जेहेन्दार विद्यार्थीलाई डाक्टर पढाउँदै छायानाथ

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकाले दुई जना अति विपन्न दलित तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर पढाउँदै आएको छ । नगरपालिका भित्रका अति विपन्न दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्पmत दुई जनालाई बंगालादेशमा डाक्टर र ११ जनालाई नेपालमै राम्रो विषय पढाउँदै आएको हो । नगरपालिको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोवास गर्ने अति विपन्न, पिछडिएका, एक महिला, दलित समुदायका जेहेन्दार १३ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत बर्सेनि सहयोग गर्दै आएको छ । विकट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउन र नगरपालिकालाई शिक्षा, स्वास्थ्यमा पहुुँच बढाउन नगरपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको नगरप्रमुख हरिजंग शाहीले बताए । उनले भने, ‘आव ०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढएको छाैं ।’

उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्र रहेका विपन्न, दलित, गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गर्दै आएको र दुई जनालाई बंगलादेशमा डाक्टर पढाउँदै आएको र अन्यलाई नेपालमा इन्जिनियर, सिए लगायतका राम्रा विषय छात्रवृत्ति कार्यक्रममार्फत पढाउँदै आएको शाहीले बताए । आव ०७५/७६ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिइको थियो । नौ लाख रकम रकम विनियोजित गरी १३ जनालाई छात्रवृत्ति सहयोग गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।उनीहरूको पढाइ खर्चमा राहत स्वरूप पहिलोे वर्ष ०७४/७५ मा आठ लाख, ०७५/७६ मा १० प्रतिशत वृद्धि गरी १० लाख र ०७६÷७७ मा ९ लाख रकम विनियोजित गरिएको नगरपालिकाकाले जनाएको छ ।

विनियोजित रकम मध्ये बंगलादेशमा एमबिबिएस डेन्टल डाक्टर तेस्रो वर्षमा पढ्दै आएका वडा–५ का देविकृष्ण विकलाई तीन लाख र पाँचौँ वर्षमा एमबिबिएस पढ्दै आएका वडा–१ की कामना मल्ललाई १ लाख ५० हजार, भारतमा एमएबिएस पढ्दै आएकी वडा–१ की समीक्षा मल्ललाई एक लाख, सुर्खेत मध्यपश्चिम विश्वविद्यालयमा बिई सिभिल इन्जिनियर चौथो वर्षमा अध्ययनरत मनोजकुमार नेपालीलाई ३० हजार, बुढानीलकण्ठ प्राविधिक विद्यालय काठमाडांैमा अध्ययनरत रामकृष्ण कामीलाई ३० हजार गरी १३ जना अति विपन्न दलित, जेहेन्दार विद्यार्थीलाई नौ लाख रकम सहयोग गरिएको छ । नगरपालिकाभित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने नगरप्रमुख शाहीले बताए ।

छात्रवृत्ति सहयोग ग्रहण गर्दै बंगलादेशमा एमबिबिएस पढ्दै आएका देविकृष्ण विकले छात्रावृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पूरा हुने भएको बताए । ज्याला मजदुरीको भरमा डाक्टर पढ्ने कल्पनामा थिएन । तर, नगरपालिकाले सहयोगले डाक्टर पढ्न पाउँदा खुसी लागेको विकले बताए । पढाइ पूरा गरेर आफ्नै ठाउँमा सेवा गर्ने विकले बताए ।विकजस्तै अन्य विद्यार्थीले पनि नगरपालिकाले यस्तो कार्यक्रम नल्याएको भए हामीले सोचेजस्तो विषय लिएर पढ्न नसक्ने र इच्छा भए पनि दबिएर बस्नुपर्ने अवस्था थियो । नगरपालिकाले सुरुआत गरेको छात्रवृत्ति कार्यक्रमले हामीजस्ता विपन्न विद्यार्थीलाई राम्रो विषय लिई पढ्ने वातावरण मिलाएको भन्दै खुसी भएका छन् ।

प्रतिक्रिया