एसईईमा नम्बर कम दिएको बहानामा विद्यार्थीद्वारा आफ्नै शिक्षकमाथि कुटपिट

सिन्धुली । एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका विद्यार्थीहरुले अनफ्नै शिक्षकलाई कुटपिट गरेका छन् ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेको शिक्षा विकास तथा समवन्य इकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेले जानकारी दिए ।

उनका अनुुसार विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट ‘सी’ आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेका हुन् । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारी कुटपिट गरेको एक शिक्षकले बताए ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।

रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ । दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको प्रमुख गजुरेलले बताए ।

विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । घटनाको बारेमा इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको गजुरेलले बताए ।

प्रतिक्रिया