किन राती अज्ञात स्थलमा गरिन्छ शव व्यवस्थापन ?

नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम नेपाली सेनाले गर्दै आएको छ । तर, शव कुन ठाउँमा लगेर व्यवस्थापन गरिन्छ भन्ने बारेमा भने मृतकका आफन्तलाई पनि प्रायः थाहा हुने गरेको छैन । परिवारका सदस्यले आफन्तको मृत्यु भएको मात्रै जानकारी पाउने गरेका छन् ।  कोरोना भाइरस संक्रमणका कारण केही दिनअघि ज्यान गुमाएकी रूपन्देही तिलोत्तमाकी एक महिलाको शवको व्यवस्थापन कहाँ गरियो भन्ने बारेमा उनका परिवारलाई आजसम्म कुनै जानकारी छैन । तर, उनीहरूलाई आफन्तको शव हेर्न नपाए पनि व्यवस्थापन भएको स्थानको बारेमा जानकारी भए हुन्थ्यो भन्ने लागेको छ ।

परम्पराअनुसार काजक्रिया गर्ने प्रयोजनका लागि सद्गत गरेको समयको बारेमा सोधखोज गरेपछि उनकी छोरीलाई मात्रै भनिएको थियो, सोही दिन राती साढे १० बजे मृतकको अन्त्येष्टी गरिएकोे भनेर । तर, कहाँ भन्ने जानकारी गराइएन ।  मृतककी छोरीले भनिन्, ‘आमाको शव गाडेको ठाउँ कहाँ हो भनेर पटकपटक सोध खोज गरियो तर कसैले पनि बताएनन् । ‘आमा फर्कने कुरा हुँदैनथ्यो, हामी शव गाडेको ठाउँमा जाने कुरा पनि हुने थिएन,’ उनी भन्छिन्, ‘तर ठाउँ थाहा पाए पनि त मन शान्ति हुने थियो ।’ उनीहरूलाई आमाको अन्त्येष्टी कहाँ गरियो जान्न चाहना भएर पनि जान्न पाएनन् । कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएको सबै जसोका परिवारले आफन्तको अन्त्येष्टी कहाँ गरियो पत्तो पाउने गरेका छैनन् । कतिले त अन्त्येष्टी गरिएको समयसमेत पत्तो पाउँदैनन् ।

अगिल्लो सोमबार मात्र ज्यान गुमाएका कपिलवस्तुका एक संक्रमितको दाहसंस्कार उनका छोराहरूले गरे । नेपाली सेनाले अन्त्येष्टी गर्ने तयारी गर्दागर्दै स्थानीय बासिन्दाले परम्परा अनुसार अन्त्येष्टी गर्न पाउनुपर्छ भन्ने माग गरेपछि विवाद चर्कने अवस्था आयो । पछि छोराहरूकै हातबाट दागबत्ती दिने सहमति भयो र छोराहरूले नै दागबत्ती दिए । मृतकका दुवै छोरा कोरोना भाइरस संक्रमित हुन् । सायद कोरोना संक्रमणबाट मृत्यु भएको थाहा भएर पनि आफन्तले अन्त्येष्टि गरेको यो पहिलो होला ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका बाबुलाई संक्रमित छोराहरूले नै दाहसंस्कार गरेका यस्ता घटना बिरलै सुनिन्छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मृतकलाई अस्पतालबाट बाहिर ननिकाल्दा सम्मको सबै काम स्वास्थ्यकर्मीले गर्ने र त्यसपछिका अरू व्यवस्थापनको काम नेपाली सेनाले गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘शव व्यवस्थापन एकान्त ठाउँमा गर्नुपर्ने एक प्रकारको बाध्यता पनि छ किनकी बस्ती नजिकै व्यवस्थापन गर्दा स्थानीय बासिन्दाले विरोध गर्ने गरेको अवस्था पनि छ ।’ यसबारेमा सरकारले नेपालमा कोरोना भाइरस संक्रमण देखिने बित्तिकै शव व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो ।

विश्व स्वास्थ्य संगठनकोे कार्यविधिमा मृतकका आफन्तहरूले शव हेर्न चाहेमा निश्चित दूरी कायम गरेर पालैपालो हेर्न सकिने उल्लेख गरिएको छ । तर, नेपालमा शव व्यवस्थापन गर्ने ठाउँबारे विवाद हुन थालेपछि शवको व्यवस्थापन प्रायः रातीको समय र अज्ञातस्थलमा गर्न थालिएको सामाजिक विकास मन्त्रालय प्रदेश–५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । उनी भन्छन्, ‘ठाउँ थाहा दिने हो भने त्यस ठाउँमा मानिसहरू विरोधमा उत्रने सक्ने अवस्था देखियो त्यसैले मृतकका शव दिनभरी अस्पतालमा राख्ने गरिएको हो । रात परेपछि सेनाले व्यवस्थापन गर्दै आएको छ ।’ उनको अनुसार सुरक्षाका कारण रातको समयमा व्यवस्थापन गर्ने र सो ठाउँका बारेमा जानकारी नदिने गरिएको हो ।
अहिले शवहरूको व्यवस्थापन सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा गरिँदै आएको छ । मृतकबाट हुनसक्ने सम्भावित संक्रमणका कारण आफन्तलाई खोजेर दाहसंस्कारमा सहभागी गराउने अवस्था नभए पनि सहभागी हुन चाहनेहरू सुरक्षा सतर्कता अपनाएर सहभागी हुन सक्ने प्रदेश–५ का विपत् व्यवस्थापन अधिकारी बाबुराम पन्थीले बताए ।

पन्थी भन्छन्, ‘हामी कार्यविधि अनुसार नै होस् भन्ने चाहन्छौँ तर त्यसका लागि सुरक्षित मापदण्ड पनि अपनाउनु प¥यो । फेरि खबर गरेर दाहसंस्कारको लागि मान्छे जम्मा गर्ने अवस्था पनि त छैन ।’ कोरोना भाइरस सर्ने डरले शव व्यवस्थापनमा सजगता अपनाउने गरिएको सरकारी निकायको भनाइ छ ।  स्वास्थ्य अधिकारीहरूसँग कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाको शवहरूमध्ये कति गाडियो वा कति जलाइयो भन्ने बारेमा अहिलेसम्म कुनै अभिलेख छैन । यो एक प्रकारले फितलो तथ्यांक हो । कहाँ कुन विधिले शवको व्यवस्थापन गरियो भन्ने बारेमा सरकारी निकायले तथ्यांक राख्नुपर्ने हो ।

स्वाब संकलन गरिएको तर कोरोनाको रिपोर्ट नआउँदै मरेकाहरूका शव भने जलाइएका घटनाहरू पनि देखिँदै आएका छन् । रूपन्देहीमा यस्तै प्रकृतिका दुई घटनामा मलामी गएका अधिकांश मलामीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस्तो देशका धेरै ठाउँमा भए । ‘मरेपछि कोरोना’ भनेर सरकारी निकायको आलोचनासमेत निकै भयो ।  केही अपवादबाहेक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाहरूको शवको व्यवस्थापन गर्दा परिवारलाई सहभागी गराएको पाइएको छैन । उनीहरूलाई आफन्तको मृत्यु भएको बारेमा मात्रै जानकारी गराइन्छ । कतिले आफन्तको मृत्यु भएको समयसमेत निकै पछि मात्रै जानकारी पाउँछन् । नेपालमा मृत्यु भएका आफन्तको अन्त्येष्टि गर्ने जाति र धर्मअनुसार विभिन्न प्रकार छन् । तर, कोरोनाका कारण मृत्यु भएकाको प्रायः एकै प्रकारले शव व्यवस्थापन गरिन्छ । त्यसैलाई आफन्तले अन्त्येष्टि मान्नुपर्ने र परम्पराअनुसार संस्कार गर्ने गरिएको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया