भासियो बेसीशहर–चामे सडक

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेसीशहर–चामे सडक पहिरोले भासिएको छ । मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोले आज बिहान सो सडकखण्डको बेसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।

करिब २० मिटर सडक भासिएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए । उनले भने, ‘सडकमाथिबाट आएको पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिदा सडक अवरुद्ध भइरहेको छ ।’ पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ ।

सो स्थानमा लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो । सो सडकअन्तर्गत नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया