अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ खण्ड अवरुद्ध

सिन्धुपाल्चोक । भोटेकोसी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ मार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । कुल २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधान सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो ।

भोटेकोसी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाकसमेत खन्न नमिल्नेगरी सडक बगेको छ । त्यस्तै सानो डाक्लाङस्थित सडकमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ । खोल्सामा बाढी आएका कारण सानो डाक्लाङमा भीषण पहिरो गएको छ । सडक बन्द भएको सातादिन बिते पनि सो सडक कहिले बन्छ केही पत्तो छैन ।

बाह्रबिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौँ खण्डमा बिगारेको छ । बाढीले खाग्दल, जम्बु, सिरिसे, इलाका प्रहरी चौकी बाह्रबिसे छेउका सडक बगरमा परिणत बनाएको छ । बाह्रबिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् । विभिन्न खण्डमा भासिएका छन् । सडक बग्न थालेपछि सडक माथि र सडक आसपास रहेका बस्ती जोखिममा रहेका छन् ।

डाक्लाङ पहिरोमाथि पनथली गाउँमा ३५ घरधुरी रहेको छ । उक्त पहिरोले सो बस्ती उच्च जोखिममा पारेको भोटेकोसी गाउँपालिका–४ का वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिएका छन् । झिर्पुको हिन्दी खोल्साले २५ घर उच्च जोखिममा पारेका छन् । उक्त सडकमा केन्द्रीय सरकारको उचित ध्यान पुग्नुपर्ने वडाध्यक्ष शेर्पाले बताए ।

स्थानीय समाजसेवी तथा तरुण विभागका केन्द्रीय सदस्य पासाङनृर्पु तामाङका अनुसार सडक भत्कन थालेपछि पहिरो क्षेत्रबाट नै पैदलयात्रा गर्नुपर्ने समस्या रहेको छ । पहिरोबाट आउजाउ गर्दा माथिबाट ढुंगाा झरेर लाग्ने खतरा रहेको छ । ज्यान हत्केलामा राखेर स्थानीय आउजाउ गरिरहेका छन् । भोटेकोसी बाढी र ठाडोखोलाले पीडित बनाएकाहरूलाई सहयोग लिएर जाने सहयोगीहरू पहिरोबाटै आफैँले राहत बोकेर गइरहेका छन् । सहयोगीहरू जोखिम मोलेर भए पनि बाढीपीडितलाई सहयोग पु¥याइरहेको सहयोगी तामाङले बताएका छन् ।

उनले तीनै तहका सरकारले बाह्रबिसे लिपिङ सडकको स्तरोन्नतिमा लाग्नुपर्ने बताए । अर्बौं रुपियाँ राजस्व संकलन हुने तातोपानी नाकास्थित उक्त सडकमा सरकारको ध्यान नजाँदा सो सडकको बिजोग भएको समाजसेवी पासाङले बताएका छन् । उक्त सडकखण्डअन्तर्गत जम्बु र खाग्दल खण्डमा २४ असारको बाढीले बगाए पनि मर्मत गरी सडक सुचारु गरिएको थियो ।

तर, अहिले डाक्लाङ खण्ड नदीबाटै तानेकोले मर्मत गरेर पनि सडक सुचारु गर्न नसकिने अवस्था रहेको समाजसेवी साङबु शेर्पाले बताए । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले डोजर र कर्मचारी तयारी अवस्थामा राखेको र मौसम सुधार भएसँगै सडकको मर्ममतको काम थलानी गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया