लगानीकर्ता र कामदार बाँच्ने वातावरण आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कोभिड–१९ पछि अर्थतन्त्रलाई कसरी पुनर्उत्थान गर्न सकिन्छ भन्ने भर्चुअल छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको अवस्थामा लगानीकर्ता र कामदार बाँच्ने वातावरण आवश्यक भएको बताएका छन् । उक्त छलफलमा उनले सुरक्षित हुनु भनेको घरभित्रै बस्ने मात्रै नभएको बताए । यही अवस्थामा पनि कसरी व्यवसायलाई सञ्चालन गर्न सकिन्छ भन्ने कुरा सोच्न उनले व्यवसायीलाई आग्रह गरे । उनले कोरोनाले प्रभावित मुलुकले पनि कसरी व्यवसायलाई निरन्तरता दिनसके भन्ने कुरा व्यवसायीले पनि सोच्नुपर्ने बताएका थिए । व्यवसायलाई बचाउने कुरामा सफल भएमा भोलिका दिन नाफा कमाउने दिन आउने भन्दै उनले यसमा व्यवसायी र सरकारको सहयोग आवश्यक रहेको बताए । व्यवसाय खोलेको ठाउँमा संक्रमण भएमा त्यसको व्यवस्थापनको कुरामा स्थानीय सरकार र व्यवसायी मिलेर फन्ड राख्नुपर्नेमा पनि पाण्डेले जोड दिए । जसले गर्दा व्यवस्थापन र संक्रमितको उपचार गर्न सकिने उनको भनाइ थियो ।

नर्मल अवस्थामा फर्किन धेरै समय लाग्ने र धेरै प्रयास गर्नुपर्ने भन्दै उनले अहिले नाफा कम भए पनि व्यवसायलाई कसरी ‘सस्टेन’ गर्न सकिन्छ भन्नेतर्फ सोचेर अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे । उनले एप्पल र गुगलले एप बनाएर सो एपबाट साझेदारी तथा सहकार्य गरेर काम गरिरहेका भन्दै त्यो एपले ३० मिटर वरपर कोही कोरोना संक्रमित छन् भने जानकारी दिने गरेको र दक्षिण कोरियामा पनि मानिस जम्मा भएको समयमा त्यहाँ भएको मान्छेमा कोरोना छ भनेर सबैको मोबाइलमा र नजिकै रहेको प्रहरीलाई जानकारी दिने प्रविधि विकास भएको बताए । विभिन्न देशहरूमा यस्ता खालका प्रविधिहरूको विकास भइरहेको भन्दै पूर्वअर्थमन्त्री पाण्डले त्यस्तै खालका प्रविधिको विकास गर्नुपर्नेमा जाड दिएका छन् ।

चाडपर्व नजिकिँदै गएको अवस्थामा घर जानेहरूलाई परीक्षण र तिनीहरूको निगरानीमा सरकारले भूमिका खेल्नुपर्छ । यसले जोखिम कम गराउन सहयोग पु¥याउँछ । अहिले धेरैलाई रोजिरोटीको समस्या भइरहेको भन्दै उनले भने, ‘सरकारले बेरोजगारहरूका लागि सरकारले एक महिनाको लागि दसैँ खर्च दिनुपर्दछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले तत्कालका लागि अर्थतन्त्रलाई बचाउने, तङ्¥याउने र त्यसपछि दौडाउने तीन चरणबाट सोच्नुपर्ने बताए । अहिलेको अवस्थामा अर्थतन्त्रलाई बाँच्ने बनाउनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्र बाँचेपछि तंग्रिने र त्यसपछि सरकार–निजी क्षेत्र सहकार्य गरेर अर्थतन्त्रलाई दौडाउनु पर्छ’ उनले भने ।

बाँच्ने समयमा गर्नुपर्ने काम सरकारले नगरेको उनको भनाइ छ । ‘सुरुमा बाँच्ने कुरामा लक डाउन र बन्दाबन्दी गर्न आवश्यक थिएन । पछि पनि लक डाउन गर्न सक्छौँ भन्ने कुरा सरकारले बुझेन । त्यसैले आगामी दिन जनस्वास्थ्यका हिसाबले लक डाउन गर्न प¥यो भने चाहेर पनि लक डाउन गर्न सक्ने अवस्था नआउन सक्छ’, उनले भने । पूर्वमन्त्री थापाले कोरोनाको मारमा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रसँग सरकारले र निजी क्षेत्रले पनि सरकारसँग छलफल नगरेर गल्ती गरेको बताए । त्यो गल्ती आगामी दिनमा नदोहो¥याउन पनि उनको सुझाव छ । अबको एक वर्ष असामान्य अवस्था हुन्छ भन्ने सोचेर अहिलेदेखि नै सरकारले संवेदनशील भएर सोच्नुपर्ने उनले बताए । त्यसो नगरिए आर्थिक पुनर्उत्थान गर्न गाह्रो हुने उनको भनाइ छ ।

प्रतिक्रिया