सरकार भ्रष्टाचारमा लिप्त भएको कांग्रेसको आरोप, देशभरबाट भन्डाफोर गर्न निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले गरेको भ्रष्टाचारको देशभरबाट भन्डाफोर गर्न आज नेपाली कांग्रेसका नेताहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समिति आज जुममार्फत बागमती प्रदेशका कांग्रेस नेता तथा विज्ञसँग गरेको भिडियो कन्फेरेन्समा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले कोभिडको लागि नागरिकले गर्ने इन्स्योरेन्सको व्यवस्था सरकार आफैले गर्न पनि माग गरेका छन् । सभापति देउवाले यस्तो विपदको बेला पनि आफ्नो जिवनको कुनै प्रवाह नगरी सेवामा खटिएका स्वास्थकर्मीहरुलाई धन्यवाद समेत दिए ।

उक्त भिडियो कन्फेरेन्समा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धि गर्छु भन्दै गलत प्रचारबाजिमा लागेको आरोप लगाए । उनले अहिले विश्वकै आर्थिक वृद्धि दर घटिरहेको अवस्थामा हामीले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर बढाउछु भन्नू गलत भएको बताए ।

पूर्व अर्थमन्त्री महतले किसानलाई समयमै सरकारले मल पुर्याउन नसक्नु निकै दुःखद भएको भन्दै यसले धान उत्पादन घट्ने र जनताको जनजीवनमा नराम्रो असर पार्ने पनि जिकिर गरे ।

उक्त कन्फरेन्समा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं समितिका संयोजक डाक्टर प्रकाश शरण महतले सरकारको अकर्मणयताका कारण कोरोना नेपालमा फैलिएको बताए । उनले सरकारले कोरोना नियन्त्रणमा भन्दा पनि नियन्त्रणको बहानामा भ्रष्टाचार गर्न लिप्त भएको आरोप लगाए ।

प्रतिक्रिया