पार्टीलाई नयाँ कसरी बनाउने ?

पृथ्वी यही हो, पलपलमा नयाँ अनुभव हुन्छ । यसभित्र अनेकौँ सुन्दरताका राज लुकेका छन् । यही नेपालमा पलपलमा नयाँ सुन्दरता देखिन्छ । सुन्दर नेपालभित्रको अनेकाैँ सुन्दरताको उत्खनन् बाँकी नै छ । हाम्रो गाउँ उही हो प्रत्येकपटक गाउँ जादाँ नयाँ अनुभूति गर्न पाइन्छ । हाम्रो घर त्यही हो हरेकपटक बाहिरबाट घरको आँगनमा टेक्दा नयाँ आनन्द आउँछ । हरेक चाडपर्वमा घर पुग्दा, तिनै साथीसंगी जम्मा हुदाँ नयाँ संसारमा पुगेको अनुभूति हुन्छ ।

यस्ता सबै चिजहरूलाई नयाँ बनाइदिने प्रमुख चिज हो आफैँभित्र निहीत सत्विचार, सकारात्मक सोच । हरेक काममा आफ्नो सहभागिता स्वामित्व र प्रभावकारी उपस्थिति, जसले हरपल हरेक मानिसका क्रिया–प्रतिक्रिया सबैलाई बिल्कुल नयाँ र फरक महसुस गराइदिन्छ । अझ नयाँ चिजले त हामीलाई झन् बढी आकर्षण गरिरहेकै हुन्छ ।

संसारको छानोको रूपमा परिचय बनाएको सर्वोच्च शिखर सागरमाथाको चुचुरो जति हेर्यो उति नयाँ लाग्छ । सर्वोच्च शिखर सागरमाथा चुचुरोमा जतिपटक चढ्यो त्यति प्रशंसा हुन्छ । रामायणको कथा कहिल्यै पुरानो हुँदैन, महाभारतको युद्ध सधैँ नयाँ लाग्छ । महात्मा गौतम बुद्धका उपदेश जति पढ्यो त्यति नयाँ र चेतनामूलक लाग्छन् । हाम्रो राष्ट्रिय चरो डाँफे जति पुरानो भए पनि उसको सुन्दरतामा कुनै कमी पाइँदैन ।

नेपालको राष्ट्रिय झण्डाको सुन्दरता सधैँ बढिरहेको अनुभव हुन्छ । जति बुढो रूखमा फूले पनि गुराँसको फूलको आकर्षणमा कुनै कमी देखिँदैन । राजनीति पनि सच्चाई र इमानमा आधारित भए सधैँ नयाँ अनुभव हुन्छ । राजनीतिक दलहरूले पनि निःस्वार्थ जनताको सेवा गर्ने हो भने कसैले बुढो, पुरानो दल भन्दैनन् । व्यक्तिको उमेरले पनि फरक पर्दैन । देश र जनताप्रतिको इमान्दारी समर्पण प्रमुख कुरा हो । जनताले जहिले परिणाम र व्यवहारमा जाँच्ने गर्दछन् । जनता जहिले पनि असल परिणामको खोजीमा हुन्छन् । राजनीतिमा खोजिने मूख्य कुरा पनि त्यही नै हो ।

मार्क्सवादको मर्म अब्बल बन्नु हाेः
राजनीतिक दलहरू राज्य सञ्चालनसँग सम्बन्धित हुन्छन् र यी राज्य र सरकारमार्फत जनताको सेवा गर्न बनाइएका साझा संयन्त्र हुन् । राजनीतिक दल एउटै दृष्टिकोण, सिद्धान्त र विचार बोकेका व्यक्तिहरूको साझा मञ्च या संगठन हो । सारमा असल ध्येय र उद्देश्य राखेर दुनियाँमा अनेक किसिमका राजनीतिक पार्टीहरू संगठित छन् । सबै राजनीतिक दलहरूका सिद्धान्त र बिचारहरू समयसापेक्ष र आफ्नै किसिमका हुन्छन् । कुनै पनि सिद्धान्त र बिचार निरपेक्ष हुँदैन । हाम्रो पार्टीको सिद्धान्त र विचार पनि समयसापेक्ष हुनु अनिवार्य छ ।

अथवा पार्टीले अंगिकार गरेका नीति र विचाहरूलाई समय सापेक्षतामा व्याख्या र विश्लेषण गरेर एकरूपता ल्याउने र तिनीहरूको परिमार्जन गरी समयानुकूल, जनमुखी र प्रगतिमुखी बनाउने काम पार्टीका नेताहरूको हुन्छ । हिजो नेकपा एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको मूल मर्म भनेको असल काममा प्रतिस्पर्धा र काममा प्रतिस्पर्धा गरेर सर्वश्रेष्ठता कायम गर्नु हो । असल काममा श्रेष्ठता कायम गरेर अघि बढ्नुको अर्थ राजनीतिका माध्यमबाट देश र जनताको सेवा गर्नु हो । अर्थात सबै किसिमका खराब काम र दुष्कर्मबाट कोसौँ टाढा रहनु हो ।

मार्क्सवादको मूल मर्म भनेको हरेक काममा अब्बल हुनु हो । जुन काम गर्छौं नमुना काम गर्नु भन्ने हो । आफ्नो काममा अब्बल हुनु भनेको समीक्षा गर्न तयार हुनु हो । हरेक प्रश्नको जवाफ दिन तयार हुनु हो । अरूका निम्ति आदेश दिनु वा अरूलाई औँला ठड्याउनु मात्र होइन । आफूतिर ठडिएका हरेक औँलाको उचित र तथ्यपूर्ण जवाफ दिएर प्रश्नकर्तालाई सन्तुष्ट पार्नु पनि हो । मार्क्सवादले हरेकलाई शंका र हरेकसँग प्रश्न गर्न सिकाउँछ । प्रश्न गर्न जान्ने व्यक्तिले उत्तरको अपेक्षा गर्दछ र आफूले पनि उत्तर दिन सिक्दछ ।

जहाँ हरेक प्रश्नको सही उत्तर हुन्छ त्यही तथ्य हुन्छ । अर्थात प्रश्नहरूले विषयवस्तुलाई तथ्यसँग जोडिदिन्छन् । जहाँ तथ्य हुन्छ त्यहीँ सत्य हुन्छ । तथ्यको कसिमा घोटेर नै सत्यको पहिचान हुन्छ । जहाँ सत्य स्थापित हुन्छ त्यहीँबाट मार्क्सवाद सुरू हुन्छ । अर्थात मार्क्सवादले नै विश्वमा सच्चाइको प्रतिनिधित्व गर्दछ । हामीले बनाएको पार्टीले मार्क्सवादको सच्चाइ र जनताको बहुदलीय जनवादको मूल मर्मलाई अंगीकार गरेको छ ।

आजको जनमत के भन्छः
अब पार्टीलाई नयाँ बनाऔँ भनेर एउटा लेख लेखेँ, धेरै साथीहरूले यो कसरी सम्भव छ भनेर टिप्पणी गर्नुभयो । रामकृष्ण काफ्ले लेख्नुहुन्छ ‘अहिलेकै अवस्था र नेतृत्वबाट पार्टीले गति लेलाजस्तो देखिएन । पार्टीको स्थायी कमिटी बैठकको मञ्चन तीतो यथार्थको रूपमा भोगिरहेका छाैँ । नेताहरूमा सामान्य शिष्टाचार र संवाद शैलीसमेत स्वीकारयोग्य देखिएकोे छैन । चालु बहस र विवाद सिद्धान्तमा केन्द्रित नभएर केबल आफ्नो वर्चस्व केन्द्रित देखिन्छ ।

कतिपय नेताहरूको त नीति, विधि र पद्धतिमा विश्वाससमेत देखिएन पार्टीलाई मोलमोलाइ र लेनदेनको आधारमा चलाउन खोज्दैछन् । आधारभूत तहमा संगठन ध्वस्त भएकोमा चिन्ता देखिँदैन । पार्टीले ठूलो बहुमत पाएर सरकार बनाए पनि नमुना बनेर देखाउन सकिरहेको छैन । एउटा कम्युनिस्ट नेतृत्वमा हुनुपर्ने स्व–मूल्याकंन सहितको जिम्मेवारी बोध देखिँदैन । विनापरिणामका गुड्डी मात्र हाँकेर जनताको चित्त बुझाउन सकिँदैन ।’

मधुसुदन शर्माले टिप्पणी गर्नुभयो, ‘कमरेड पुष्पलाल श्रेष्ठले गठन गरेको कम्युनिस्ट पार्टी लाखौँलाख नेपाली जनताको आशा र भरोशाको केन्द्र हो । यो पार्टी निर्माणमा हजाराैँ कार्यकर्ताहरूको मिहिनेत, पसिना र रगत बगेको छ । यसको पछाडि हजाराैँ कम्युनिस्ट कार्यकर्ताहरूको जीवनभरको मिहिनेत छ । कम्युनिस्ट पार्टी नेपाली श्रमिक तथा दीनदुःखीहरूको परिवर्तन र आशाको सारथी हो । अहिले पार्टीको बैठकलाई बेबारिसे बनाउने र पार्टी निर्णयभन्दा हालहुकुमलाई सर्वस्व ठानेर चल्ने तरिका अघि आएको छ । अझ खुल्ला सडक प्रदर्शनमा प्रकट अमर्यादित शैली हिजो लेनिनवादी अनुशासन पालन गरेर आएको कम्युनिस्ट पार्टीलाई सुहाइरहेको छैन । यस्तो असैद्धान्तिक तथा गन्तव्यहीन ल्याङल्याङ पारा तत्काल बन्द गर्दै विचार र कार्यशैलीमा बहस केन्द्रित गरेर अघि बढ्नु उचित हुन्छ ।’

यस्तै, हरिलाल लामिछाने निराशा व्यक्त गर्दै लेख्नुहुन्छ, ‘होइन अब पनि कमरेडहरू पार्टीलाई नयाँ बनाउने कुरा गर्नुहुन्छ । पार्टी बनाउँदा बनाउँदा हाम्रो जिन्दगी नै पुरानो र थोत्रो भइसक्यो । पुरानो बोतलमा नयाँ झोल कति हालिरहने हो । कमरेड अब त पूरै थाकियो । पार्टीलाई जति नयाँ बनाए पनि, नेताहरू जति फेरिए पनि प्रवृति कहिल्यै फेरिएन । नेकपाजस्तो क्रान्तिकारी पार्टीले खोई आधारभूत जनतामा परिवर्तनको अनुभूति गराउन सकेको ? सुन्दर सपना बाँडेर जनताको मत लिने काम गरेर मात्र हुन्छ र ? फेरी अर्को आश्वासन, अर्को सपना बाँडेर जनतालाई कति हैरान गर्ने हो ? अवत शान्तिसँग बाँच्न मात्र दिए पनि राहत महसुस गर्ने वेला भयो । हामी मार्क्सवादी लेनिनवादी भन्नेहरूले कमसेकम आफ्ना जनतालाई ढाँट्ने कामचाहिँ नगरौँ ।’ यस्तै छन् हाम्रो पार्टी कार्यकर्ताभित्रका प्रतिनिधि भनाइ ।

अब पार्टीलाई कसरी नयाँ बनाउनेः
मार्क्सवाद लेनिनवाद क्रान्तिकारी सिद्धान्त हो । मार्क्सवादले सामाजिक परिवर्तनका लागि क्रान्तिको आवश्यकता देख्यो र क्रान्तिका लागि मार्क्सवादी सिद्धान्त र विचारले लैस संगठनको आवश्यकता लेलिनले महसुस गरे । लेनिनले चुस्त, दुरूस्त, क्रियाशील, अनुशासित र अब्बल संगठन बनाएर रुसमा समाजवादी क्रान्ति सम्पन्न गरे । हामी लेनिनद्वारा प्रतिपादित त्यही फलामे अनुशासनयुक्त संगठनात्मक सिद्धान्तलाई मान्दछौँ ।

अहिलेका हाम्रा उपल्ला नेताहरूले पनि त्यही वकालत गर्दे आउनुभएको छ । अहिले सत्तामा विराजमान भएपछि हामीलाई त्यही संगठनात्मक सिद्धान्त र अनुशासन बन्धन भएको हुन सक्छ । त्यही अनुशासन हामीलाई अस्वीकार्य हुन लागेको देखिन्छ । त्यसैले अब पार्टीलाई नयाँ बनाउन निश्चित अवस्था पार गरेका, संगठनको दायरालाई बन्धन ठानिरहेका अनि बैठकमा बस्न पनि अल्छी मानिरहेका आदरणीय नेताहरूलाई अवकाश दिने सुविचारित प्रणालीको विकास गर्नुपर्छ ।

अवकास प्रणाली लागू गर्नुपर्छः
अहिले हाम्रो पार्टीमा प्रवेश खुल्ला छ, जताबाट पनि प्रवेश गर्न पाइन्छ । पार्टीमा काम गरेर आएका, यसैमा जीवन बिताएका लाखौँ कार्यकर्ता छँदै छन् । चारै तिरबाट प्रवेश पनि गराइएको छ । तर, अवकास प्रणाली छैन । यसले गर्दा ठूलो संख्यामा नेतृत्व क्षमता भएका व्यक्तिहरूको डम्पिङ भएको छ । यसका लागि प्रवेश खुल्ला गर्ने र निकास नदिने हालको विधि जिम्मेवार छ । यसलाई तत्काल सच्याउने काम गर्नुपर्छ । पार्टी विधानमा निकासको बाटो खोल्नुपर्दछ । पार्टीका विद्यमान नीति, विधि र विधानलाई परिमार्जन गरी उमेर हद कायम गर्नुपर्दछ ।

कुनै पनि पदमा पदाधिकारको अवधी किटान गरी विविध खालका अवकास प्रणाली सुरू गर्नुपर्छ । यसले पार्टीमा क्रियाशील नयाँ पुस्ता र बाहिर रहेको युवा पुस्तामा आशा जगाउँछ । एउटै व्यक्तिले लामो समयसम्म पार्टीमा हुकुम चलाउने र उही उमेर र क्षमताका थुप्रैले तमासे बनेर बस्नुपर्ने स्थितिको अन्त्य हुन्छ । आफ्नो कामको निश्चित अवधि हुने भएपछि नेतृत्वलाई काम गर्ने उत्साह रहन्छ र पार्टी चलायमान भइरहन्छ ।

बहुपदीय र प्रत्यक्ष निर्वाचन विधि खारेज गरौँः
कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा चल्ने पार्टी हो । सामूहिकता नै वास्तविक कम्युनिस्ट पार्टीको परिचय हो । कथित लोकतान्त्रिकरणको नाममा ल्याइएको बहुपदीय प्रणाली र सिधै पदाधिकारी चुन्ने तरिकाले कम्युनिस्ट पार्टीको मर्ममाथि प्रहार गरी पार्टी नेतृत्वमा निजत्वको विकास गरायो र आमकार्यकर्ताको समर्थनको नाममा निजी सत्ताको स्थापना गरायो । यसले पार्टीमा अनेक शक्ति केन्द्रको विकास गरायो र कम्युनिस्ट पार्टीमा शक्तिमा रहेका नेताहरूको वरिपरि स्थायी गुटहरू निर्माण भए । गुटहरूले सम्पूर्ण जनताको आन्दोलनलाई गुट स्वार्थमा केन्द्रित गर्दै लगेर अन्ततः देशको एउटा स्थापित क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई स्वार्थ समूहरूको झगडाको केन्द्र बनाइदियो । त्यसैको परिणाम आज पार्टी फुट र विभाजनको दोसाँधमा छ ।

हामीलाई एकतावद्ध कम्युनिस्ट पार्टी चाहिएको छ, गुट स्वार्थको निम्ति लड्ने पार्टी होइन । कमरेड मदन भण्डारीले भनेजस्तो असल काममा प्रतिस्पर्धा गरेर विजयी हुने कम्युनिस्ट पार्टी चाहिएको छ । गुटफुटलाई अस्वीकार गर्दै सामुहिक नेतृत्वलाई स्वीकार गर्ने कम्युनिस्ट पार्टी चाहिएको छ । त्यसका लागि बहुपदीय प्रणाली खारेज गर्नुपर्छ । पदाधिकारीलाई प्रत्यक्ष निर्वाचन गर्ने प्रणालीसमेत खारेज गर्नुपर्छ । पार्टीका अधिवेशन तथा महाधिवेशनले कमिटीका सदस्यको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरूबाट पदाधिकारी छनोट गर्ने विधिलाई पुनः स्थापित गर्नुपर्छ । यसले स्वभाविक रूपमा पार्टीका नेताहरूलाई आफ्नो कमिटीप्रति जवाफदेही बनाउँदै सामूहिक नेतृत्व प्रणालीतर्फ डोर्याउने काम गर्दछ ।

कार्यशैलीमा आमूल सुधार गरौँ
पार्टीलाई नयाँ जीवन दिन नेताहरूको मनपरी तन्त्र र हुकुमीशैलीलाई खारेज गर्नुपर्छ । नेताहरूको जीवनशैली, बानीबेहोरा र रहनसहनलाई निश्चित मापदण्डमा ल्याई निजी नेतृत्वमा आधारित व्यक्ति प्रधान बुर्जुवा कार्यशैली कम्युनिस्ट पार्टीमा चल्दैन । हाम्रा नेताहरूको जीवन र कार्यशैलीले पनि बुर्जुवा झल्को दिन्छ । यसमा आमूल सुधार गर्नु आवश्यक छ । हामीले शोषित पीडित वर्गमा समेत पच्ने खालको सामूहिक जीवन पद्दती र जनमुखी कार्यशैली अंगिकार गर्नुपर्छ । नेताहरूलाई पूर्णरूपले पार्टी कमिटी र कार्यकर्ताप्रति जिम्मेवार बनाउनुपर्छ । पार्टीको १०औँ वर्षको संघर्षबाट स्थापित सबै तहका सरकारहरूलाई समान तहका पार्टी कमिटीप्रति जिम्मेवार बनाउनुपर्दछ । जनताप्रतिको जिम्मेवारी र हरेक क्षेत्रमा पारदर्शितालाई आफ्नो साथी बनाउन सक्नुपर्छ ।

पार्टीलाई तमाम पार्टी सदस्यप्रति र सरकारलाई आमजनताप्रति उत्तरदायी बनाएर लैजानु पर्दछ । नेताहरूले बुर्जुवा पार्टीमा जस्तो पार्टीका कार्यकर्ताहरूलाई हली गोठाला र जनतालाई भेडाबाख्रा ठान्ने कार्यशैली छोडनु पर्छ । यस्तो खालको सोच र शैलीलाई फालेर मात्र हामी कम्युनिस्ट भएका हौँ । नेताहरूबीच सह–अस्तित्व तथा पार्टी कमिटीमा सामूहिक भावनाको विकास गरेर मात्र हामी अघि बढ्न सक्छाैँ । सामूहिक भावनाको विकास गर्न सामूहिक नेतृत्व प्रणालीलाई पुनस्थापित गर्नै पर्दछ । पार्टी नेताहरूको सादा जीवन र उच्च विचारको शैलीलाई स्थापित गर्नैपर्छ । विश्वका प्रमुख बुर्जुवा पार्टीका नेताहरूलाई समेत मात गर्ने गरी पनपनिएको पद र सम्पत्ती मोह त्याग्न सक्नुपर्छ । देश र जनतालाई नै आफ्नो जीवन र सम्पत्तीसँग जोड्नसके मात्रै हामीले पार्टीलाई नयाँ जीवन दिन सक्छौँ ।

प्रतिक्रिया