रोनाल्डोलाई बार्सिलोना पठाउने युभेन्टसको प्रस्ताव

इटाली । इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न क्याटलान क्लब बार्सिलोना समक्ष सनसनीपूर्ण प्रस्ताव अघि सारेको छ ।

बार्सिलोनाले यो प्रस्ताव स्वीकारेको खण्डमा आधुनिक फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी एकै क्लबमा एकसाथ खेल्नेछन् । यी दुई खेलाडीले झन्डै १५ वर्ष विश्व फुटबलमा एकछत्र राज गरेका छन् । इटालियन संचार माध्यम स्पोर्ट्समिडियासेट र स्पेनिस पत्रकार गिलेम बालागेले बीबीसीको ५ स्पोर्टसँग अन्तर्वार्ताका क्रममा बार्सिलोनाको प्रस्तावबारे खुलासा गरेका हुन् । बालागे विश्व फुटबलवृतमा खेलाडीहरुको नजिक मानिने गर्दछन् ।

स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी रोनाल्डोले वार्षिक २८ मिलियन पाउन्ड तलब बुझ्ने गर्दछन् । आर्थिक समस्याका कारण युभेन्टसले रोनाल्डोको मोटो तलब कटाउनकै लागि उनलाई बेच्न चाहेको छ । नयाँ प्रशिक्षक पिर्लोले टोलीलाई नयाँ स्वरूप दिने प्रयासमा आफ्नो योजनामा नरहेका र मोटो रकम बुझ्ने खेलाडीलाई बेच्न चाहेका छन् । त्यसमा रोनाल्डो र पाउलो डिबालासँगै आरोन राम्सीको नाम अगाडि रहेको छ ।

‘रोनाल्डोलाई बार्सिलोनासहित सबै ठाँउमा प्रस्ताव गरिएको छ । मलाई थाहा छैन उसले कमाएको पैसाबाट उनी सजिलैसँग छुटकारा पाउन सक्दछन् । यस्तो किसिमको पारिश्रमिक कसले दिनेछ । कोरोना महामारीका कारण बार्सिलोनालाई पनि चरम आर्थिक मन्दी छ । त्यसैले बार्सिलोनाले मोटो रकम खर्चन सक्नेछैन । रियल बार्सिलोनासँग दुरी कम गर्न चाहन्छ,’ बालागेले ५ स्पोर्टलाई भनेका छन् ।

फुटबल समर्थकहरुले पनि मेस्सी र रोनाल्डोको आक्रमणको जोडी एकै क्लबबाट खेलेको हेर्ने चाहना छ । तर, यो असम्भव जस्तै छ । युभेन्ट्सले आरोन राम्से र पाउलो डिबाला जस्ता खेलाडीबाट पनि छुटकारा पाउन खोजिरहेको छ। जसले नयाँ टोली निर्माण गर्न सहयोग पुर्यालउदछ । पिर्लोले क्लबका मालिकसँग बसेको बैठकमा कम्तिमा रोनाल्डो र डिबालामध्य एक मात्र रहने सक्ने भन्ने टुंगो लागिसकेको छ ।

स्पेनिस पत्रकार बालागले रोनाल्डो फ्रेन्च क्लब पीएसजीसँग जोडिनुको कारण पनि यही रहेको बताएका छन् । ‘पीएसजी पनि रोनाल्डो अनुबन्ध गर्नेबारे सोचमा छ । तर, पीएसजीको इच्छा भन्दापनि युभेन्टसले एजेन्ट जर्ज मेन्डेसलाई रोनाल्डोको लागि टोली खोज्न निर्देशन दिइसकेको छ । त्यसैले पीएसजी पनि उनको लागि गन्तव्य हुनसक्छ,’ उनले भने ।

३५ वर्षे रोनाल्डो २०१८ मा ९० मिलियन पाउन्डमा रियल म्याड्रिड छाडेर युभेन्ट्स पुगेका थिए । त्यहाँ उनले दुई सिजन बिताउँदा राम्रो प्रदर्शन गरिरहेका छन् । युभेन्ट्स दुवैपटक सिरी ‘ए’ च्याम्पियन बनिसकेको छ । सान्टियागो बर्नबेउमा उत्कृष्ट करियर बिताएका रोनाल्डोले युभेन्ट्समा पनि आफ्नो गोल गर्ने क्षमतालाई निरन्तरता दिएका छन् ।

बालागेका अनुसार पछिल्लो महिनामा रोनाल्डोले रियल फर्कने प्रारम्भिक छलफल गर्न खोज्दा रियलले त्यसको कुनै सम्भावना नरहेको प्रष्ट पारिसकेको छ । एमएलएसमा जान पनि रोनाल्डोको तलब माग अत्याधिक भएकाले कमै क्लबले उनको आर्थिक भार थेग्न सक्छन् । यस्तोमा बार्सिलोना र पीएसजी नै सम्भावित गन्तव्य हुन सक्छन् ।

प्रतिक्रिया