सवारी पास वितरण बन्द

काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । ‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा बुधबार जारी सूचनामा उल्लेख छ ।

सवारी पासको दुरुपयोग गर्दै कतिपयले मानिसहरुसग रकम असुल्दै जिल्ला पार गराउने समेत पाइएको थियो । जसका कारण मानिसहरु एक जिल्लाबाट अर्को जिल्लामा सजिलै प्रवेश पाउने गरेका थिए । सो कार्यलाई कडाईका साथ रोक्नका लागि पछिल्लो कदम चालिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत संक्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

प्रतिक्रिया