सप्तरीमा बलात्कार र आत्महत्या प्रकरणः दुई मुख्य आरोपी पक्राउ

लहान । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ७ मा १७ वर्षीया एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १८ वर्षीय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षीय रंजित भन्ने सरोज कुमार मण्डललाई बिहीबार मध्य राति भारतीय सीमासँग जोडिएको छिमेकी गाउँपालिका बलान बिहुलबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको सन्युक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीले दिएको जानकारी अनुसार फरार रहेका चार जना मध्येका दुई मुख्य आरोपीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

फरार दुई जनाको भने खोजी कार्य तिब्र बनाइएको उनको भनाई छ । गत भदौ २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षीया किशोरीमाथि गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित किशोरीकी आमाले बताएपछि गाउँमा भदौ ३० गते पंचायती बसेको थियो ।

पंचायतिमा गाउँका केही अगुवाहरुले ५५ हजार रुपैयाँ नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी किशोरीले त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले पंचायतीमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागी स्थानीय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त अपराधिक घटनाका आरोपित चार जनामध्ये दुई जना मुख्य अपराधी र दुई जना सहयोगिको रुपमा तथ्य फेला परेको र दुबै मुख्य अपराधी पक्राउ गरिसकिएको डिएसपी भारतीले जानकारी दिए ।

यता किशोरीको शव धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिए पनि रिपोर्ट भने अझै प्राप्त नभएको डिएसपी भारतीले जानकारी दिए ।

प्रतिक्रिया