बेपर्वाह नागरिक, निष्फिक्रि सरकार

सेवाग्राहीको भीडः विभिन्न कामका लागि यातायात व्यवस्था कार्यालय धनगढीमा आइतबार लामबद्ध भएर बसेका सेवाग्राही । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा पनि सेवाग्राहीले भौतिक दूरी कायम गरेको र नियमन निकायले अनुगमन गरेको देखिदैन । तस्बिरः रासस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन अपरान्ह सवा चार बजे कोभिड–१९ (कोरोना) का विषयमा सामाजिक सञ्जाल र राष्ट्रिय टेलिभिजनबाट पत्रकार सम्मेलन गर्दछ । पछिल्ला २४ घण्टाका विवरण (कुल पिसिआर टेष्ट संख्या, संक्रमित, निको भएको संख्या र मृतकको संख्या) दिने गरेको छ ।

चैतको दोस्रो सातादेखी मन्त्रालयले नियमित रुपमा पत्रकार सम्मेलन गर्दै आएको हो । शुरु शुरुमा दैनिक एक जना संक्रमित भेट्दा मानिसहरु निक्कै अत्तालिएका थिए । बैशाखसम्म आइपुग्दा समेत मानिसहरु कुनै जिल्लामा संक्रमित भेटियो भने छिमेकी जिल्लामा बसोबास गर्ने आफ्ना आफन्तलाई समेत सचेत रहन सुचना प्रवाह गर्ने गरेका थिए । तर, विस्तारै संख्या बढ्न थाल्यो मानिसमा कोरोनाको भय बढ्न थाल्यो । दैनिक संक्रमितको संख्या पनि बढ्न थाल्यो ।

सरकारले चैत ११ गतेबाटै लकडाउन शुरु गरिसकेकाले मानिसहरु घरबाट पनि बाहिर निस्किन डराउने गरेका थिए । संक्रमितको संख्या दैनिक एक अंकबाट बढेर दुई अंकमा पुग्यो । विस्तारै मानिसहरुबाट कोरोनाको भय मेटिन थाल्यो । त्यसै क्रममा जेठ १ गते धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको हल्ला चल्यो । स्वास्थ्य मन्त्रालयले जेठ ३ गते ति महिलामा कोरोना भाइरस भेटिएको पुष्टि गर्यो । जुन नेपालमा कोरोनाबाट पहिलो मृत्यु थियो ।

कोरोनाबाट मृत्यु भएपछि फेरी मानिसमा त्रास बढ्यो । केही समय मानिस सजग समेत बने । मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम राख्ने र स्यानेटाइजर प्रयोग गर्नेमा सचेत समेत देखिए । जसले गर्दा कतिपय जिल्लामा सरुवा रोगहरु नभेटिएको तथ्यांक समेत आएका थिए । लकडाउनकै समयमा सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गर्यो । त्यसपछि दैनिक संक्रमितको संख्या दुईबाट बढेर तीन अंकमा पुग्न थाल्यो ।

संख्या बढ्दै बढ्दै एक हजार, पाँच हजार, दश हजार कट्यो । आम नागरिकलाई कोरोनाबाट विस्तारै डर समेत हट्न थाल्यो । सरकारले विभिन्न क्षेत्रको दवाव, रोगले होइन भोकले मर्न थाल्यौं भन्ने नागरिकको अवाज र आर्थिक रुपमा आफै टाट् पल्टिने अवस्था आएपछि साउन ७ गतेबाट लकडाउन खुल्ला गरिदियो । त्यसअघिसम्म प्रहरीले पनि विना काम सडकमा निस्कनेलाई कडा कारवाही समेत गरिरहेको थियो । लाठ्ीले पिटाई खाएका दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

लकडाउन खुकुलो भएपछि चार महिना घरमै बसेका मानिसहरु धमाधम निस्कन थाले । मानिसहरुले कोरोना संक्रमण सकिएको जस्तै गरी बेपर्वाह घुम्न थाले । यसक्रममा जिल्लाभित्र सार्वजनिक यातायातका सवारी साधन समेत खुले । जनस्वास्थ्यका मापदण्ड नै पुरा नगरि अहिले पनि सडकमा सवारी साधन गुडिरहेका छन् । लकडाउन खुल्ला हुनुभन्दा अगाडीसम्म नेपालमा झण्डै १८ हजार संक्रमित पुगेका थिए ।

लकडाउन खुकुलो भएपछि अहिले सडकमा बेपर्वाह नागरिकहरु घुमिरहेका छन् । कुनै बेला एक जनालाई संक्रमण भयो भनेर पुरा देश नै डराउने अवस्थामा पुगेका सर्वसाधारण अहिले नजिकै कोरोना विरामी छ भन्दा पनि नडराउने अवस्थामा पुगेको छ । जुन निक्कै आत्मघाती रहेको जनस्वास्थ्य विज्ञहरु बताउछन् । मानिसमा कोरोनालाई सामान्य रुपमा लिनु नै आत्मघाती भएको बताईरहेका छन् ।

काठमाडौंमै सरकारी निकायले गरेको अनुगमनमा केवल ७२ प्रतिशत मानिसले मात्र मास्क प्रयोग गर्ने गरेको र त्यसमध्ये पनि २८ प्रतिशतले मास्क प्रयोग गर्न नै नजानेको उल्लेख गरेको छ । यही कारण अहिले शहरी क्षेत्रमा संक्रमण निक्कै बढेको छ । सरकारले बेपर्वाह नागरिकलाई सुरक्षित रहन बेला बेलामा सूचना दिएपनि विगतमा जस्तो स्वास्थ्यका मापदण्ड लागु गर्न कडाई गरेको छैन । जसमा सरकार पनि चुकेको छ । जनतामा चेतना जगाउनु नै संक्रमण रोक्ने मुल मन्त्र रहेको विज्ञहरुको भनाई छ ।

लकडाउन खुल्ला हुनुभन्दा केही समय अगाडी दैनिक रुपमा केवल एक सय देखी एक सय पचाससम्म संक्रमित भेटिएका थिए । तर, खुल्ला भएपछि संक्रमित फेरी बढ्न थाले । अहिले दैनिक पिसिआर परीक्षणमध्ये संक्रमण दर ५.२ प्रतिशत रहेको छ । मृतकको संख्या पछिल्लो पटक निक्कै बढ्न थालेको छ । दैनिक तीनदेखी पाँच जनासम्मको मृत्यु हुन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पोजेटिममध्ये प्रति दश लाखमा मृत्यु २.८ को हुने गरेको छ ।

कोरोनाले आइसियु र भेन्टिलेटरमा रहनेको संख्या बढिरहेको छ । मंगलबारसम्म तीन जना भेन्टिलेटर र ८५ जना आइसियुमा उपचार गरिरहेका छन् । लापरवाहीले गर्दा मंगलबार पछिल्लो केही दिन यताकै सबैभन्दा धेरै ६३८ जना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमध्ये हाल ७ हजार २०१ जना सक्रिय संक्रमित अर्थात कोरोना पोजिटिभ रहेका व्यक्ति छन् । जसमध्ये सबैभन्दा धेरै प्रदेश–२ मा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश–२ मा ३ हजार ३४७, बागमति प्रदेशमा १ हजार ३५२, सुदूरपश्चिममा ८९६, प्रदेश–५ मा ६४६, प्रदेश–१ मा ५३९ सक्रिय संक्रमित रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा २२४ र कर्णाली प्रदेशमा १९७ जना संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै रौतहट, पर्सा र काठमाडौं उपत्यकामा एक हजार जनाभन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच, मंगलबार उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३१४ पुगेको छ । मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । यो अहिलेसम्म दैनिक रुपमा यति ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

पछिल्लो २४ घण्टा थप चार जनाको निधन समेत भएको छ । योसँगै मृतकको संख्या ८३ पुगेको छ । मन्त्रालयका अनुसार धनुषाका दुई, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका एकरएक जनाको मृत्यु भएको हो । धनुषा विदेह नगरपालिका ८ बस्ने ६० वर्षका पुरुषको सोमबार राति प्रादेशिक अस्पताल जनकपुरमा, मिथिला विहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि स्वाब नमुना संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो ।

मृतकमा काभ्रे पाँचखाल नगरपालिका १ का ५० वर्षीया महिला छिन् । उनको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मंगलबार मृत्यु भएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।

प्रतिक्रिया