नेपालमा आधुनिक र समकालीन कलाको उदय र विकास

नेत्रबहादुर खत्री

नेपाली कलाको इतिहास निकै पुरानो र वैभवशाली छ । प्रमाणिक रुपमा यसको अध्ययन गर्दा दुई हजार वर्षभन्दा पुरानो इतिहास रहेको पाइन्छ । नेपाली कलाको इतिहास खोतल्दै जाँदा हामी बौद्ध, हिन्दू तथा यहाँका तान्त्रिक परम्परामा आधारित कलाकृतिको निर्माणसम्म पुग्नुपर्ने हुन्छ । परम्परा र विश्वासमा आधारित यस्ता कलाको निर्माण नेपालमा आज अद्यापिसम्म चलिरहेको छ ।

तथापि, नेपालमा यो परम्परामा ब्रेक भने सुगौली सन्धिपछि नै लागेको मान्न सकिन्छ । सुगौली सन्धिपछि नेपालमा अंग्रेजको प्रभाव बढ्दै गयो । फलस्वरुप पश्चिमा शैलीको प्रवेश भयो । यसअघि भारतीय कला परम्परा र तिनको प्रभाव नेपाली कलामा परेको पाइन्छ । चाहे त्यो लिच्छविकाल होस् या मल्लकाल । अझ शाहकालमा पनि यसको प्रभाव निकै प¥यो । यसो हुनुमा नेपाल तथा भारतबीच धार्मिक, सांस्कृतिक तथा अन्य पर्यावरणीय समानता मिल्नुले काम गरेको मान्न सकिन्छ ।

सुरुमा, नेपाली कला नेपालको व्यापक विकास खासगरी काठमाडौं उपत्यकामा भएको पाइन्छ । काठमाडौं बाहिर बाराको सिम्रौनगढ, पश्चिम नेपालका विभिन्न स्थान लगायतमा धार्मिक तथा सांस्कृतिक मुल्य मान्यतामा आधारित रहेका कलाकृति बनेको पाइन्छ । त्यस्तै, नेपालको छिमेकी देशसँग कला र तथा अन्य व्यापार विनिमयको काम पनि सहज रुपमा हुन्थ्यो । खासमा नेपाल भारत र चीनको बीचमा रहेको एक विशिष्ट भूगोल थियो र छ पनि ।

यसले यी मुलुकबीच सम्पर्क जोड्दै विभिन्न व्यक्तिलाई एकताबद्ध भइ यात्रा र व्यापारिक सम्बन्धलाई स्थापित ग¥यो र मजबुत पनि बनायो । यसले नेपालको प्राचीनकालदेखि चलिआएको दार्शनिक र परम्परामा नयाँ आयाम थप्यो । सम्बन्ध विस्तारसँगै एकअर्काको सांस्कृतिक अन्तरघुलन भयो । यसले सांस्कृतिक रुपमा अन्तरविरूद्धको प्रवेश भयो । जसका कारण नेपाली संस्कृतिमा नयाँ आयाम थपिन गयो । विश्वमा औद्योगिक क्रान्तिपछि कला, साहित्य तथा समाजमै नयाँपन र शैलीले प्रवेश पाएको हो ।

अठारौं शताब्दीमा विकास भएको प्रविधिले कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा आमूल परिवर्तन देखाप¥यो । नेपालमा भने अंग्रेजसँग भएको सुगौली सन्धिपछि कला, साहित्य तथा संस्कृतिमा विस्तारै नयाँपन देखा पर्न थालेको हो । अंग्रेज रेजिडेन्ट काठमाडौंमा खुलेसँगै उनीहरुले नेपालमा कुटनीतिसँगै यहाँको सांस्कृतिक तथा प्राकृतिक अध्ययन गरे । नेपालमा पहिलो पटक अंग्रेजको आवासीय प्रतिनिधिका रुपमा आएका एडवार्ड गार्डनरले बनस्पति तथा प्राकृतिक अध्ययन गरे ।

त्यस्तै, अर्का रेजिडेन्ट ब्रायन हडसन (पहिला सहयोगी र पछि रेजिडेन्ट) ले संस्कृति तथा जीवजन्तुको अध्ययन अनुसन्धान गरे । हडसनले सन् १८२० को दशकमा आफ्नो अध्ययनलाई सहयोग पु¥याउनका लागि दृष्तान्तचित्र बनाउन नेपाली कलाकारलाई लगाए । यसबेलासम्म नेपालमा धार्मिक तथा सांस्कृतिक रुप झल्किने कलाकृति मौलिक शैलीमा बन्थे । हडसनले काठमाडौं वटुटोलका राजमानसिंह चित्रकारसहित अन्य १० जना कलाकारलाई चित्र बनाउन लगाएको विभिन्न अध्ययनले देखाएको छ ।

उनीहरुले जीवजन्तु तथा धार्मिक सांस्कृतिक विषयलाई चित्रमा उतारे । यस्ता हजारौं चित्रका साथै सयौं दृश्यचित्र पनि बनाएको पाइन्छ । यसरी नेपालमा आधुनिक शैलीमा काम गर्ने परम्पराको थालनी भएको मानिन्छ । जंगबहादुर राणाको सन् १८५० को बेलायत यात्रामा कलाकार भाजुमान चित्रकारलाई पनि लगिएको थियो । उनले बेलायत घुम्नेक्रममा पशिचमा शैलीलाई नजिकबाट नियाल्ने अवसर पाए । पछि उनले त्यसलाई काठमाडौंमा प्रयोगमा पनि ल्याए ।

अर्का राणा प्रधानमन्त्री चन्द्र शम्शेरको बेलायत यात्रामा कलाकार दीर्र्घमान चित्रकार लगिएका थिए । राणा काल (सन् १८४६ देखि १९५०) मा पश्चिमा अर्थात् युरोपियन कलाको प्रभाव र विकास भयो । जसमा राणाहरुको दरबारी जीवनसँंग सम्बन्धित तेलचित्र व्यापक रुपमा बनाइयो । भाजुमान र दीर्घमान चित्रकारले युरोपको सौन्दर्यशास्त्र, शैली र वैभवतालाई बुझ्ने अवसर पाएका थिए । खासमा नेपाली कलाको धार परिवर्तनको आधार खोतल्दै जाँदा सुगौली सन्धिपछि अंग्रेजको व्यापक चहलपहललाई नै लिनुपर्ने हुन्छ ।

वि.सं. १९८० को दशकमा भारतबाट कलाको औपचारिक अध्ययन गरेर पहिलो पटक चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकार नेपाल फर्केपछि त्यसले आधुनिक कलाको परिदृश्यलाई परिवर्तन ग¥यो । यस परिघटनाले आधुनिक काललाई सुव्यवस्थित ढंगले अगाडि बढाउने आधार खडा गर्यो ।

भारतको कलकत्तास्थित गर्भमेन्ट स्कुल अफ आर्टस्मा अध्ययन गरेर उनीहरुले पश्चिमा शैलीलाई औपचारिक रुपमा नेपाली कलाक्षेत्रमा प्रवेश गराए । उनीहरुले रचना गरेका कलाकृतिमा आधुनिकतासँगै नेपाली समाजिक, धार्मिक तथा सांस्कृतिक विषयलाई यथार्थ रुपमा प्रस्तुत गरेका पाइन्छ । जसको जग आधुनिक शैक्षिक पद्धति नै रहेको देखिन्छ । उनीहरूका काममा आधुनिकतावादी प्रवृत्ति र चेत स्पष्ट रुपमा आएको पाइन्छ । साथै विषयको प्रस्तुति नेपाली परिवेश अनुरुप रहेको पाइन्छ ।

चाखलाग्दो कुरा, यी दुई कलाकारले शिक्षा पनि एकै स्कुलबाट प्राप्त गरे भने उनीहरूमा कलाकत्ता अर्थात् बंगाली कलाको प्रभाव पनि परेको पाइन्छ जुन नेपालमा भित्रियो । तसर्थ, उनीहरु आधुनिकतासँगै नेपालमा समकालीन कलाको विषयमा आधार निर्माण गर्ने पहिलो आधिकारिक मान्यताप्राप्त अध्यापकका रुपमा पनि लिन सकिन्छ ।

२००७ सालमा निरंकुश राणा शासनको अन्त्यपछि पहिलोपटक बाहिरी व्यक्तित्व र विचार तथा कलाको लागि सहजता भयो । जसले गर्दा विभिन्न मुलुकबाट आधुनिक विचार नेपालमा भित्रिए । सुरुवातका वर्षमा नयाँ स्वतन्त्रता र राम्रो शिक्षा तथा नयाँ अवसरको उल्लास पूरै देशभरी फैलियो । वि.सं. २०१० सालको दशकमा नेपालमा विदेशी कलाकार तथा पश्चिमी चिन्तनको हावी बढ्दै गयो ।

विभिन्न देशको सहयोग विभिन्न क्षेत्रमा पर्दै गयो । कलाक्षेत्रमा पनि यसको प्रभाव परेको देखिन्छ । घरेलु तथा साना उद्योगमा सीपमूलक विषयसँग जोडेर कलाका विविध पक्षको प्रशिक्षण कार्यमा विदेशीले सघाउन थाले जसको प्रभाव नेपाली कला जगतमा पर्न थाल्यो । विशेष गरी युरोपियन मुलुकबाट नेपालमा भित्रिएको सहयोग परियोजना अन्तर्गत प्रशिक्षणका नाममा कलाक्षेत्रमा समेत केही प्रभाव पारेको देखिन्छ । उपयोगी कलाको विकास भनिए पनि त्यसले नेपाली आधुनिक कलामा गहिरो प्रभाव पा¥यो ।

यही दशकमा गेहेन्द्रमान अमात्य, जगदिश शम्शेर राणा, लक्ष्मण श्रेष्ठ, झसिन्द्रविक्रम राणा लगायतका कलाकारले आधुनिक शैलीमा चित्र बनाउन थाले । यसैबीच २०१२ सालमा कलाकार गेहेन्द्रमान अमात्यले पहिलो पटक अमूर्त तथा अभिव्यजना उन्मुख रचना गरेका कलाकृतिको प्रदर्शनी गरे । २०१५ सालपछि उर्मिला उपाध्यायको उपस्थिति नेपाली आधुनिक कला जगतका लागि निकै प्रभावी रहेको पाइन्छ ।

यता नेपालमा १९९१ सालमा चतुररत्न उदासको संयोजनमा खुलेको नेपाल आर्ट स्कुल (१९९५ सालपछि जुद्धकला पाठशाला) मा अध्ययन गरेका कला विद्यार्थीले पनि नेपाली आधुनिक कलामा निकै योगदान दिए । नेपालकै कला स्कुलमा अध्ययन गरेका विद्यार्थी तथा विदेशबाट अध्ययन गरी नेपाल आएका कलाकारका कारण नेपालमा आधुनिक कलाको जग बलियो बन्दै गयो । २०१८ सालमा लैनसिंह बाङ्देलको नेपाल आगमनपछि नेपाली कलामा युरोपियन प्रभाव परेको पाइन्छ ।

हुनत त्यसअघि नेपालमा भारतीय कला शिक्षण संस्थाबाट अधययन गरेर नेपाल आउने कलाकारले पनि कलाका विविध शैली र पद्धतिलाई अंगिकार गरेका थिए । २०१४ सालमा स्थापना भएको सरकारी तहबाट प्रज्ञा प्रतिष्ठानले विशेष गरी साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दियो । त्यस्तै, यसको स्थापनासँगै कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा केही काम भयो ।

यसअघि कला क्षेत्रको विकासका निम्ति नेपाल कला समितिको स्थापना भएको थियो । २०१९ सालमा नेपाल कला परिषद्को स्थापना भयो । अहिलेको जस्तो सहज परिवेश नभएको त्यसबेला विश्वप्रसिद्ध कलाकारका कलाकृतिको रिप्रोडक्सनको नेपालमा प्रदर्शनी गर्ने, कलाका विविध गतिविधि गर्ने लगायतका यस क्षेत्रको विकासमा योगदान दिने उद्देश्य परिषद्को रहेको थियो । २०२२ सालमा तत्कालीन युवराज वीरेन्द्रको अध्यक्षतामा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भयो ।

यसले कला प्रदर्शनी, प्रकाशन तथा देशव्यापी अभियान चलाउने काम ग¥यो । राष्ट्रिय स्तरको कला प्रदर्शनी, नियमित मासिक रुपमा कला प्रदर्शनी, सहुलियतमा कला सामग्रीो उपलब्धता, राजधानीभित्र र बाहिर कलाका विविध गतिविधिले कलाक्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्यो । प्रारम्भमा भएका यी अभ्यासले नेपालमा कलाको विकासमा महत्वपूर्ण योगदान दिन सक्यो भने संस्थागत जग पनि बसाल्यो ।

खासगरी नेपाल ललितकला संस्था (नाफा) को स्थापना नेपाली कला जगतका लागि संस्थागत विकासको महत्वपूर्ण कडीको रुपमा लिनुपर्ने हुन्छ । नाफाको स्थापनामा महत्वपूर्ण योगदान दिनुभएका अग्रज कलाकार ठाकुरप्रसाद मैनालीका अनुसार खासै कलाका गतिविधि नभएको त्यसबेला नाफाले कला क्षेत्रमा माहोल सिर्जना ग¥यो । यसै संस्थाले पछि आधुनिक तथा समकालीन कला संग्रहालयको स्थापना पनि ग¥यो ।

नेपालमा १९९१ सालमा खुलेको नेपाल आर्ट स्कुल (१९९५ सालपछि जुद्धकला पाठशाला) जुन २०२४ सालमा ललितकला महाविद्यालय तथा २०३० सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रही कला शिक्षणको काम भइरहेको छ । यस संस्थाले नेपाली कला क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला केन्द्रीय विभाग पनि खुलेको छ । जसबाट नेपालमै स्नातकोत्तर तथा पिएचडीसम्मको अध्ययन हुने वातावरण निर्माण भएको छ । त्यसैगरी काठमाडौं विश्वविद्यालय अन्तर्गत कला विभाग खुलेको

छ । लगभग डेढ दशकको बीचमा यसले नेपाली कला क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सकेको छ । त्रिविअन्तर्गत सिर्जना कलेज अफ फाइन आर्टस्ले पनि कला शिक्षामा महत्वपूर्ण सघाउँ पु¥याएको छ । यस्तै पहिला उच्चमाविअन्तर्गत प्लस टुमा ललितकला विषयको अध्ययन गर्ने वातावरण राज्यले गरेर केही भए पनि योगदान दिएको छ ।

प्लस टु अन्तर्गत सिर्जना कलेज, युनिर्भसल-न्यु समिट कलेज मैतिदेवी, बिजेश्वरी, नोवेल, एम्स, ब्लु बर्ड, बागेश्वरी भक्तपुर लगायतका कला संस्थाले प्लस टुमा ललितकला विषय पढाइरहेका छन् । मुख्यतया आर्ट ग्यालरीहरू जस्तै नाफामा रहेको कला ग्यालरी, नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी र पार्क ग्यालरी लगायतका कलादीर्घाले नेपाली कलाको विकास र अन्तर्राष्ट्रियकरणमा योगदान दिँदै आएका छन् ।

यी विभिन्न संंस्थामा सरकारको पहलको बाबजुद प्राविधिक पक्ष, सौन्दर्यशास्त्र र व्यक्तिगत कलाकारको प्रयोगको पक्षमा ध्यान केन्द्रित गर्दै आधुनिक तथा समकालीन कलालाई अझै पनि बौद्धिक र शैक्षिक रूपमा अगाडि बढाउने काम भइरहेको छ । हुनत चाहेजति काम हुन नसके पनि कमैमात्रामा भए पनि यसले गतिविधिलाई निरन्तरता दिइरहेका छन् । राज्य तथा बौद्धिक जगतले सांस्कृतिक, सामाजिक, बौद्धिक तथा शैक्षिक रुपमा पछाडि रहेको क्षेत्रको रूपमा कला क्षेत्रलाई हेरे पनि यसको सांस्कृतिक आयाम अन्तर्राष्ट्रिय रुपमै अतुलनीय रहेको कुरलाई नकार्न सकिन्न ।

२०४६ सालको आन्दोलनपछि नेपाली कलाले अझ फैलिने र झाँगिने अवसर पायो । देश विदेशमा यसका गतिविधि ह्वात्तै बढे । २०६२-६३ को जनआन्दोलनपछि नेपालमा कलाको विकासका निम्ति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अवधारणाले मूर्त रुप पायो । २०६४ भदौ ३१ म नेपाल सरकारले ऐन जारी गरेर ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बाटो खोल्यो । २०६६ सालमा औपचारिक रुपमा स्थापना भएको यस संस्थाले अहिले कलाक्षेत्रमा खोज अनुसन्धान, विविध गतिविधि तथा कला विकासका लागि काम गरिरहेको छ । हुनत अझै यस संस्थाले गर्नुपर्ने कार्ययोजना थुप्रै छन् तथापि कामको प्रारम्भ भने भएको छ ।

नेपालमा महिला कलाकारले पनि यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । नेपालमा महिला कलाकार पनि समकालीन कलाको रूपमा नारी अनुभवका साथ सन् ६० को दशकदेखि सक्रिय भए । समसामयिक रुपमा नेपाली महिला कलाकारले निर्माण गरेको कलाले सौन्दर्य शास्त्रबाट व्युत्पन्न कामबाट नेपाली कलामा फरक र परिवर्तन वा रुपान्तरणको आवाजलाई बल पुग्यो । यसले एक नयाँ सोच र धारणाको विकास गर्न मद्दत गर्यो ।

खासगरी लैंगिक समानता र विभेदका विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै जागरणको आभा बाले । नेपालमा अग्रज तथा नयाँ पुस्ताका समकालीन कलाकार नयाँ सोच,र अवधारणासहित अगाडि आएका छन् । उनीहरुले सामाजिक, सांस्कृतिक, प्राकृतिक, लैंगिक, सीमान्तकृत समुदायका विषय, राजनीतिक लगायतका विषयमा केन्द्रित रही कलाकृति बनाएका छन् । जसले नेपाली कलालाई अझै उचाई प्रदान गर्न मद्दत मिलेको छ । यसले नयाँ परिवेशमा कला अभ्यासलाई निरन्तरता दिन र नयाँ ढंगमा नेपालको कला र इतिहासलाई उचाइमा पुर्याउन सहयोग पुर्याइरहेको छ ।

प्रतिक्रिया