पशुमा भाइरसको प्रकोप

सिन्धुली । जिल्लाको दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न ठाउँमा पशुमा भाइरस रोगको पकोप फैलिएको छ । दुधौली नगरपालिकाका १४ वटै वडा र हरिहरपुरगढी गाउँपालिका–५ मा उक्त भाइरस फैलिएको स्थानीय तहले जनाएका छन् ।

दुधौली नगरपालिकाको पशु शाखा प्रमुख कुमारीसुन्तल बुढाथोकीका अनुसार दुधौली नगरपालिकाको १४ वटै वडामा पशुमा भाइरस रोग देखिएको छ । रोगको पहिचान नभएकाले उपचार गर्ने समस्या परेको बुढाथोकीले बताइन् । भाइरस डिजिज भएको अनुमान गरी एन्टिबायोटिक चलाएर पशुलाई उपचार थालिएको उनले जानकारी दिइन् । पहिलोपटक यो रोग देखापरेको उनको भनाइ छ । जिउभरी मसिनो पानीजस्तो फोका आउने, ज्वरो आउने, घाँस नखानेजस्ता लक्षण रहेको बुढाथोकीले बताइन् ।

यस्तै हरिहरपुरगढी गाउँपालिका–५ का पशुमा पनि उक्त भाइरस देखिएको गाउँपालिकाले जनाएको छ । अचानक देखा परेको उक्त रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकहरूले पहिचान गर्ने नसकेको हरिहरपुरगढी गाउँपालिका–५ का वडाध्यक्ष झलककुमार माझीले बताए ।

प्रतिक्रिया