कोभिड प्रयोगशालामा जनशक्तिको अभाव

चितवन । कोभिड पहिचान तथा रोकथामका लागि स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला सुरुमा जस्तो थियो हालसम्म पनि उस्तै अवस्थामा रहेको छ ।

सुरुमा चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले अहिले आएर एक सिफ्ट मात्र काम गर्न थालेका छन् । यसका कारण नमुना संकलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरूको भनाइ छ । प्रयोगशाला प्रमुख डा.नीतु अधिकारी प्रयोगशालामा सात जना मात्र प्राविधिक जनशक्ति भएको बताउँछिन । तीमध्ये चार जना घाइते र बिरामी परेको उनको भनाइ छ ।

चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरूले समेत काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरूलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुई जना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एक जना प्राविधिक कार्यरत छन् ।

अधिकारी यो जनशक्तिले एक सिफ्ट मात्र काम गर्न सक्ने बताउँछिन् । अहिले प्रयोगशालामा दैनिक १ सय १५ हाराहारी नमुनाको परीक्षण हुने गरेको छ । यसका कारण नमुना पठाएकाहरूले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उनले भनिन्, ‘यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।’ हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ ।

प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उनले थपिन्, ‘भत्ताका कारण हामीले काम घटाएका छैनाैँ । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।’ स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५ सय ७४ स्वाबको नतिजासमेत निकालेको उनले स्मरण गरिन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीन जना कर्मचारी थप गर्ने तयारी गरिएको बताइन् ।

जनशक्तिकै अभावका कारण नमुनाको नतिजा निस्कन समस्या भएको भन्दै उनले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताइन् ।

मन्त्रालयले २ करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उनले अस्पतालले ४ करोड ५० लाख माग गरेको बताइन् । २३ चैतबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २ सय नमुना परीक्षण गरिसकेको छ । यसमध्ये चार सय जनाको कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उनले जानकारी दिइन् ।

यसै क्रममा कोरोना संक्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ । लक डाउन खुले पनि कोरोना भाइरस संक्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने २ हजार २ सय जनालाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही १७ साउनदेखि सोमबारसम्म उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

मास्क नलगाई हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई सयदेखि पाँच सय रुपैयाँसम्म जरिवाना गरिएको उनले जानकारी दिए । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा सय तथा विना मास्क सवारी चलाउने चालकलाई पाँच सय जरिवाना गरिएको छ । यसरी जरिवानाबाट २ लाख ३६ हजार राजस्व संकलन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उनको भनाइ छ । लक डाउन खुकुलो भए पनि कोरोनाको संक्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरूमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेर मात्र पठाउने गरिएको उनले बताए ।

प्रतिक्रिया