रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सुरु गरेको छ । उक्त अस्पतालमा सोमबार भैरहवाकी एक कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया सुरु गरिएको हो ।
सिद्धार्थनगरपालिका–१ भैरहवाकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । डा. गौतमकै नेतृत्वमा संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी संक्रमित महिला र शिशुको स्वास्थ्यावस्था सामान्य छ । बच्चा र आमाको पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी गौतमले बताए ।
यसअघि प्रादेशिक अस्पतालमा संक्रमित गर्भवतीको शल्यक्रिया व्यवस्था नहुँदा काठमाडौं तथा बाँकेको कोहलपुर मेडिकल कलेजमा जानुपर्ने बाध्यता थियो । यही भदौ १ गते अस्पताल पुगेकी बुटवलकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया नभएपछि कोहलपुर लगिएको थियो ।
अस्पतालमा शल्यक्रियाको लागि छुट्टै कक्षको व्यवस्था नभएपछि संक्रमित गर्भवतीलाई कोहलपुर मेडिकल कलेजमा शल्यक्रिया गरिएको हो । यससम्बन्धि समाचार आएपछि संक्रमित गर्भवतीको शल्यक्रियाको व्यवस्था मिलाउन प्रदेश सरकार तथा अस्पताललाई दबाब परेको थियो । अस्पताल प्रशासनले छुट्टै कक्ष तयार गरी संक्रमित गर्भवतीको शल्यक्रियाको व्यवस्था मिलाएको जनाएको छ ।
प्रदेश नं ५ का कुनै पनि सरकारी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको लागि उपचार तथा शल्यक्रियाको व्यवस्था नहुँदा समस्या सृजना भएको भन्दै अधिकारकर्मीहरुले समेत प्रदेश सरकारकोे ध्यानाकर्षण गराएका थिए । – रासस
प्रतिक्रिया