संकटमा राजधानी उपत्यका

राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणको महामारीले भयंकर रूप लिएको छ । एक हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब दुई दर्जनको ज्यान गएको छ । भौगोलिक क्षेत्रफलका हिसाबले राजधानी काठमाडौं उपत्यका मुलककै पहिलो नम्बरमा आएको छ । करिब पाँच सय वर्गकिलोमिटर क्षेत्रफलभित्र एक हजार जना संक्रमित फेला पर्नु र करिब दुई दर्जनको मृत्यु हुनु भनेको धेरै नै भयावह अवस्था हो । यति भयावह अवस्था मुलुकका अन्य स्थानमा छैन । अर्को खतरनाक पक्ष के हो भने यति सानो क्षेत्रफलभित्र करिब ५० लाख जनसंख्याको बसोवास छ । सडकमा हिँड्दा चाहेर पनि सामाजिक दुरी कायम गर्न सकिने अवस्था छैन । बजारमा किनमेल गर्न जाँदा होस् या अस्पतालमा होस् अथवा कुनै सरकारी कार्यालयमा सेवा लिन जाँदा होस्, सामाजिक दुरी कायम गर्न सजिलो छैन । यति मात्रै होइन एउटै घरमा ४०÷५० जनासम्म बस्छन्, दिसापिसाब गर्ने, नुहाउने, कपडा धुने ठाउँ सबैको एउटै हो । त्यसैले सामाजिक दुरी कायम राख्न पनि सजिलो छैन । यसैगरी संक्रमितलाई राख्ने आइसुलेसनको अभाव भइसकेको छ । लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसुलेसनमा राख्ने नीति सरकारले अघि सारेको छ । तर, कतिपय परिवारले एउटा तथा दुई वटा कोठामा गुजारेका छन् । चार वटा कोठाभन्दा बढी कमै परिवारको होला ।

सरकारले राजधानी काठमाडौंको जुन तथ्यांक सार्वजनिक गर्ने गरेको छ त्यो त्यति भरपर्दो छैन । राजधानीमा अस्थायी बसोवास गर्ने संक्रमितको नाम उनीहरूको स्थायी ठेगाना भएको जिल्लामा समावेश गर्ने गरिएका कारण पनि राजधानी काठमाडौंमा संक्रमितको संख्या करिब एक हजार मात्रै हुन गएको अनुमान छ । यथार्थमा राजधानी उपत्यकाभित्र संक्रमितको संख्या तीन हजार नाघेको अनुमान विज्ञहरूले गरेका छन् । कोरोना संक्रमितका लागि भनेर तोकिएका अस्पतालहरू भरिइसकेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भइसकको संकेत स्वाथ्य मन्त्रालयका प्रवक्ताले गरेका छन् । अहिलेको जस्तै लापरवाही केही दिन जारी रह्यो भने उपत्यकामा मात्रै संक्रमितको संख्या १०औँ हजार पुग्ने निश्चित जस्तै छ । मौसम परिवर्तनका कारण पनि करिब आधाजसो संक्रमितहरूमा लक्षण देखिएको छ । संक्रमितहरूले स्वास्थ्य सेवा त परै जाओस् मरेपछि लासको व्यवस्थापन गर्नसमेत सरकारले नसक्ने हो कि ? भन्ने शंका उत्पन्न भएको छ ।

अहिले नै व्यवस्थित रूपमा लक डाउन गरेर पिसिआर परीक्षणको दायरा बढाइएन भने भोलि कफ्र्यु लगाएर पनि संहाल्न नसकिने अवस्था आउन सक्छ । किनकी जनघनत्वको हिसाबले मात्रै उपत्यका संवेदनशील होइन, दैनिक लाखौ“ मान्छे भित्रिने र बाहिरिने गर्दछन् । काठमाडौंको संक्रमण मुलुकको दूरदराजका गाउँसम्म फैलिन २४ घण्टाभन्दा बढी लाग्दैन । हुन त सरकारले लक डाउनको अधिकार स्थानीय तहलाई नै दिएको छ । कतिपय स्थानीय तहले यो अधिकार प्रयोग गरिसकेका पनि छन् । तर, राजधानी काठमाडौं उपत्यकाको मामिला स्थानीय तहको काबुमा छैन । स्थानीय तहले सक्दैन पनि । जे गर्नुपर्ने हो संघीय सरकारले नै गरोस् । अरू केही गर्न नसकिए पनि तत्कालका लागि सवारी साधन बन्द गर्न सकिन्छ । सवारी साधन बन्द गर्नासाथ भिडभाड कम हुन्छ । सामाजिक दुरी कायम गर्न सजिलो हुन्छ । जनस्तरमा चेतना जगाउनका लागि सरकारले आक्रमक पहल थाल्नु जरुरी भइसकेको छ । मिडियाहरूमा करिव २० प्रतिशत स्थान कोरोनाविरुद्ध जनचेतना वृद्धि गर्ने सामग्री प्रवाह गर्ने वातावरण बनाउन सरकारले ढिलाई गर्नु हुन्न । कोरोनास“ग जुध्ने सबैभन्दा भरपर्दो विकल्प भनेकै जनचेतना हो । अत्यावश्यकीय काममा बाहेक घरबाट बाहिर ननिस्कने हो भने कोरोना संक्रमणको वृद्धि दर ह्वात्तै घट्छ ।

प्रतिक्रिया