ट्युसन भन्दै कक्षा संचालन, पैसा अशुल्ने ट्युसनको बहाना

मुगु । सरकारले कोरोना संक्रमण फैलने भन्दै दुई वा दुईभन्दा बढी मानिस भेला तथा जमघट नगर्न भने पनि मुगुमा यसको वेवास्ता गरिएको छ । गत चैत ११ गतेबाट लगाउँदै आएको लकडाउन अन्त्य गरेर केही सिमित कामहरु संचालनको लागि खुकुलो पारेएता पनि शैक्षिक संस्था, व्यापारिक केन्द्र, सिनेमा हल, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र,तालिम,सभा,गोष्टी,भेला,सम्मेलन जस्ता बढी मानिस जमघट हुने कार्य सञ्चालन गर्न सरकारले अनुमती दिएको छैन ।

तर, मुगुका केही निजी शैक्षिक संस्थाहरुले सरकारको विद्यालय संचालनको निर्णय नै नहुँदै आफूखुशी ट्यसनको नाममा विद्यार्थी बोलाएर कक्षा संचालन गर्ने गरेको पाईएको छ । जिल्ला सदरमुकाम गमगढीमा रहेका थापा मेमोरियल बोडिङ्ग स्कुल, रारा डाईनामिक अंग्रेजी बोर्डिङ स्कुल र समता स्कुलले ट्युसनका नाममा कक्षा संचालन गरेको पाईएको हो ।

सरकारले आगामी भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने भने पनि कक्षा संचालनबारे कुनै निर्णय नगरिरहेको अवस्थामा यहाँका निजी विद्यालयहरुले आफूखुशी ट्युसन पढाएर कक्षा संचालन गरिरहेका छन् । साना बालबालिकालाई कारोनाबारे जानकारी नभए पनि अविभावकहरुले आफ्ना बच्चाहरुको स्वास्थ्यभन्दा पढाईलाई प्राथमिकता दिएपछि बालबालिकाको स्वास्थ्यमाथि शिक्षक र आमा बाबुहरुले खेलवाड गरेको देखिन्छ ।

एक अविभावकले नाम नबताउँने सर्तमा भने कोरोना बारे आफूहरुलाई जानकारी भए पनि विद्यालयहरुले स्वास्थ्य सुरक्षा अपनाई कक्षा संचालन गर्ने बताएपछि आफ्ना छोराछोरीहरुलाई पढ्न पठाएको र विद्यालयमा भेडा राखे झैँ राखिएको पाईएकाले अब विद्यालयमा पढ्न नपठाउँने बताए । ट्युसनका नाममा कक्षा संचालन भइरहेका विद्यालयहरुमा नत मास्क प्रयोग गरिएको छ, न सामाजिक दूरीको पालना विद्यार्थीहरुलाई एउटा कक्षा कोठामा जम्मा गरेर पढाउने गरिएको छ । कोही कसैमा कारोना संक्रमण भए सबै विद्यार्थीमा फैलने जोखिम रहेको छ ।

विद्यालय खोलेमा कोरोना लाग्ने, तर ट्युसनका नाममा कक्षा संचालन गरे नलाग्ने जस्तो गरेर यहाँका निजी विद्यालय संचालकहरुले कक्षा संचालन गरिरहेका छन् । सरकारको निर्णयविना विद्यालय लागायत धेरै मानिस जमघट हुने काम संचालन नगर्न सार्वजनिक सूचना जारी गरिएको भएपनि सूचनाको वेवास्ता गर्दै केही निजी विद्यालयहरुले कक्षा संचालन गरिरहेको जानकारी आएकाले आजै स्थानीय सरकार अन्तरगतका शिक्षा शाखा, जिल्ला शिक्षा तथा समन्वय ईकाई र सामाजिक विकास कार्यालयहरुलाई जानकारी गराई त्यस्ता कार्य गर्ने विद्यालयलाई आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत्त व्यवस्थापन समितिका संयोजक कृष्णकुमार निरौलाले बताए ।

छायाँनाथ रारा नगरपालिका भित्रका केही निजी विद्यालयहरुले ट्युसनका नाममा कक्षा संचालन गर्दै आएको जानकारी पाएर मौखिक रुपमा सरकारको निर्णयविना कक्षा र विद्यालय संचालन नगर्न अनुरोध गरे पनि निजी विद्यालयहरुले अटेरी गरेकाले अब पत्रनै काटेर कक्षा संचालन रोक्न लगाउने र त्यसो गर्दा पनि अटेरी गरे नगर शिक्षा ऐन, नियमावली र स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गर्दै कारवाही अघि बढाउने छायाँनाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खड्कबहादुर रोकायाले बताए ।

पैसा अशुल्न ट्युसनको बहाना

कोरोना संक्रमण फैलने भन्दै सरकारले शैक्षिक संस्थाहरु संचालन गर्न रोक लगाएपछि शुल्क उठाउन नपाएका निजी विद्यालयका संचालकहरुले अविभावकबाट पैसा तथा शुल्क विद्यार्थीलाई ट्युसन पढाउने भन्दै शुल्क अशुली गर्ने काईदाको उपाय रचेर फाईदा आफूले लिए पनि दोष जति अविभावकहरुलाई दिने गरेका छन् ।

अविभावकहरुले लामो विदाका कारण आफ्ना बालबालिका विगे्रको भन्दै कम्तीमा विद्यालय संचालन हुन्जेलसम्म ट्युसन पढाईदिन अनुरोध गरेपछि स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै विहान ८ बजे र बेलुका ४ बजे प्रतिमहिना प्रतिविद्यार्थी रु ५०० शुल्क लिने गरी ट्युसन पढाउने गरेको थापा बोर्डिङ स्कुलका संचालक विकास थापाले बताए ।

मुगुमा कोरोनाको संक्रमण नभएकाले विद्यार्थीहरुलाई पढाएमा केही फरक नपर्नेजस्तो देखेर अविभावकहरुको अनुरोधमा कक्षा संचालन गरेको पनि उनले बताए । जिल्लामा रहेका अन्य निजी विद्यालयहरुले कक्षा संचालन गरेपछि अविभावकहरुले कक्षा संचालन गर्न दवाव दिन थालेपछि बाध्य भएर गत १६ गतेबाट सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर आफूले कोचिङ कक्षा संचालन गरेको समता स्कुलकी प्रध्यानध्यापक सोविना रावलले बताईन् ।

उनका अनुसार पनि जिल्लामा कोरोना संक्रमित शून्य भएकाले कक्षा संचालन गर्दा केहि फरक नपर्ला भन्ने सोचेर विद्यालयका कोचिङ कक्षा संचालन गरेको हो । गत साउ १३ गते अविभावकहरुको बैठक बसी ८, ९ र १० कक्षाका विद्याथीहरुलाई गणित, अंगे्रजी,विज्ञान र अतिरिक्त गणित विषयका विद्यार्थीलाई थर्मलगनबाट तापक्रम नापेर सामाजिक दूरी अपनाउँदै ट्युसन कक्षा संचालन गर्दै आएको रारा डाईनामिक अंग्रेजी बोर्डिङ स्कुलका लेखापाल विष्णु खड्काले बताए । लेखापाल खड्काले कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएको बताए पनि नर्सरीदेखि माथिका सबै कक्षा संचालन हुँदै आएको बताए ।

प्रतिक्रिया