जोखिममा चार हिमताल

संखुवासभा । जिल्लाका चार हिमताल फुट्ने जोखिममा रहेका छन् । १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।

इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । संखुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ ।

नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उनले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उनले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । उनले निकट भविष्यमै सरोकारवाला संघसंस्थासँग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपंक्तिमा रहने प्रतिवद्धता व्यक्त गरे ।

वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो । यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए । हिमतालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ ।

अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । यो हिमताल विस्फोट भएमा संखुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो ।

हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने इसिमोडका डा अरुणबहादुर श्रेष्ठले बताए । उनले भने,‘हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ ।’ नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्यांक छ ।

जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ ।

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन् । विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नुपर्नेमा प्रबन्धक राईको जोड छ । ‘त्यो भनेको हिमतालहरूको नियमित अनुगमन र पूर्वसूचना प्रणाली स्थापना हो’, उनले भने, ‘त्यसका लागि चाहिने सहयोग जुटाउन सकिन्छ ।’

प्रतिक्रिया