मास्कविना बजारमा हिँड्न नपाईने

मुगु । सदरमुकाम गमगढीमा मास्कविना हिँडडुलमा गर्न प्रतिबन्ध लगाईएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट गर्दै आएको बन्दाबन्दी हालै अन्त्य गरेको घोषणा गरेपनि कोरोना संक्रमण यथावत नै रहेको र सर्वसाधरणहरु कोरोना रोग निर्मुल भए झैँ जमघट–भेला हुने, सार्वजनिक कार्यक्रम गर्ने र मास्कविना हिँडडुल गर्न थालेपछि अब मास्कविना हिँडडुलमा प्रतिबन्ध लगाइएको हो ।बजारमा दिनानुदिन भीडभाड बढ्दै गएको र चहल पहल क्रमशः बढ्दै जाँदा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएको भन्दै मुगुका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज बजारमा मास्क वितरण गरेको छ ।

घरबाट बाहिर निस्कँदा मान्छेहरुसँग सम्पर्क भएर कोही कसैलाई कोेरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागि जनचेतना दिने उदेश्यले नेपाल रेडक्रस सोसाईटी मुगुका सभापति जयबहादुर मल्ल, युएमएन मुगु कलष्टरका व्यवस्थापक नेत्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको नेतृत्वमा शुक्रबार बजारमा मास्कविना हिँडडुल गर्ने व्यक्तिहरुलाई मास्क वितरण गरिएको हो ।

सरकारले लगाउँदै आएकोे लकडाउन अन्त्य गरिएको, तर जनमानसमा कोरोना अन्त्य भएको झैँ भान भएर मास्क नलगाई हिँडडुल गर्ने, भेला–जमघट हुने, सामाजिक दूरी पालना नगर्ने र पर्व परम्पराहरु निर्वाह संचालन गर्नेजस्ता कार्य बढ्न थालेकाले यस्ता कार्य नियन्त्रण गरि कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउन सर्वसाधारणहरुमा सचेतना आओस् भनेर बजारमा रेडक्रस, युएमएन, डिएसपी र आफ्नो सल्लाहमा मास्क वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

बजारमा मास्क नलगाई हिड्ने ३ सय जना जतीलाई आज मास्क वितरण गरेको र उहाँहरुलाई नियमित मास्क लगाउन भिडभाड नगर्न आग्रह गदै सल्लाह दिईएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए । प्रमुख व्यक्तिहरुको सहभागितामा गरिएको मास्क वितरण कार्यक्रममा नेपाल प्रहरी, रेडक्रस र युएमएनले कोरोना संक्रमणबाट बच्ने उपाय, कोरोनाका लक्षण र उपचारबारे ज्ञान दिने पर्चासमेत वितरण गरिएको पर्चा पढ्न नसक्नेहरुका लागि माईकिङ समेत गरिएको रेडक्रस मुगु शाखाका सभापति जयबहादुर मल्लले बताए ।

पहिलो चरणमा मास्क, पर्चा वितरण माईकिङ गर्ने कार्य गरेर कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना दिने काम भएको र भोलीका दिनमा कोरोना नियन्त्रणका लागि सरकारले गर्न नहुने भनेका कार्य गर्ने जो कोहिलाई नियन्त्रणमा लिई कारवाहिको भागीदार बनाउने स्थानिय प्रहरी प्रशासनले बताएको छ ।

मुगुमा हालसम्म २ जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भर्ने अर्का एक आईसेलेसनमा बसेका छन् । कोरोना संक्रमण देखिएका दुवैमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । उनीहरु सामान्य अवस्थामा रहेका थिए । मुगु जिल्लामा २ जना र जिल्ला बाहिर सुर्खेतमा गरिएको स्वाब परीक्षणमा ६ जना मुगालीहरुमा कोरोना संक्रमण देखिएकोमा ४ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया