाउन र कलाकारलाई औपचारिक रुपमा कलाको ज्ञान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्यो । यसैको जगमा नेपाली कलाले आधुनिक शैलीलाई अगाडि बढाउन सकेको हो । ००७ सालको राजनैतिक परिवर्तनपछि समाजमा आएको स्वतन्त्रतासँगै कलामा पनि परिवर्तनका रेखाहरु देखा पर्न थालेको हो । यो राजनीतिक परिवर्तन पछि पनि नेपालमा लगभग साठी वर्षसम्म राष्ट्रिय कला र संस्कृतिको नीति बन्न सकेन् ।

२००४ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले जारी गरेको नेपालको पहिलो संविधानमा ‘शिल्पशिक्षा’ भन्ने शब्द राखिए पनि कला र संस्कृतिका विषयमा स्पष्ट गरिएको थिएन । २००७ सालको राजनीतिक परिवर्तनपछि ‘नेपालको अन्तरिम शासन विधान’ जारी भयो । यो संविधान जारी भएपछि पनि सरकारले कला र संस्कृतिका विषयमा खासै नीति निर्माण गरेको देखिदंैन । तर, २००९ सालमा शिक्षा मन्त्रालय अन्तर्गत ‘संस्कृति तथा पुरातत्व विभाग’ स्थापना गरियो । यसले पुरातात्विक सम्पदाका विषयमा काम गरे पनि नेपालका प्राचीन पुरातात्विक सम्पदाको थोरै भएपनि उत्खनन् गर्ने कामको थालनी ग¥यो । संस्कृति र कलाको समग्र पक्षलाई संबोधन गर्न भने सकेन् ।

२०१४ सालमा नेपाल एकेडेमीको स्थापना भयो । यसले भाषा र संस्कृतिका क्षेत्रमा केही कार्यहरु ग¥यो भने कलाका क्षेत्रमा खासै काम सकेन् । नेपाली साहित्य र भाषामा दख्खल भएका व्यक्तिको प्रभाव यसमा रहेका कारण यसले साहित्य तथा नेपाली भाषाका क्षेत्रमा काम ग¥यो । खासगरी साहित्य प्रकाशनमा एकेडेमीले बढी काम ग¥यो । साहित्यकारको प्रभावका कारण यसले कला र संस्कृतिका क्षेत्रमा काम गरेको देखिदैंन । २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । यसले भाषा, साहित्य, कला र संस्कृति, विज्ञान, तथा अर्थतन्त्र क्षेत्रका विषयलाई समेट्दै शैक्षिक रुपमा विकास तथा अनुसन्धान गर्ने उद्देश्य राख्यो । नेपाली शिक्षाका लागि यो महत्वपूर्ण कार्य थियो । शिक्षासँगै यसले नेपाली समाजका विभिन्न पक्षका बारेमा अध्ययन अनुसन्धान ग¥यो । सोचेजति काम गर्न नसके पनि यसले गरेका कार्य उदाहरणीय रहेका छन् । नेपालमा विधिवत् उच्चशिक्षा प्रणालीको विकासमा त्रिभुवन विश्वविद्यालयको अहम् भूमिका रहेको छ । विभिन्न विषयको औपचारिक अध्यापन सुरु गरेर दक्ष जनशक्ति र नेपाली भाष, साहित्य, कला, संस्कृति, विज्ञान आदिका क्षेत्रमा काम गर्ने वातावरण तयार ग¥यो । यसैको जगमा नेपाली शिक्षा क्षेत्रले ठूलो फड्को मार्न सकेको हो ।

२०२२ सालमा तत्कालीन युवराज वीरेन्द्र शाहले नेपाल ललितकला संस्था (नाफा) स्थापना गरे । कलाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्ने र नेपाली कलालाई विश्वमै परिचित गराउने उद्देश्य अनुरुप स्थापना भएको नाफाले सुरुका वर्षमा केही काम पनि ग¥यो । राष्ट्रिय कला प्रदर्शनी, पत्रपत्रिका प्रकाशन आदि काम पनि ग¥यो । २०३४ सालसम्म आइपुग्दा यो संस्था रोयल नेपाल एकेडेमीमा समायोजन भयो । २०२४ सालमा जुद्धकला पाठशालालाई ललितकला महाविद्यालयमा रुपान्तरण गरियो भने २०३० सालमा त्रिभुवन विश्वविद्यालयमा गाँभेर ललितकला क्याम्पसमा विकास गरियो । सुरुमा प्रमाणपत्र तहको अध्ययन हुन्थ्यो भने २०३३ पछि संगीतसहित कलामा स्नातक तहको पढाई सुरु गरियो ।
२०४६ सालको राजनैतिक परिवर्तनपछि कलाकारले कलाको स्वायत्त संस्था हुनुपर्छ भनेर आन्दोलन चलाए । यसको परिणाम ०५१ मा कलाकारसहित संस्कृतिका अन्य क्षेत्रका प्रतिभालाई संस्कृति मन्त्रालय अन्तर्गत राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गर्ने चलन सुरु भयो । तर नीतिगत सुधार र योजनागत काम भने सरकारीस्तरबाट हुन सकेन् । संस्कृति मन्त्रालय अन्तर्गत कला र संस्कृतिका क्षेत्रमा काम भए । तर, संस्कृति मन्त्रालय कहिले शिक्षा त कहिले युवा तथा खेलकूद, पर्यटन, नागरिक उडड्यन आदि पनि जोडिएर आयो । यसले कला तथा संस्कृतिका क्षेत्रमा राज्यले गर्नुपर्ने कार्यमा एकीकृत अभ्यास हुन सकेन ।

२०४० सालदेखि नै राष्ट्रिय संस्कृति नीति बनाउनुपर्छ भन्ने राज्यको सोच रहे पनि २०४९ सालमा मात्रै संस्कृति नीतिको मस्यौदा बन्यो । यो मस्यौदा कार्यान्वयनमा नआउँदै २०६० सालमा अर्को संस्कृति नीतिसम्बन्धी मस्यौदा बन्यो । नेपाल सरकारले नेपाल राष्ट्रिय संस्कृति नीति २०६७ बनाई घोषणा ग¥यो । तर यसले नेपाली ललितकला क्षेत्रका सम्पूर्ण पक्षलाई समेट्न सकेन् । कला र कलाकारका बारेमा नीतिले खासै स्पष्ट पार्न सकेन् । संस्कृतिका रुपमा रहेका भाषा, लोकजीवनसँग सम्बन्धित विषयलाई नीतिमा उल्लेख गरे पनि कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा पछिल्लो समयमा विकास भएका विषय र पद्दतिलाई उल्लेख नै गरिएको छैन । खासगरी ललितकला क्षेत्रको लागि के कस्तो नीति अवलम्बलन गर्नुपर्दछ भनेर त्यसमा समाविष्ट नै गरिएको छैन अर्थात् नेपाली ललितकला क्षेत्र पूरै ओझेलमा पारिएको छ । यो नीति घोषणा भए पनि राज्यले लागू गर्न सकेको अवस्था पनि छैन ।

सरकारले २०६४ भदौ अन्तिममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा नेपाल प्रज्ञा प्रतिष्ठान ऐन जारी ग¥यो । यी प्रतिष्ठानमार्फत नेपालको भाषा, साहित्य, संगीत, नाट्य, कला तथा संस्कृतिका विषयमा काम गर्ने वातावरण त बन्यो । यी प्रतिष्ठानले आ–आफ्ना क्षेत्रका नियमावली बनाए तर यसको मर्मानुसार काम गर्न भने सकेनन् ।

संस्कृतिका क्षेत्रमा राज्यले प्राचीन स्मारक संरक्षण ऐन –२०१३, सञ्चार संस्थान ऐन–२०२८, लुम्बिनी विकास कोष–२०४२, पशुपति क्षेत्र विकास कोष ऐन–२०४४, अभिलेख संरक्षण ऐन –२०४६, प्राचीन स्मारक संरक्षण नियमावली –२०४६, देवघाट क्षेत्र विकास समिति (गठन) आदेश– २०५०, भानु जन्मस्थल विकास समिति (गठन) आदेश– २०५२, पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश– २०५३, हलेसी महादेवस्थान विकास समिति (गठन) आदेश– २०५३, पाटन संग्रहालय विकास समिति (गठन) आदेश– २०५३, बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश– २०५३, बुढानिलकण्ठ क्षेत्र विकास समिति (गठन) आदेश– २०५३, मनकामना क्षेत्र विकास समिति (गठन) आदेश– २०५३, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन– २०५५, प्रतिलिपि अधिकार ऐन– २०५९, प्रतिलिपि अधिकार नियमावली–२०६१, अभिलेख संरक्षण नियमावली–२०६३, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान– २०६४, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान–२०६४, नेपाल प्रज्ञा प्रतिष्ठान–२०६४ का विषयमा ऐन नियम तथा नियमावली बनाइ लागु गरेको छ ।

देश संघीय प्रणालीमा प्रवेश गरेसँगै नेपालमा रहेका कला र संस्कृतिको विकासमा राज्यले काम गर्ला भन्ने अपेक्षा राखिए पनि त्यो हुन सकिरहेको छैन । प्रदेश १ र गण्डकी प्रदशेले प्रादेशिक प्रज्ञा प्रतिष्ठान बनाउने तर्खरमा रहेका छन् । वागमती, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रज्ञा प्रतिष्ठान गर्ने बहस भए पनि त्यसले मूर्त रुप लिने अवस्था बनिसकेको छैन । प्रदेश २ मा यो बहस पनि हुन सकेको छैन । वागमती प्रदेश सरकारले संस्कृति नीतिको ड्राफ्ट तयार पारेको छ । त्यस्तै, देशमा रहेका तीन तहका सरकारको उपेक्षाको शिकार संस्कृतिको क्षेत्र परेको छ । यहीबीचमा केही स्थानीय तहले भने संस्कृतिका क्षेत्रमा काम गर्न पहल गरिरहेका छन् । संस्कृतिसम्बन्धी संरचना निर्माण गरेर उनीहरुले मौलिक सम्पदाको संवद्र्धन, प्रवद्र्धन, तथा चासो दिएको पाइन्छ ।

अन्त्यमा
विकासका जति काम भए पनि कला र संस्कृतिको विकासविना राज्य बलियो बन्न सक्दैन । नेपालमा रहेका भौतिक तथा अभौतिक सम्पदाको संवद्र्धन, प्रवद्र्धन तथा संरक्षणमा संघीय, प्रादेशिक तथा स्थानीय सरकारले समुचित नीति निर्माण गर्नु पर्दछ । साथै तिनको खोज अनुसन्धानमा पहलकदमी लिनु पर्दछ ।

प्रतिक्रिया