कोरोनाबाट सजग रहन आग्रह

काठमाडौं । कोरोना भाइरसका कारण संक्रमण फैलिँदै जान थालेपछि कलाकार तथा सर्वसाधारणलाई सचेत हुन नेपाल चलचित्र कलाकार संघले अनुरोध गरेको छ । दिन प्रतिदिन संक्रमण बढ्दै गइरहेकाले सर्वसाधारण तथा विशेष रुपमा संघका सदस्यहरुमा सावधानी अपनाउन अनुरोध गरिएको हो ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिमवाट बच्न मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान तथा नगर्न र अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ । संघका उपाध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन हटेता पनि स्थानीय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ ।

यसो हुनुमा हामी आफैैं संक्रमणवाट जोगिन अप्नाउनुपर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै ।’ उपाध्यक्ष निरौलाले संक्रमण फैलिन नदिन सचेत बन्नुपर्ने बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘यस अवस्थामा आफू र अरुलाई पनि संक्रमणवाट बचाउन हाम्रो पहिलो कर्तव्य र दायित्व हुन आउँछ ।

संक्रमणवाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ ।’ कोरोनाको प्रकोपको संक्रमणकालमा संघले राहतको विभिन्न सेवा प्रदान गरेको जानकारी दिँदै विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व रहेको उल्लेख छ । त्यस्तै, संघले आफ्ना सदस्यलाई कुनै समस्या र अप्ठ्यारा भएमा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया