कम्युनिस्टको राष्ट्रवाद

डा.निर्मलमणि अधिकारी

आज पनि कम्युनिस्टहरू अन्तर्राष्ट्रियताको गीत गाउने, तर अत्यन्त संकीर्ण राष्ट्रवादका नारा उराल्ने र बहुराष्ट्रियताको आगो सल्काउनेमा बदनाम छन् । माक्र्सवाद लेनिनवाद माओवाद वा विचारधाराको नारा लगाउने व्यक्ति वा गुट कति बेला जातिवादी भासमा फस्छ, आँकलन गर्नै सकिन्न । बढी सम्भावना हुन्छ ।

कथित राष्ट्रवादको समस्याग्रस्त बुझाइले नै कम्युनिस्टहरूको दोस्रो अन्तर्राष्ट्रिय कमिटी (सेकेन्ड इन्टरनेसनल) विघटन भएको थियो । समाजवादको सपना फ्रान्सेली क्रान्तिसँग पनि जोडिएको छ र रबर्ट ओवेनले बेलायतमा आफ्नो कारखानामा गरेको प्रयोगसँग पनि । हुन त समाजवाद जत्तिको एउटै संज्ञाअन्तर्गत अनेकौँ (र कतिपय त विपरीत पनि रहेका) परिभाषाहरू भएको विवादास्पद कुरा संसारमा अर्को छैन होला । तर, कार्ल माक्र्सको कम्युनिस्ट मेनिफेस्टोले अघि सारेको कम्युनिज्म् र त्यो भन्दा अघिल्लो बिसौनीका रूपमा रहेको समाजवाद नै चर्चाको शिखरमा रह्यो । कार्ल माक्र्स स्वयंले नेतृत्व गरेको पहिलो अन्तर्राष्ट्रिय, फ्रेडरिक एंगेल्सले नेतृत्व गरेको दोस्रो अन्तर्राष्ट्रिय र लेनिनले नेतृत्व गरेको तेस्रो अन्तर्राष्ट्रियमा राष्ट्रवाद र राष्ट्रियताको सवाल जहिल्यै प्रखर रहिरह्यो । आज पनि कम्युनिस्टहरू अन्तर्राष्ट्रियताको गीत गाउने, तर अत्यन्त संकीर्ण राष्ट्रवादका नारा उराल्ने र बहुराष्ट्रियताको आगो सल्काउनेमा बदनाम छन् । माक्र्सवाद, लेनिनवाद, माओवाद वा विचारधाराको नारा लगाउने व्यक्ति वा गुट कति बेला जातिवादी भासमा फस्छ, आँकलन गर्नै सकिन्न । बढी सम्भावना हुन्छ ।

उत्तरसंरचनावाद, विनिर्माणवाद, उत्तरआधुनिकतावाद वा अरू जे केही संज्ञा राखिएर आएका होउन्, तिनीहरूको चुरो कुरो हे¥यो भने पुँजीवादकै मतियार हुन् तिनीहरू भन्ने जति स्पष्ट देख्न सकिन्छ, नवमाक्र्सवाद वा समाजवादका कित्तामा रहेको स्वघोषणा गरेर बहसमा उत्रेकाहरूले पनि केही नारामा आफ्ना मौलिकता देखाउने चपलता बाहेक सामाजिक, सांस्कृतिक, आर्थिक संरचनामा पुँजीवादकै सेवा गरिरहेको अवस्था हो अहिलेको । नेपालकै सन्दर्भमा भन्ने हो भने त, पुँजीवाद वा समाजवादको पृथकपृथक कित्ता होइन, ती दुइटाको घुलमेलबाट बनेको विषाक्त कपूतन्त्रको पो आजको नेपालमा हालीमुहाली छ । गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन भन्ने निर्लज्ज उपभोक्तावादी मताग्रहका अनुयायी, प्रवर्धकहरू हुन् यिनीहरू । यस्तो परिप्रेक्ष्यमा खुसीको खोजीका लागि पुँजीवादी वा माक्र्सवादीमध्ये एउटा कित्तामा उभिनु हास्यास्पद देखिन्छ ।

स्थितिगत्यात्मक प्रगतिवादको चिन्तनमा आउनुभन्दा पहिले त दार्शनिक, वैचारिक, समाजशास्त्रीय पूर्वाग्रहहरूको जुन अवाञ्छित पर्खाल खडा भएको वा खडा गरिएको छ, त्यो पर्खाललाई ढाल्नै पर्छ । यो पर्खाल चीनको ग्रेटवाल जस्तो सम्पदा होइन, यो त बर्लिनको पर्खालजस्तो अवाञ्छित बाधा हो । पदार्थ र चेतनाको द्वैविध्य, पदार्थ वा चेतनामध्ये एउटाको प्रभुत्व मान्ने कित्ताकाट, मानव मस्तिष्कको ज्ञानको सर्वोच्चता र अज्ञेयताबीचको ध्रुवीकरणबाट गुज्रिरहेको दार्शनिक बहसमा स्थितिगत्यात्मक प्रगतिवादको संवादले के तात्विक प्रभाव पार्छ त ? खुसी र सुख कसरी मिल्छ भन्ने सवाल शाश्वत् सवाल हो, यो सवाललाई सम्बोधन गर्न पुँजीवाद र माक्र्सवाद दुइटै अपर्याप्त छन् भन्ने महसुस भइसक्दा पनि ती दुई कित्तामै सीमित रहेर बुद्धिविलास गरिरहनु वाञ्छनीय होइन ।

हामीसँग जुन राज्यराष्ट्र सिद्धान्त छ, त्यो पश्चिममा अझै नपुगिसकेको हुनाले आज ज्यारेड डायमन्डजस्ता बौद्धिकहरू राष्ट्रवाद र राष्ट्रिय पहिचानको फरक छुट्ट्याउने कसरतमा अल्झेका छन् र कथित राष्ट्रवाद खराब, तर राष्ट्रिय पहिचान चाहिने विश्लेषण गर्दैछन् । देशभक्ति र राष्ट्रवादका अलगअलग परिभाषा घोकेर बुद्धिविलास गर्नेहरूको त संसारैभरि लर्कन नै छ । राष्ट्रियताभित्र नअल्मलिएर अन्तर्राष्ट्रिय बन्धुत्वलाई अपनाउनुपर्छ भन्ने स्रेको होर्भातको लेखाइ पढ्दा प्रियकर भएता पनि त्यो मार्गमा कसरी अघि बढ्न सकिने हो भन्ने समाधान पश्चिमा ज्ञान पद्धतिभित्रबाट मात्र खोजेर पाइनेवाला छैन । वर्तमान युरोपको सरहदभित्र सयभन्दा पनि धेरैवटा राष्ट्रियताका दाबीहरू छन् र राज्य तथा राष्ट्र अलगअलग तत्वहरू हुन् भन्ने राष्ट्रराज्य सिद्धान्तले युरोपलाई समेत तहसनहस पार्ने खतरा मडारिएको छ । यहुदी र प्यालेस्टिनी, सिंहाला र तमिल, अनेक राज्यमा बाँडिएका कुर्दिश, संसारैभर शासन गर्ने खलिफा सहितको इस्लामी खिलाफत (क्यालिफेट्) का जेहादीहरू, अनेकौँ देशमा कथित राष्ट्रवादीहरूको चुनावी जित । यो वर्तमान विश्वको यथार्थ हो ।

सबैको साझा चासो अब के होला भन्नेमा छ । मिचियो काकुका कुरा सुन्नुभयो भने प्रविधिका कारणले हुने सकारात्मक परिवर्तनहरूका परिचर्चाले उमंग छाउँछ भने युवाल नोह हरारीले एआई लगायतका तत्वहरूसहित आउने चौथो औद्योगिक क्रान्तिसँगसँगै बेकामे (युज्लेस) मानिसहरूको अवाञ्छित भिडम्भिडको चुनौतीबारे सचेत गराइरहेका छन् ।

वैदिक दर्शनको मूल धारलाई हे¥यो भने यसको मुख्य विशेषता व्यावहारिकता, प्रायोगिकता, क्रियात्मकता हो । वेदका ऋचाहरूको अनुशीलन गर्ने हो भने सहजै देखिन्छ कि यहाँ दर्शनको मुख्य उद्देश्य जीवनका व्यावहारिक, प्रायोगिक समस्याहरूको समाधान नै हो । जीवन त्रिआयामी (आधिभौतिक, आधिदैविक, आध्यात्मिक) एवं त्रिशरीरी (स्थूल, सूक्ष्म, कारण) मानिएको हुनाले दर्शनको अन्तर्वस्तु पनि सोही अनुसार व्याप्तिएको छ । भौतिकवाद र अध्यात्मवाद भनेर दुई फक्लेटे कित्ताकाट गर्ने बाइनरी सिस्टम यहाँ छैन । वैदिक परिप्रेक्ष्यमा दार्शनिक जिज्ञासाको मतलब ज्ञानका लागि ज्ञान होइन, सुखको लागि हो । परम् सुखकै नाम मोक्ष हो । आश्चर्य वा उत्सुकतावश गरिने उहापोहलाई भन्दा वैदिक परम्परामा सोद्देश्य गरिने संवाद (उपनिषद्को जस्तो) एवं शास्त्रार्थलाई महत्व दिनुको तात्पर्य के हो भने स्यामुएल पी. हन्टिंगटन वा युवाल नोह हरारी वा ज्यारेड डायमन्ड वा स्रेको होर्भात् वा अन्यले आँकलन गरेका चुनौतीहरूको व्यावहारिक समाधान गर्न दर्शनले सक्नुपर्छ ।

शताब्दीकै विशेष बहस भनिएको जोर्डन पिटर्सन र स्लाभोज जिजेकको बहस किन खासै उपलब्धिमूलक भएन ? यो कुरा बुझ्न विगतका उदाहरणले थप मद्दत पुग्छ । सन् १९७८ मा जर्मनीको ड्युस्सेलडोर्फमा दर्शनशास्त्रीहरूको सोह्रौँ विश्व भेला (कंग्रेस) मा मूल विषय रहेछ, ‘दर्शनशास्त्र र आधुनिक विज्ञानमा विश्वदर्शनको समस्या ।’ विषय जे भएता पनि सो कंग्रेसमा खास कोलाहलचाहिँ पुँजीवादी र समाजवादी कित्तामा बाँडिएर दुई फक्लेटे विवादका कारणले भएको थियो । त्यो भन्दा पनि पहिले, सन् १९७१ मा नेदरल्यान्डमा आयोजित कार्यक्रममा नोम चोम्स्की र मिशेल फुकोले मानव प्रकृति (ह्युमन नेचर) बारे गरेको बहस पनि यहाँनेर स्मरणीय छ । त्यो बहस बहुचर्चित त भयो, तर निष्कर्षमुखी भएन । उनीहरूले सत्य वा स्थापित ठानेका दायराभित्र सीमित भएर अर्थात् पहिल्यै निर्धारित कित्ताकाटमा बाँधिएर शास्त्रार्थमा उत्रेका हुनाले उनीहरू आफ्ना आफ्ना ब्यूहभित्र बाँधिए । कवि स्यामुएल टेलर कलरिजले प्रत्येक व्यक्ति जन्मदेखि नै या प्लेटोवादी, या त एरिस्टोटलवादी हुन्छ भनेर अति भावुकतामा अतिशयोक्ति व्यक्त गरेका मात्र हैनन्, कुनै वैचारिक किल्लामा आफूलाई बन्दी बनाएर त्यहाँ भन्दा परको अर्को विकल्प छैन भन्ने दाबी गर्ने प्रवृत्तिको द्योतक उक्त मान्यता हो ।
(प्रगतिवादी युवा समाज नेपालद्वारा आयोजित विशेष प्रवचनको संपादित अंश)

प्रतिक्रिया