गिट्टी बिक्री नहुँदा गुजारा चलाउनै समस्या

धनगढी । पूर्व–पश्चिम राजमार्ग छेउमै रहेको गोदावरी नगरपालिका–९ खुुटिया नदी किनारमा सयौँ जनाले गिट्टी कुटिरहेका दिए । त्यही भिडमा थिइन् १३ वर्षीया बालिका पनि । उनी कुटेको गिट्टीको थुप्रोमाथि गिट्टीको चाङ थप्दै थिइन् । कोरोना कहरका कारण विद्यालय बन्द छन् । विद्यालय उमेरका बालबालिका अहिले फुर्सदिला भएका छन् । गरिब विपन्न परिवारका बालबालिकाहरू यही मौका छोपेर आम्दानीको जोहो बढाइरहेका छन् ।

‘स्कुल बन्द हुँदा दिनभरि गिट्टी कुट्छु’ ती बालिकाले भनिन्, । विद्यालय लागेको समयमा पनि बिहान खोला किनारबाट ढुंगा बोक्ने र त्यसपछि विद्यालय जाने गर्छिन् । उनी जस्ता अन्य केही बालबालिकाहरूको पनि दैनिकी त्यस्तै छ । गिट्टी बेचेर कापीकिताको जोहो गरिरहेको समेत उनले बताइन् ।

पछिल्लो समय गिट्टी बिक्रीमा कमी आएपछि उनीहरूलाई थप समस्या भइरहेको छ । बल्मीकै जयसरा बिसुन्के ३० वर्षदेखि खुटिया किनारमै गिट्टी कुट्दै आइरहेकी छन् । बन्दाबन्दी पहिले कुटेको गिट्टी अझै पूरै बिक्री भएको छैन । पहिले दुई हजार घनमिटरका दरले बिक्रि हुने गरेको गिट्टी अहिले एक हजार घनमिटरमा दिँदा पनि बिक्री नभएको उनले गुनासो गरिन् । घरमा कमाउने मान्छे नभएपछि गिट्टी कुट्दै साँझबिहानको छाक टार्ने गरेको उनले बताइन् ।

‘खेतबारी छैन यहीँको साहारामा बाँचिरहेका छौँ । अहिले गिट्टी बिक्री हुन छोडेपछि दुई छाक टार्न पनि समस्या भइरहेको छ’, उनले पीडा पोखिन् ।  बल्मीकै देव मल्ल पनि आठ वर्षदेखि खुटिया किनारमै गिट्टी कुट्दै आइरहेका छन् । कमाइ खाने जमिन नभएपछि अर्काको खेती लगाएर खाने गरेको उनी बताउँछन् । तर, कुटेको गिट्टी बिक्री नहुँदा उनलाई परिवार पाल्ल पनि समस्या भइरहेको छ । उनले आफूहरूको पीडाबारे कसैले चासो नदिएको गुनासो गरे ।

प्रतिक्रिया