अबैध घरेलु मदिराविरुद्ध सर्च अपरेसन

लहान । एसपी उमाशंकर पंजियारले अबैध घरेलु मदिराविरुद्ध सर्च अपरेसन चलाएका छन् । यस अपरेसनको एक महिनामा करिब आठ हजार लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरीचौकी औरहीबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका–५ स्थित रामदेव कलाल र रामकृष्ण कलालको घरमा छापा मारिएको थियो । छापा मारी घरेलु मदिरा पाँच लिटर, कच्चा पदार्थ २ सय ५० लिटर र मदिरा बनाउने आठ थान भाडावर्तन नियन्त्रणमा लिएका थिए । स्थानीयको रोहबरमा प्रहरीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–३ स्थित जितु साहको घरबाट ८० लिटर मदिरा र मदिरा बनाउने १४ थान भाडावर्तन नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्रहरीको गस्ती टोलीले सिरहा जिल्लाको विभिन्न स्थानबाट ७ हजार ५ सय ५० लिटर मदिरा नष्ट गरेका छन् । सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ स्थित छोटकीटोलमा इलाका प्रहरी कार्यालयबाट खटेका प्रहरी गस्ती टोलीले उक्त परिमाणको मदिरा बरामद गरी नष्ट गरेको हो । यसका साथै अवैध मदिरा भट्टीमा मदिरा उत्पादन गर्न प्रयोग गर्ने १७ थान भाडावर्तन पनि बरामद गरेका छन् ।

सिरहा जिल्लामा हुने अपराधिक गतिविधि विभिन्न हिंसाका घटनाहरू मध्ये ८० प्रतिशत घटनाहरू मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियारले बताए । अपराधिक गतिविधि रोक्न र महिलामाथि हुने हिंसा रोक्नका लागि अबैध मदिरालाई बन्द र अरू मदिरालाई नियन्त्रण गर्न आवश्यक रहेको एसपी पंजियारले बताए ।

घरेलु मदिरा उत्पादनमा बढीजसो महिलाहरूको नै संग्लग्नता आफूले पाएको एसपी उमाशंकर पंजियारले बताए । पति रोजगारीका लागि विदेश जाने विदेशबाट आर्थिक सहयोग नगर्ने, एकल महिला लगायतका धेरैजसो आर्थिक अभाव भएका महिलाहरूको बढी संग्लग्नता देखिएको छ । अबैध मदिराबाट चाँडो आर्थिक लाभ लिन सकिने, अशिक्षाका कारण, अन्य विकल्प नभएका कारण पनि महिलाहरू यस काममा लाग्ने गरेको एसपी पंजियारले बताए । यसको अन्त्यका लागि जनप्रतिनिधि तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरू दिँदा यसलाई नियन्त्रण गर्न सकिने एसपी पंजियारले बताए ।

मदिराका कारण महिलाहरूले एकल जीवन निर्वाह गर्नुपर्ने, आत्महत्या गर्नुपर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनाहरू मध्ये ७०÷८० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफूले पाएको उनको भनाइ छ ।

प्रतिक्रिया