खोजखबर

जसले कृत्रिम गर्भाधान पत्ता लगाइन्

मिरिअम मेन्किन २०७७ साउन १४ गते ६:३४ मा प्रकाशित

कैयौँ मान्छे सानो कामले पनि ठूलो परिचय बनाएका हुन्छन् । तर, मानव प्रजननको क्षेत्रमा नयाँ परिवर्तन ल्याइदिने महिला वैज्ञानिक मिरिअम मेन्किन निकै कम परिचित छिन् । उनै वैज्ञानिकको प्रजनन विज्ञताका कारण टेस्टट्युब विधिमार्फत् बच्चा जन्माउने बाटो खुलेको हो । मानव डिम्ब पहिलोपटक मानिसको शरीरभन्दा बाहिर सफलतापूर्वक निषेचन गर्ने उनै हुन् ।

हार्भर्ड विश्वविद्यालयका प्रजननविज्ञ जोन रकको प्राविधिकको रूपमा मेन्किनको लक्ष्य डिम्बलाई मानव शरीरबाहिर पनि प्रजननयोग्य बनाउनु थियो । रकको योजनाको पहिलो खुड्किलो बाँझोपनको निराकरण गर्नु थियो । गर्भाशय स्वस्थ तर डिम्बवाहिनी नली काम नलाग्ने भएका महिलाको उपचार गर्ने उनको उद्देश्य थियो । उनले आफूकहाँ जँचाउन आउने पाँचमध्ये एक महिलामा बाँझोपनको समस्या देखेका थिए ।

निरन्तर ६ वर्षको प्रयासपछि मेन्किन सन् १९४४ को फेब्रुअरी महिनामा सफल भइन् । उनले आफ्नो प्रयोगशालामा डिम्बसँगै राखिएको वीर्य प्रजननयोग्य भएको चमत्कार देखिन् । शिशाको भाँडोमा मानव भ्रुण बन्न थालेको थियो । त्यो बाँझोपना भएका महिला गर्भवती बन्ने सपना साकार गर्दै बच्चा जन्माउने प्रविधिको नयाँ युगमा लग्न सक्ने सफलता थियो ।

शरीरबाहिर शुक्रकीट र डिम्ब निषेचन गरेर अर्थात् आइभिएफ (इन भिट्रो फर्जिलाइजेसन) विधिबाट सन् १९७८ मा पहिलो शिशु लुइस ब्राउनको जन्म भयो । लगत्तै आइभिएफ विधि ठूलो व्यापार बन्न पुग्यो । उनको यो सफलता कुनै दुर्घटना थिएन । खोजका अन्य महान् उपलब्धिजस्तै यो पनि उनको वर्षौं लामो अनुसन्धान, पटकपटक एउटै प्रयोग गर्ने धैर्य र प्राविधिक निपुणताको परिणाम थियो ।

तर, इतिहासले उनको भूमिकालाई अँगालेन । डा. रकको जस्तो उनको पहिचान बनेन । प्राविधिक, अनुसन्धान सहायक, डाक्टर मेन्किन, बायोलोजिस्ट आदि भनेर उनलाई सम्बोधन गरिँदै आएको छ । एक हिसाबले ती सबै सत्य हुन् । नोर्थवेस्ट विश्वविद्यालयको फाइनबर्ग स्कुल अफ मेडिसिनकी प्राध्यापक टरिजा वुड्रफका भनाइमा मेन्किन उनको परिचय डा. रकको सहायकमा मात्र सीमित थिएन ।

रट्गर्स युनिभर्सिटीकी इतिहासकार मार्गरेट मार्श त्यसमा सहमत छिन् । ‘रक वास्तवमा एक चिकित्सक थिए,’ मार्श भन्छिन्, ‘तर मेन्किन वैज्ञानिकको मस्तिष्क, लगन र विश्वाससहितकी एक वैज्ञानिक थिइन् ।’

मार्शले सन् २००८ मा वेन्डा रोनरसँग मिलेर लेखेको रकको जीवनी ‘फर्टिलिटी डक्टरः जोन रक एन्ड द रिप्रडक्टिभ रेभलुसन’ मा मेन्किनको कथा उत्खनन गरेकी छन् । तर पछि फर्किएर हेर्दा मार्शलाई रकको अनुसन्धान सहायकको रूपमा मात्र प्रस्तुत गरेकोमा पछुतो लागेको उनले बताएकी छन् । तर अर्को पुस्तकमा उनलाई पूरा श्रेय दिने मार्शको भनाइ छ ।

मिरिअम फ्रीडमनको जन्म सन् १९०१ को अगस्तमा युरोपेली देश लात्भियाको राजधानी रिगामा भएको थियो । उनी सानै छँदा परिवार अमेरिका गयो । पेसाले चिकित्सक बुबाको आम्दानीले उनको बाल्यकाल सुविधासम्पन्न थियो । सुत्ने बेला बुबाले विज्ञानले कसरी छिट्टै मधुमेहको उपचार पत्ता लगाउँछ भन्ने सुनाउँथे । उनले कोर्नेल युनिभर्सिटीबाट सन् १९२२ मा शरीरविज्ञान र तन्त्रुशास्त्रमा स्नातक गरेर विज्ञानको क्षेत्रमा आकर्षक रूपमा पदार्पण गरिन् ।

अर्को वर्ष कोलम्बिया विश्वविद्यालयबाट उनले आणुवंशिक विज्ञानमा स्नातकोत्तर गरिन् र न्युयोर्कमा जीव र भौतिक विज्ञानको छोटो तालिम लिइन् । बुबाको पदचाप अनुसरण गर्न उनी चिकित्साशास्त्र अध्ययन गर्न चाहन्थिन् । तर देशका दुई प्रख्यात मेडिकल कलेजबाट उनी अस्वीकृत भइन् । महिला भएकाले त्यसो भएको निश्चितजस्तै छ । त्यस बेला निकै कम विशिष्ट खालका मेडिकल कलेजमा मात्र महिलालाई भर्ना लिइन्थ्यो । हार्भर्डजस्तो विश्वविद्यालयले सन् १९४५ महिलालाई पहिलोपटक भर्ना लिएको थियो ।

उनको विवाह हार्भर्डका विद्यार्थी भेली मेन्किनसँग भयो । प्रजनन र ब्याक्टेरियाबारे अध्ययन गर्दै उनी आफ्ना पतिलाई पनि सहयोग गर्न थालिन् । त्यही क्रममा उनको भेट हार्भर्डका जीववैज्ञानिक ग्रेगरी पिन्कससँग भयो । जसले रकसँग मिलेर गर्भनिरोधक औषधि पत्ता लगाए ।

पिन्कसले भाले खरायोबिना नै खरायोको बच्चा जन्माएका थिए । त्यसमा उनले मिरिअम मेन्किनको सहयोग लिएका थिए । उनलाई पोथी खरायोबाट दुईथरी हर्मोन निकाल्न भनियो । मेन्किनले निकै कुशलतापूर्वक त्यो जिम्मेवारी पूरा गरेकी थिइन् । तर प्रयोगशालामा उनको अवधि छोटो रह्यो । पिन्कसको समयावधि सन् १९३७ मा थपिएन । उनी इंग्ल्यान्ड फर्किए । मेन्किनले जागिर गुमाउने अवस्था आयो ।

प्रजननविज्ञको रूपमा देखापरेका जोन रकले त्यो अनुसन्धान परियोजना फेरि सुरु गर्न खोजे । उनको प्रयोगशालामा काम गर्न मेन्किनले आवेदन दिइन् र स्वीकृत भइन् । मार्शका अनुसार डा. रक निकै प्रतिभाशाली र ज्ञानी थिए । तर, उनमा अनुसन्धान प्रयोगशालामा आवश्यक हुने धैर्यको कमी थियो । मेन्किनमा भने त्यसको अभाव थिएन ।

डा. रक एउटा परोपकारी अस्पतालमा पनि काम गर्थे । मिरिअम मेन्किन बिहान ८ बजे पुग्थिन् । रकले बिरामीबाट निकालेको डिम्बाशयको सानो टुक्रा दिन्थे । उनी भ¥याङ उक्लिएर चौथो तलामा रहेको प्रयोगशालामा लिएर जान्थिन् र डिम्बको खोजी गर्थिन् ।

त्यो काम गर्न धेरैलाई वस्तुको आकार ठूलो देकाउने सिसा चाहिन्थ्यो । तर, मेन्किन नांगो आँखाले नै पहिल्याउँथिन् । अनि त्यो डिम्ब सामान्य अवस्थामा छ वा आकारमा गडबडी छ कि छैनसमेत भन्थिन् । मंगलबार डिम्ब खोज्ने, बुधबार त्यसमा शुक्राणु मिलाउने, बिहीबार त्यसको निम्ति प्रार्थना गर्ने र शुक्रबार त्यसलाई सूक्ष्मदर्शक यन्त्रबाट हेर्ने । उनको नियमित काम थियो । निरन्तर ६ वर्ष काम गरेपछि सन् १९४४ को फेब्रुअरी महिनाको एउटा शुक्रबारका दिन भने उनलाई सफलता मिल्यो ।

वर्षौंको परिश्रमपछि सिसाको भाँडोमा मानव भ्रुण देखेपछि उनी हर्षविभोर भइन् । तर उनको त्यो प्रयासमा त्यहीँ पूर्णविराम लाग्यो । त्यही बेला उनका पतिको जागिर सकियो । सबै जना नोर्थ क्यारलाइनाको ड्यूक युनिभर्सिटी जानुप¥यो । जहाँ आइभिएफलाई अस्विकार गरिन्थ्यो । जागिरका सिलसिलामा पति जता गए, उनी आफ्नो सपना पछ्याउँदै त्यतै गइन् । तर, खासै सफलता प्राप्त भएन ।

उनी डा. रकसँग सम्पर्कमा पनि थिइन् । दुवैले सन् १९४८ मा आइभिएफबारे खोजपूर्ण लेख प्रकाशित गरे । त्यसमा पहिलो लेखकको रूपमा उनको नाम थियो । पतिले वर्षौंदेखि खर्च नदिने र बच्चाहरूको अगाडि हिंसा गर्ने गर्थे । त्यो नरोकिएपछि उनले आत्महत्या भन्दा सम्बन्धविच्छेद रोजिन र कानुनी प्रक्रिया अघि बढाइन् । एउटी छोरी उनीसँग रहिन् । छोरीलाई छारेरोग लागेकाले राती र सप्ताहान्तमा अनुसन्धान प्रयोगशाला निःशुल्क प्रयोग गर्न पाउने अवसर पनि स्वीकार गर्न नसक्ने भइन् ।

सन् १९५० मा फर्किएर बोस्टन गइन् । छोरीलाई विद्यालय भर्ना गरिन् । रकसँग प्रयोगशालामा काम गर्न थालिन् । अब भने केही परिवर्तन आयो । अब बच्चा जन्माउनेभन्दा पनि जन्माउन रोक्ने उद्देश्य थियो । रकको आफ्नै प्रयोगशाला थियो । उनी गर्भनिरोधकको नयाँ तरिकाबारे काम गर्दै थिए । दुवै त्यो काममा लागे ।

दुवैले त्यसबारे कैयौँ लेख प्रकाशित गरे । तर मिरिअम मेन्किनको पहिलो सफलता आइभिएफ थियो । उनले बाँझोपन भएका महिलाको एउटा सपना पूरा गर्ने प्रविधि दिइन् । त्यसमा उनलाई गर्व पनि थियो । तर आफू त्यसरी बच्चा जन्माउने पक्षधर नभएको उनले एक संवाददातालाई बताएकी थिइन् ।

मिरिअम मेन्किनको जीवन फरक ढंगले अघि बढेको भए, यदि उनले भेलीसँग बिहे नगरेको भए वा उनले विद्यावारिधि गर्न पाएको भए उनले जीवनमा के प्राप्त गर्न सक्थिन् भन्ने थाहा पाउन निकै गाह्रो छ । (बिबिसी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय