बजारमुखी कलाकृति रचना गर्ने प्रवृत्ति हावी छ

नवीन्द्रमान राजभण्डारी, कलाकार कलालेखक तथा कला अध्यापकका रुपमा परिचित हुनुहुन्छ । चार दशकभन्दा लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय राजभण्डारीको हालै सिर्जना कलेज अफ फाइन आर्टस्को प्रकाशनमा ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तककोदोस्रो भाग बजारमा आएको छ । यसअघि उहाँको ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पहिलो भाग नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो ।

१८ वर्षअघि नेपाल ललितकला संस्था (नाफा) द्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसक्नुभएका राजभण्डारीले देश विदेशमा दर्जनौं पटक कला प्रदर्शनी गर्नुभएको छ । नेपाल सरकारको निसानछापको डिजाइनसमेत गर्नुभएका राजभण्डारीले युव कलाकार समूहले प्रकाशन गरेको ‘माध्यम’ त्रैमासिक तथा सिर्जना कलेज अफ फाइन आर्टस्को प्रकाशन ‘सिर्जना’ को सम्पादन गर्नुभएको छ ।

विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक तथा अन्य साहित्यिक पत्रपत्रिकामा कलासम्बन्धी लेखरचना प्रकाशित गर्दै आउनुभएका उहाँले पाठ्यविकास केन्द्र सानोठिमीमा रहेर ३८ वर्षसम्म अनेकौं पाठ्यपुस्तक तथा बाल सन्दर्भ सामग्रीहरुका लागि डिजाइनको काम गर्नुभएको छ । अहिले सिर्जना कलेज अफ फाइन आर्टस्को भाइसप्रिन्सिपलका रुपमा कार्यरत् राजभण्डारीसँग विश्वकला, नेपाली कला तथा यससँग सम्बन्धित विषयमा केन्द्रित रही सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानीः

यहाँको पछिल्लो पुस्तक पाश्चात्य कलाका बारेमा बताइदिनुस् न ।
‘पाश्चात्य कलाको सङ्क्षिप्त इतिहास’ लेखनका व्रmममा ‘पहिलो भाग’ प्रकाशित भएको ठिक सात वर्षको अन्तरालमा यो ‘दोस्रो भाग’ प्रकाशित भएको छ । पाश्चात्य कलाबारे नेपाली भाषामा पुस्तकको उपलब्धता होस् भन्ने चाहना राख्ने पाठकहरूको माग र आवश्यकतालाई यस पुस्तकले सम्बोधन गर्ने छ भन्ने विश्वास लिएको छु । पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको छ भने यो दोस्रो भागमा सत्रौँ शताब्दीको बरोक कलादेखि बिसौँ शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारहरूबारे सङ्क्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ ।

पाश्चात्य कलाको इतिहास निकै बृहत् रहेको छ । कुनै निश्चित कालखण्डको कला, कुनै शैली वा वाद विशेष वा एक जना कलाकारका बारेमा मात्रै केन्द्रित रही विदेशी भाषामा लेखिएका अनगिन्ती ग्रन्थहरू प्रकाशित भएका छन्, र भविष्यमा अरू धेरै आउने व्रmम जारी रहने छ । ‘पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास, पहिलो भाग र दोस्रो भाग’ मा पाश्चात्य कलाको इतिहासको व्रmम, त्यसमा विशिष्ट महत्त्व राख्ने कला शैली, कला आन्दोलन तथा कलाकारहरूबारे सङ्क्षेपमा मात्र जानकारी समेट्न सकिएको यथार्थप्रति लेखकको स्वीकारोक्ति रहेको छ ।

 कलाकारका लागि विश्वकलाको इतिहासबारे ज्ञानको आवश्यकता कत्तिको छ ?
एक जना कलाकारका लागि विश्व कलाको इतिहासबारे सामान्य जानकारी अपरिहार्य हुन्छ जस्तो लाग्छ । किनभने हिजोका दिनको कलालाई बुझेर नै आजको कला सिर्जना भइरहेको छ, र आजको कला नै भोलि आउने कलाका लागि पृष्ठभूमि बन्ने छ ।

विश्वकलाको इतिहासलाई नियाल्दा नेपाली कलाको उपस्थिति कस्तो रहेको पाउनुहुन्छ ?
विश्व कलाको परिप्रेक्ष्यमा पाश्चात्य कला जगत्मा जस्तै यताको पूर्वीय कला र हाम्रै नेपालमा पनि आफ्नै मौलिक परम्परामा आधारित कला सिर्जनाहरू भएका थिए, र भइरहेका छन् । यस अतिरिक्त पछिल्ला कालखण्डमा आएर नेपाली कलाकारले पनि पाश्चात्य कलाका विविध शैली र वाददेखि प्रभावित भएर काम गर्दै आएका छन् । यस अर्थमा नेपाली कलाको उपस्थिति अर्थपूर्ण रहेको मान्न सकिन्छ ।

 पुस्तकमा पाश्चात्य कलाका विविध आयामका बारेमा चर्चा गरिएको छ । खासमा कलाको विकासमा प्रभाव पार्ने मुख्य तत्त्व के रहेछ ?
कुनै पनि मुलुक वा समुदाय विशेषको कला उत्थानमा समसामयिक राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक आदि पक्षले प्रभाव पारिरहेको हुन्छ । कलाको विकासमा कलाप्रति समाजको दृष्टिकोण र रुचिले सर्वाधिक भूमिका खेल्छ जस्तो लाग्छ । कलाप्रति राज्यको अनुराग र संरक्षणले त झन् सर्वोपरि महत्त्व राख्छ ।

राजनीतिले कला आन्दोलनमा कस्तो असर पारेको देखिन्छ ?
कला आन्दोलनमा राजनीतिले असर पारेका उदाहरणहरू पाइन्छन् (ज्वलन्त उदाहरण — दुई ओटा विश्वयुद्धपश्चात् देखापरेका कला आन्दोलनहरू) । अपितु कतिपय कला आन्दोलन वा अभियानहरू राजनीतिबाट प्रेरित देखिँदैन । बरु तत्कालीन सामाजिक एवम् आर्थिक गतिविधिबाट ती बढी उत्प्रेरित रहेका छन् ।

यहाँ कला सिर्जनामा पनि उत्तिकै सव्रिmय हुनुहुन्छ । यहाँका कलाकृति र तिनका प्रवृत्तिका बारेमा बताइदिनुस् न ।
आफ्नो कलालाई म चलनचल्तीमा रहेको आधुनिक धारको कला भन्न रुचाउँछु ।आधुनिक कला रचनामा पनि कलाका आधारभूत नियमलाई पछ्याइएको हुनुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ । मेरा रचनाले दर्शकलाई केही हदसम्म भए पनि ‘चाक्षुष आनन्द’ दिन सक्यो भने आफ्नो सिर्जनाको अभीष्ट पूर्ण भएको सम्झिन्छु ।

 हुनत यहाँका कलाकृतिमा आवेग र संवेगको लयात्मक प्रस्तुतिको प्रधानता रहेको पाइन्छ नि ?यी विषय आउनुको मुख्यस्रोत केलाई मान्नुहुन्छ ?
सिर्जनशील कलाकार सधैँ एउटै विषयवस्तु र शैलीमा सीमित रहँदैन । समयको प्रवाहसँगै उसको सिर्जनाका स्वरूपहरू पनि बदलिँदै गइरहेको हुन्छ । ममा पनि यो कुरा लागु हुन्छ । वर्तमान सन्दर्भमा म वैदिक शब्दावलीहरू, जस्तै ः ‘पञ्चतत्त्व’, ‘तमसोमाज्योतिर्गमय’, ‘सर्वेभवन्तु सुखिनः’ आदिलाई सरलीकृत अमूर्त स्वरूपमा अङ्कन गर्न मन पराउँछु ।

 कलामा हुनुपर्ने मुख्य मौलिक विषय के होला ?
यो त कलाकारको वैयक्तिक रुचि, अध्ययन र झुकाव तथा उसको शिल्प दक्षतामा निर्भर रहन्छ ।

नेपाली कलाको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
नेपाली कलाको अवस्था (सिर्जनाका दृष्टिले) सन्तोषजनक नै छ जस्तो लाग्छ ।

शैली र आन्दोलनका दृष्टिले नेपाली कलामा रहेका सकारात्मक र नकारात्मक विषय के हुन् ?
सबैभन्दा सकारात्मक पक्ष— हामीकहाँ कलाकारको सङ्ख्या आशातीत रूपमा बढिरहेको छ । फलतः सिर्जनाको बाढी नै आइरहेको छ, र विविध माध्यम, विषय, ढाँचा एवम् शैलीका कामहरू देखापरिरहेका छन् । नेपाल जस्तो दयनीय आर्थिक हैसियत भएको मुलुकका सन्दर्भमा

यस स्थितिलाई आश्चर्यजनक र सकारात्मक दुवै अर्थले हेर्न सकिन्छ ।
नकारात्मक पक्ष — हाम्रा कतिपय कलाकारमा पठन संस्कृति छैन । कला रचनाका लागि आवश्यक अनुसन्धान गर्ने बानी छैन । तत्कालको लोकप्रियताका पछाडि दौडिने, र बजारमुखी कलाकृति रचना गर्ने प्रवृत्तिहावी छ ।

समाज रूपान्तरणमा कलाको भूमिका कस्तो रहिआएको पाउनुभएको छ ?
कलाकै कारण रातारात समाजको रूपान्तरण भएको त मलाई थाहा भएन, अपितु समाज रूपान्तरणमा निःशन्देह कलाले पनि प्रभाव पार्न सक्छ, र यसका उदाहरणहरू पनि छन् ।

 नेपाली कलाको खोज अनुसन्धानले सही दिशा समात्न अझै सकिरहेको छैन । किन यस्तो भइरहेको छ ?
किन भन्ने ठोस जवाफ त मसँग छैन । खोज अनुसन्धान भनेको चानचुन कुरा होइन । यो निकै दुरुह क्षेत्र हो । यसका लागि निकै मिहिनेत, लगन र अध्ययनको आवश्यकता पर्छ । हामीसँग त्यस्ता लगनशील र अध्ययनशील व्यक्तिहरू निकै सीमित सङ्ख्यामा छन् । कला विधामा खोज अनुसन्धानमा लागिपरिहेका र यस क्षेत्रमा अगाडि आउन चाहनेहरूका लागि न्यूनतम प्रोत्साहन पनि प्राप्य छैन ।नेपाली कला क्षेत्रका अनेकौँ दुर्भाग्यमध्ये यो पनि पर्छ ।

नेपाली कलाको इतिहास लेखनको परम्परा कस्तो रहेको छ ? खासमा सही ढङ्गमा लेखिएको छैन नि ?
हामीकहाँ कला रचना गर्नेहरूको तुलनामा कलाबारे लेख्ने व्यक्तिहरूको सङ्ख्या एकदम न्यून छ । त्यसमा पनि नेपाली कलाको इतिहास नै लेख्छु भनेर कम्मर कस्नेहरू त झन् विरलै छन् । अहिलेलाई नारायणबहादुर सिंह, मदन चित्रकार, मुकेश मल्ल, ज्ञानेन्द्र विवश, सरोज बज्राचार्य आदिद्वारा लिखित नेपाली तथा अंग्रेजी भाषामा लेखिएका नेपाली कलाका इतिहाससँग सम्बन्धित केही पुस्तकहरू पढेर नै सन्तुष्टि लिनुपर्ने अवस्था छ । यस अर्थमा नेपाली कलाको इतिहास लेखनको परम्परालाई त्यति उत्साहप्रद मान्न सकिँदैन जस्तो लाग्छ ।
 

के कारणले यतातिर विश्वविद्यालय र प्रतिष्ठानको ध्यान जान सकेको छैन ।
प्रतिष्ठान भन्नाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई इङ्गित गर्नुभएको होला ।नेपाली कलाको इतिहास लेखनको परम्परालाई प्रोत्साहित गर्ने सन्दर्भमा ललितकला प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो, र यो उसको जिम्मेवारी पनि हो । हामीकहाँ ललितकला प्रज्ञा–प्रतिष्ठान अस्तित्वमा आएको एक दशक नाघिसक्यो, र यस अवधिमा हाम्रो प्रज्ञा–प्रतिष्ठान ‘विद्यालयस्तरीय कार्यव्रmमहरू’ सञ्चालन गर्नमा नै बढी रमाइरहेको छ ।

खोज तथा अनुसन्धानमूलक ग्रन्थहरू लेख्न लगाइनुपर्छ, र तिनको प्रकाशन गरिनुपर्छ भन्ने बोध र चेत कलाकारहरूको प्रज्ञा–प्रतिष्ठानलाई छ जस्तो मलाई लाग्दैन । अरू कुरा छाडौँ — तत्कालीन नेपाल ललितकला संस्था (नाफा) अन्तर्गत सञ्चालित वीरेन्द्र आर्ट ग्यालरीको सङ्कलनमा रहेका नेपाली कलाकारहरूका अमूल्य कलाकृतिहरू (हाल प्रज्ञा–प्रतिष्ठानको स्वामित्वमा रहेका) बारे विवरण समेटिएको एउटा गतिलो पुस्तकसम्म निकाल्न पाए नेपाली कलाको इतिहासलाई जीवित राख्ने दिशामा ठुलो गुन लाग्ने थियो ।

नेपाली कला परम्परालाई पश्चिमा चिन्तन रशैलीले थिचेको छ नि ?
मेरो दृष्टिकोणमा समस्त विश्व नै पश्चिमा शिक्षा पद्धति, विज्ञान प्रविधि, संस्कृति एवम्जीवनशैलीदेखि प्रभावित रहेको अवस्थामा नेपाली कला परम्परालाई पश्चिमा चिन्तन र शैलीले थिच्यो भनेर रोइकराइ गर्नुको कुनै औचित्य छैन । हाम्रा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षा पश्चिमा शिक्षण प्रणालीमा आधारित छ । कला शिक्षाले पनि त्यसैलाई अनुकरण गरेको छ ।

बरु मननीय कुरो — एकातिर हाम्रो धार्मिक परम्परामा आधारित मौलिक नेपाली कलामा काम गर्ने प्रतिभाशाली कलाकारहरू हामीसँग छन् भने आधुनिक कलामा पनि नेपाली धार्मिक, सांस्कृतिक एवम् सामाजिक विम्ब तथा विषयलाई समेटेर काम गर्ने कलाकारहरू पनि प्रशस्त छन् । यस्तो अवस्थामा हाम्रो कलालाई पश्चिमा चिन्तन र शैलीले थिचे भन्नु सान्दर्भिक होला र ? मेरो बुझाइमा पश्चिमा होस् वा पूर्वीय — राम्रा पक्षहरूलाई आत्मसात् गरिनुपर्छ, र तिनलाई आफ्ना सन्दर्भमा मिल्ने गरी अवलम्बन गरिनुपर्छ ।

हामीले हाम्रो मौलिक परम्परा र चिन्तनलाई सापेक्षित ढङ्गले विकास गर्न के गर्नुपर्ला ?
उच्च शिक्षा तहको ललितकला विषयका पाठ्यव्रmममा नेपाली परम्परागत कला पनि समाविष्ट भइसकेको छ । नेपाली मौलिक कलाका परम्परालाई औपचारिक शिक्षा प्रणालीभित्र ल्याउन पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ । सुरुका वर्ष भएकाले यी विषयका शिक्षण–सिकाइ व्रिmयाकलापमा स्वाभावतः केही कठिनाइहरू होलान्, किन्तु व्रmमशः सुधार गर्दै परम्परागत शैलीमा काम गर्ने सिद्धहस्त कलाकारहरूजन्माउन सकिनेमा विश्वस्त रहन सकिन्छ । यससँगै परम्परागत नेपाली कला समयसापेक्ष ढङ्गले मौलाउँदै जानेमा आशावादी बन्न सकिन्छ ।

 विद्यालय तथा विश्वविद्यालय स्तरीय पाठ्यव्रmममा पनि नेपाली कला र कलाकारको विषय निकै कम पढ्न पाइन्छ । यस्तो के कारणले हुन गएको होला ?
कला र कलाकारप्रति अज्ञान र उपेक्षाका कारण नै विद्यालय तथा विश्वविद्यालयस्तरीय पाठ्यव्रmममा नेपाली कला र कलाकारले समुचित स्थान नपाएको हो । आशा गरौँ, स्थिति सधैँ यस्तो रहने छैन । विद्यालयस्तरीय सामाजिक शिक्षा विषयका पाठ्यव्रmम र पाठ्यपुस्तकहरूमा कला र कलाकारहरूबारे थोरबहुत जानकारी समावेश गर्न सकिएको खण्डमा आजका विद्यार्थी भाइबहिनीहरू भोलिका दिनमा कला अनुरागी नागरिक बन्ने थिए ।

 नेपाली कलाको विकास र समृद्धिका लागि के गर्नुपर्ला ? यसमा कसको भूमिका बढी प्रभावकारी हुन्छ ?
हामी नेपाली कलाकारहरू साँच्चिकै धैर्यवान् छौँ भन्नुपर्छ । कलाप्रति रुचि राख्ने समुदाय छैन, कलाकारका रचनाबारे ढङ्गसँग लेखिदिने समीक्षकहरू छैनन्, धनीमानी भनाउँदाहरूमा कलाकृति खरिद गरी सङ्ग्रह गर्ने संस्कृति छैन, र सबैभन्दा दुर्भाग्यपूर्ण यथार्थ — राज्यबाट कला विकासका लागि कुनै संरक्षण प्राप्त छैन । यस्तो सर्वथा प्रतिकूल अवस्थामा पनि दिनहुँ कला प्रदर्शनीहरू भइरहेका छन् — व्यक्तिगत एवम् सामुदायिक स्तरमा प्रशस्त कला गतिविधिहरू भइरहेका छन् । यसलाई म नेपाली कला क्षेत्रको ‘आश्चर्यजनक स्थिति’ भन्छु ।

नेपाली कलाको विकास र समृद्धिका लागि प्रथमतः कलाकारहरूले इमान्दारीपूर्वक कला साधना गर्नुपर्छ । सस्ता र कमसल कला रचना गर्नु हुँदैन । सस्तो लोकप्रियताका पछाडि दौडादौड गर्नु हुँदैन । उत्कृष्ट रचनाको आज नभए भोलि कदर हुन्छ नै, किन हतार गर्ने !
दोस्रो — वर्तमान सन्दर्भमा हामीकहाँ औपचारिक कला शिक्षाले केही गति लिन थालेको छ । यसलाई अझ मलजल गर्नु आवश्यक छ । भोलि प्रतिभाशाली कलाकारहरू जन्माउनमा कला शिक्षाको नै योगदान रहने छ । अतः कला शिक्षण संस्थाहरूलाई सबल र सक्षम बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।

तेस्रो — राज्यस्तरबाट स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले खुद्रा कला प्रदर्शनी तथा कला कार्यशालाहरूका बदला बृहत्तर कार्यहरू, जस्तैः खोज तथा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय स्तरका कला महोत्सवहरूको आयोजना गर्ने, कला लेखकहरूलाई विद्वतवृत्ति दिएर कला सम्बन्धी महत्त्वपूर्ण ग्रन्थहरू लेख्न लगाउने, राष्ट्रिय स्तरको कला सङ्ग्रहालय स्थापना गर्ने जस्ता गहकिला कार्य गरोस् भन्ने हामी समस्त कलाकारहरूको आकाङ्क्षा र आग्रह छ ।

प्रतिक्रिया