इलाम । किरात याक्थुङ चुम्लुङले बुधबार ३२औँ स्थापना दिवस मनाएको छ । किरात याक्थुङ चुम्लुङ इलामले स्थापना दिवसमा शुभकामना आदानप्रदान र छात्रवृत्ति वितरण गरी मनायो । उक्त अवसरमा बुधबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार जनालाई गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । श्रीमती खोममाया आङबुहाङ लिम्बू छात्रवृत्ति कल्याण कोषबाट प्रदान गरिने गरिब तथा जेहेन्दार छात्रवृत्ति चिसोपानी मावि माङसेबुङ–६ की भूमिका लिम्बूलाई प्रदान गरिएको छ । नगद १० हजार राशीको छात्रवृत्ति गतवर्ष पनि भूमिकाले नै पाएकी थिइन् । माङसेबुङ गाउँपालिका–२ की भूमिका कक्षा १२ मा अध्ययनरत छिन् । त्यस्तै किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट प्रदान गरिँदै आएको गरिब तथा जेहेन्दार छात्रवृत्ति बालकन्या मावि इलाम नगरपालिका–११ की वेविसा येक्तेन लिम्बूलाई प्रदान गरिएको छ । उनलाई पनि नगद १० हजार प्रदान गरिएको छ । इलाम नगरपालिका–११ की वेविसा कक्षा ७ मा अध्ययनरत छिन् । वैदेशिक रोजगारीका सिलसिलामा इजरायल पुगेका नेपाली लिम्बूहरूले बर्सेनि छात्रवृत्तिका लागि रकम संकलन गरी नेपाल चुम्लुङलाई पठाउने गरेको छ ।
त्यसैगरी याक्थुङ सहयोग कोषबाट प्रदान गरिने दुई वटा छात्रवृत्ति अमर मावि इलामका विपन लिम्बू र लासाङ योङहाङलाई प्रदान गरिएको छ । कक्षा ९ मा अध्ययनरत विपन र १० मा अध्ययनरत लासाङलाई नगद पाँच÷पाँच हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले हस्तान्तरण गरे । चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लिम्बू, चुम्लुङ इलामका सल्लाहकार बखतबहादुर आङदेम्बे र सटेन्द्र जवुगू, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङले मन्तव्य राख्दै छात्रवृत्ति प्राप्त छात्राहरूको शैक्षिक प्रगतिको कामना गरेका थिए । छात्रवृत्ति प्राप्त गरेका भूमिका लिम्बूले चुम्लुङलाई धन्यवाद दिँदै आगामी दिनमा चुम्लुङसँग निरन्तर जोडिने र आफ्नो कर्तव्य पालना गर्ने प्रतिवद्धता जनाइन् । छात्रवृत्ति बुधबार इलामसहित अरुण पूर्वका नौ जिल्लामा एकैसाथ वितरण गरिएको छ ।
इलाम
प्रतिक्रिया