घरधनी डेरावाल द्वन्द्व

गत शुक्रबार काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका–७ भाजंगलमा ज्यादै अकल्पनीय घटना भयो । घरभेटी प्रेमकृष्ण महर्जनको प्रहारबाट घाइते भएका डेरावाल शम्भु महतोको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । भारत विहारबाट आएको महतोको पाँच जनाको परिवार विगत एक वर्षदेखि मासिक चार हजार रुपैंयाँ भाडा तिरेर महर्जनको घरका दुई कोठामा बस्दै आएको थियो । फलपूmल तथा तरकारी बेचेर जीविकोपार्जन गर्दै आइरहेको महतो परिवारको रोजगारी लक डाउन तथा निषेधाज्ञाका कारण गुम्यो । समयमै घरभाडा तिर्न सकेनन् । यही विवादका कारण भएको झगडाले अकल्पनीय परिणाम ल्यायो । यतिबेला घरभेटीको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । केही राहत रकम नदिएसम्म शब नबुझ्ने अडान मृतकका परिवारले लिएका छन् ।  कीर्तिपुरको यो घटना त एउटा प्रतिनिधि उदाहरण मात्रै हो ।

झगडाका कारण ज्यान गएकोले यो घटना मिडियामा आएको हो, तर लक डाउन यता राजधानी काठमाडौं उपत्याकामा घरधनी र डेरावालबीच झगडा नभएका कुनै टोल छैनन् । निकै ठूलो तनाव भएको छ । ज्यान नगए पनि कुटपिटका घटना धेरै भएका छन् । अझै हुनेवाला छन् । गत चैतको पहिलो साता सरकारले लक डाउनको घोषणा गर्दा कोरोनाले यति भयावह रूप लेला भन्ने कमैले सोचेका थिए । बढीमा एक महिना लक डाउन गरियो भने कोरोना नियन्त्रणमा आउला भन्ने अनुमानका साथ केही घरधनीहरूले सामाजिक सञ्जालमार्फत घोषणा गरे, ‘लक डाउन अवधीभरको घर भाडा नलिने ।’ यो घोषणा सामाजिक सञ्जालमा भाइरल बनेपछि सरकारमा बस्नेहरूले पनि जस लिन चाहे । एक महिनाको घर भाडा नलिन सकारले आह्वान ग¥यो । सरकारको यो आह्वानलाई कतिपय घरधनीले माने, कतिपयले मानेनन् । तर, भाडामा बस्नेहरूले भने एक महिनाको घरभाडा मिनाहलाई आफ्नो अधिकारै ठाने । कतिपय भाडावालको बुझाइ लक डाउनको अवधिभर भाडा तिर्नु पर्दैन कि, भन्ने रह्यो । जसका कारण द्वन्द्व चर्किएको हो । सरकारको अस्पष्ट आह्वान नै यो द्वन्द्वको मूल जरो हो ।

लक डाउनका कारण रोजगारी गुमेकाले राहतका लागि घरभाडा मिनाहको आह्वान नराम्रो होइन, तर यसवापत घरधनीहरूले के पाउने त ? भन्ने प्रश्न अस्पष्ट रह्यो । राजधानी काठमाडौंका सबै घरधनी सम्पन्न छैनन् । कतिपयको भाडा उठाएरै गुजारा चलेको छ । धेरैजसोले ऋण लिएर घर बनाई भाडा उठाएर व्याज तिर्ने गरेका छन् । भाडा नउठ्दा अथवा उठ्न ढिलाइ हुँदा कतिपय घरधनीको भान्छामा चुलो बल्ने अवस्थासमेत रहेन । जसका कारण आक्रोश बढेको हो । आँफू एक÷दुई वटा कोठामा खुम्चिएर चार÷पाँच कोठा भाडामा लगाई जीविकोपार्जन गर्नेहरू पनि उल्लेख्य छन् । कीर्तिपुरको घटना त्यही आक्रोशको उपज हो । किनकी दुई वटा कोठा मासिक चार हजार रुपैंया“मा भाडा लगाउनु रहर नभएर वाध्यता पनि हुन सक्छ । लक डाउन अवधिको भाडा नपाइने हल्ला चलेपछि कतिपय घरधनीले कोठा छोड्न ताकेता गरेको पनि देखिएको छ । कोरोनाका कारण कतिपय घरधनीहरूले कोठा खाली हुँदा पनि भाडामा लगाएका छैनन् । जसका कारण डेरावालहरू थप मर्कामा परेका छन् ।

सरकारको हचुवा आह्वानले निम्त्यिाएको समस्या हो यो । यस्ता घटनाको क्षतिपूर्ति पनि सरकारले नै दिनुपर्छ । यो अस्पष्टतालाई सरकारले अविलम्व चिर्नुपर्छ । सबै घरधनी र सबै भाडावालहरूलाई एउटै टोकरीमा राख्न मिल्दैन । मासिक करोडौँ रुपैयाँ भाडा उठाउनेहरू पनि छन् । उनीहरूले यो संकटमा २०÷२५ प्रतिशत छुट दिँदा केही फरक पर्दैन । तर, भाडा उठाएरै दालचामल किन्नुपर्ने अवस्थामा रहेका घरधनीहरूले यो छुट दिन सक्दैनन् । आम्दानी हुँदाहुँदै पनि यही मौकामा भाडा तिर्न आनाकानी गर्नेहरू पनि प्रसस्त छन् । उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन् । यो समस्याको बर्गीकरण गर्नुपर्छ । अनि मात्रै समाधानका उपाय पत्ता लगाउन सकिन्छ ।

प्रतिक्रिया