आइसियु र भेन्टिलेटरका संक्रमित बढे

काठमाडौं । कोभिड–१९ को संक्रमणले मुख्य शहरहरुलाई चपेटामा लिन थालेको छ । वीरगन्जबाट शुरु भएको संक्रमण विराटनगर हुँदै संघीय राजधानी काठमाडौं पनि थालेको हो ।

देशकै प्रमुख भन्सार नाका रहेको वीरगन्जमा संक्रमित बढ्नुका साथै मृतकको संख्यामा उल्लेखिय वृद्धि भईरहेको छ । काठमाडौंमा पनि दैनिक संक्रमणदर बढ्दो रहेको छ । संक्रमितको संख्या पछिल्लो दश दिनमा काठमाडौंमा ४५० जना रहेको छ । संक्रमित बढेसँगै आइसियु र भेन्टिलेटरमा रहेको संख्या पनि दैनिक रुपमा बढिरहेको छ । विहिवारमात्रै थप १६ जना संक्रमितलाई आइसियु र भेन्टिलेटरमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विहिवार अपरान्ह दुई बजेसम्म देशभरका कोभिड अस्पतालमा ६६ जना विरामीलाई आइसियु र भेन्टिलेटरमा राखिएको छ । जसमध्ये ३ जनालाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर राजधानीमा उपचार भईरहेको छ ।

सबैभन्दा धेरै आइसियुमा ३३ जना प्रदेश–२ मा रहेका छन् । काठमाडौंमा ३ जना भेन्टिलेटर र २६ जना आइसियुमा उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रदेश–५ मा दुई जना तथा प्रदेश–१ र सुदुरपश्चिममा एक÷एक जना आइसियुमा छन् ।

पछिल्लो २४ घण्टामै ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनिहरु मोरङका दुई जना र सर्लाही, धनुषा र सप्तरीका एक÷एक जना रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको आधिकारीक संख्या ६५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेकाले अस्पतालको अभाव हुनसक्ने चेतावनी दिएको छ । जनस्वास्थ्यको ख्याल नगरेको र सरकारको निर्देशन अटेर गरेको भन्दै यस्तो चेतावनी दिएको हो । प्रवक्ता डा. गौतमले कोरोना संक्रमण भयावह बन्दै गएकाले सुरक्षा सतर्कता अपनाउन आम सर्वसाधारण तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई अनुरोध गरे ।

मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने जनाएको छ । साथै अस्पतालहरूलाई कर्मचारीलाई शिफ्टमा काम गराउन र स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न तथा लकबुक बनाएर राख्न समेत अनुरोध गरेको छ । मन्त्रालयले सरकारी वार निजी जस्तोसुकै कार्यालयमा पनि बैठक, सेमिनार वा भेला नगर्न र अत्यन्तै जरूरी भएको खण्डमा भर्चुअल बैठक गर्न अनुरोध गरेको छ । ‘काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए भर्चुअली गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ’, प्रवक्ता गौतमले भने ।

साथै काठमाडौं उपत्यकालगायत सीमानाका क्षेत्रमा प्रदेश, स्थानीय तह लगायत निकायले सावधानी अपनाउनका लागि वातावरण बनाउन पनि अनुरोध गरेको छ । कोरोना परीक्षणका लागि स्वाब दिइसकेपछि रिपोर्ट नआएसम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरेको छ ।

काठमाडौं खतरातर्फ
काठमाडौँ उपत्यकामा बिहीबार एकैदिन ८७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत २२ जना, प्रहरीका १३ जना, संघीय संसदका प्रवक्तालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित पुष्टि भएपनि उनिहरुलाई कहाँबाट कोरोना सर्यो भनेर पत्ता लगाउन कठिन भएको छ । उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमित अहिलेसम्मकै उच्च हो । कोरोनाले काठमाडौं उपत्यकालाई संकटतर्फ धकेलिरहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्, ‘स्थिति भयावह हुन नदिन व्यवस्थापनमा जोड दिनुपर्ने बेला हो, स्थानीय तहदेखि निगरानी गर्ने निकायले अबिलम्ब पहलकदमी लिनुपर्छ ।’

पछिल्लो १० दिनमा देशभरी तीन हजार १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४५० जना छन् । केही दिनअघि सम्म काठमाडौँको ७२ स्थानमा संक्रमित पुष्टि भएको ‘ट्रेस’ गरिएको थियो । हाल एक सय स्थानमा संक्रमित फेला परेका छन् । जनघनत्व र जनसंख्या बढी भएको हुँदा बाग्मती प्रदेशको कुल संक्रमित अधिकांश काठमाडौँमा छन् । हाल बाग्मती प्रदेशमा ८३५ जना कोरोनाभाइरसका सक्रिय बिरामी छन् । अधिकांश काठमाडौँ उपत्यकाभित्रका छन् ।

प्रदेशमन्त्री नै संक्रमित
प्रदेश–२ का आन्तरिक मन्त्री नै कोरोनाको संक्रमणमा परेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि उनि आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

१४ साउनको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा मन्त्री यादवसँगै प्रधानमन्त्री र गृहमन्त्री समेत सहभागी भएका थिए । यद्यपी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री निवासका सबै जनाको तीन दिन अगाडी पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले प्रधानमन्त्रीसँग सबैको भेट सामाजिक दुरी कायमै राखेर गरिएको पनि बताए ।

तर, प्रदेशमन्त्रीसँगै बैठकमा रहेका अन्य प्रदेशका मन्त्रीहरु पनि पिसिआर परीक्षण गराएका छन् । प्रदेश–१ का मन्त्री हिक्मत कार्कीले आफुले पिसिआर परीक्षणका लागि स्वाब बुझाएको जानकारी दिए । उनले आफु सेल्फ आइसोलेसनमा रहेको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकालाई सर्तक रहन पनि भनेका छन् ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा तथा प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहभागी थिए । बैठकमा सहभागी गण्डकी प्रदेशका आन्तरिका मामिला मन्त्री हरिबहादुर चुमानले पनि शुक्रबार पीसीआर जाँच गराउने भएका छन् ।

प्रतिक्रिया