सचित्रको कोशेली बजारमा

काठमाडौं । बालबालिकाको मनोविज्ञानमा आधारित विभिन्न १० स्रष्टाका सचित्र किताबको कोशेली बजारमा आएको छ । सचित्र किताब प्रालिले प्रकाशन गरेका ती पुस्तकमा भूत, लोभी कुकुर, चुलबुले च्यान्टु, के पो गर्ने खै ?, गाउँ खाने कथा, कथा भन्ने खाट, आकारको घाउ, उपहार, चकचके खरायो र प्यारी रहेका छन् । इसपले लेखेको कथा ‘लोभी कुकुर’ निकै रमाइलो ज्ञानबद्र्धक रहेको छ ।

कृष्णदीप सिग्देलले नेपालीमा पुनर्लेखन गरेको यस कथामा सोनाम तामाङले चित्र बनाएका छन् । यो थोरै शब्दमा सन्देशमूलक रुपमा धेरै कथा भन्ज्ञने पुस्तक हो । इसापूर्व ६२० मा जन्मिएका इसपले लेखेको यस कथा नेपाली परिवेशअनुसार बढाइ रोचक ढंगले प्रस्तुत गरिएको छ । रोशन पोखरेलले लेखेको अर्को कथा ‘भूत’ हो । यो कथामा अनिलको एक रातमा भएको घटनालाई आकर्षक रुपमा चित्रण गरिएको छ । अनिल राति सुतेको बेला भूतको झल्को देख्ने विषय कथा आएको छ ।

सुमन महर्जनको बनाएका चित्रले कथालाई निकै रोचक बनाएको छ । कथा रहस्यमय ढंगले अगाडि बढ्छ ।  कृष्णदीप सिग्देलले लेखेको अर्को कथा ‘चुलबुले च्यान्टु’ हो । यसमा एउटा चकचक गर्ने सानो बाँदरको कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ । सानो बाँदर उसकी आमाले नगर भनेको कुरा लुकीलुकी गर्छ । यस कथामा सोनाम तामाङले नै आकर्षक चित्र बनाएका छन् । बाल मनोविज्ञानमा आधारित रहेर रमाइलो ढंगले कथा प्रस्तुत गरिएको छ । कथामा चकचक गर्ने च्यान्टु बाँदरले चोट पाउँछ ।

निर्मला चापागाईले लेखेको ‘के पो गर्ने खै ?’ कथामा चर्चित कार्टुनिस्ट अविन श्रेष्ठले चित्र बनाएका छन् । यस कथामा बालबालिकामा उठ्ने जिज्ञासालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बालबालिकाका मनमा उठ्ने अनेकन् प्रश्नलाई चित्रकारले निकै आकर्षक रुपमा बनाएका छन् । यस किताबमा थोरै शब्द र धेरै चित्र रहेका छन् । किताबको शीर्षकमै प्रश्न राखिएको छ । कथाले बालबालिकालाई जिज्ञासु बन्न अभिप्रेरित गरेको छ ।

कृष्णदीप सिग्देलले सम्पादन गरेको ‘गाउँखाने कथा’ मा चित्रकार शोभितमान बानियाले चित्र बनाएका छन् । विविध गाउँ खाने कथालाई रोचक ढंगले क्लु दिएर सोधिएका प्रश्नलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । प्रश्नयुक्त यस्ता कथाहरुले बालबालिकाको स्मरणशक्ति मजबुत बनाउन सहयोग गर्छ । साथै उनीहरुलाई नयाँ नयाँ विषयमा प्रश्न र उत्तर खोज्न अभिप्रेरित गर्न सहयोग पु¥याउँछ । चित्रकार बनियाले एउटा पानामा एउटा प्रश्न सोधेका छन् र अर्को पानामा सम्बन्धित विषयमा आधारित रहेर चित्र बनाएका छन् । बालबालिकाले त्यसलाई अनुमान गर्दै सही उत्तर दिन सक्छन् ।

शाश्वत पराजुलीले ‘कथा भन्ने खाट’ मा छोराछोरीका कुरालाई बाआमाले सुन्नुपर्छ भन्ने विषयलाई रोचक रुपमा प्रस्तुत गरिएको छ । कथामा चित्रकार कृष्णगोपाल श्रेष्ठले बनाएका चित्रले बालबालिकालाई तान्छ । कथामा मिलनलाई बाआमाले खाट बेच्ने कुरा मन पर्दैन । हजुरबाको त्यो पुरानो कथा भन्ने खाट बेच्ने कुराले मिलन दिक्दार बनेको छ । उसको कुरा मिलनका बाआमाले कुरा बुझेका हुँदैनन् । मोवाइलको लतले बालबालिकामा नराम्रो असर गर्छ भन्ने विषयमा लेखिएको कथा ‘आकारको घाउ’ हो । रत्न प्रजापतिले लेखेको यो कथामा समित श्रेष्ठले निकै राम्रा चित्र बनाएका छन् ।

कथामा आकारको साथीको रुपमा मोवाइल हुन्छ । आकार मोबाइलसँग खेल्न मनपराउँछ । मोबाइलसँग खेल्दा खेल्दा उसका आँखा कमजोर बन्छन् भने पढाइ पनि बिग्रदै जान्छ । उ साथीहरुसँग हेलमेल हुन रुचाउँदैनन् यसै कारण उसका साथीहरु टाढा हुन्छन् । आकारको व्यवहारले साथीले पनि उसलाई मन पराउँदैनन् ।

यही विषयमा लेखिएको कथाले बालबालिकाको मनोविज्ञानलाई कलात्मक रुपमा उठान गरेको छ । सचित्र किताब कोशेलीमा प्रसिद्ध बियाट्रिक्स पोटरले लेखेको ‘चकचके खरायो’ बालमनोविज्ञानमा लेखिएको कथा हो । किताबमा पोटरकै चित्र रहेको छ । कृष्णदीप सिग्देलले नेपालीमा अनुवाद गरेको कथामा बादल नाम गरेको साहसी खरायो रहेको छ ।

त्यसैगरी सिर्जना शर्माको कथा तथा नीलम भुर्तेलले चित्र रहेको अर्को किताब ‘उपहार’ हो । आदित्यको जन्मदिनको विषयमा लेखिएको यस कथामा के उपहार दिने दुविधा परेको डिलु विषयलाई प्रस्तुत गरिएको छ । पैसा नभएका कारण डिलुले आदित्यको जन्मदिनमा के उपहार दिने भन्ने समस्यालाई कथामा उधिनिएको छ । कथामा मौलिक खानलाई महत्व दिनुपर्छ भन्ने सन्देश दिएको छ ।

त्यस्तै, सुशीला खनालले लेखेको किताब ‘प्यारी’ मा लय हालेर गाउन मिल्ने शब्दहरु रहेका छन् । किताबमा चित्रकार दीपक गौतमले निकै आकर्षक चित्र बनाएका छन् । बालबालिकाले औधी मनपराउने चित्रमा आमा र सन्तानको माया कस्तो हुन्छ विषयलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । किताबमा बालबालिकालाई मनपर्ने जनवारलाई कथाको प्रयोग गरिएको छ । थोरै शब्द रहेको किताबमा चित्रहरु आकर्षक छन् ।
प्रकाशकले दशवटै किताबलाई एकै बाकसमा कोशेलीका रुपमा बजारमा ल्याएको हो । सबै किताब रंगीन रहेको यसको मुल्य २२५० रुपैयाँ रहेको छ । सचित्र किताब प्रालिले पहिलो कोशेली रुपमा ल्याएका यी सबै किताबको सम्पादन कृष्णदीप सिग्देलको रहेको छ । बालबालिकाले मनपराउने चित्रकथा किताबमा रहेको कृष्णदीपले बताए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित आकारका किताब चित्र, रचना र छपाईको स्तरमा अलिकलि पनि कञ्जुस्याइँ नगरिएको बताए । उनले भने, ‘थोरै शब्द तथा रमाइला र आकर्षक रंगीन चित्र रहेको किताबले बालबालिकाको मनोभावलाई तान्न सक्छ ।’ किताबमा रहेका चित्रले बालबालिकाको मनोविज्ञानलाई समात्न सकेको चित्रकार दीपक गौतमले बताए ।

उनले कोशेलीका रुपमा उपहार दिन मिल्ने गरी किताब ल्याएको सुनाए । सचित्र किताबका भानु भट्टराईले बाल मनोविज्ञानमा आधारित रहेर लेखिएका कथा बालबालिकाले मनपराउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले किताबमा आकर्षक चित्र र कथा रहेकाले बालबालिकाले रुचाउनेमा जिकिर गरे । भट्टराईले ३ देखि १० वर्षसम्ममा बालबालिका लागि किताब उपयुक्त रहेको जानकारी दिए ।

प्रतिक्रिया