हिरासतमा रहेका गुन्डा नाइके विकास दुबे मारिए

एजेन्सी । भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे मुठभेडमा मारिएको उत्तर प्रदेश प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडक मार्गबाट दुबेलाई कानपुरतर्फ लग्दै गर्दा एउटा गाडी पल्टिएको थियो ।

त्यसपछि दुबेले भाग्ने प्रयास गरेको र गोली चलाउनु पर्ने अवस्था आउँदा उनको मृत्यु भएको प्रहरीको दाबी छ । प्रहरी अधिकारी मोहित अग्रवालले दुबेको मृत्युको पुष्टि गरे।

प्रहरी पनि घाइते

अग्रवालका अनुसार चार जना प्रहरी पनि घाइते भएका छन् । उनीहरूको कानुपरको सीएससी अस्पतालमा उपचार जारी रहेको बताइएको छ । भाग्ने प्रयास गर्दा दुबेलाई प्रहरीले आत्मसमर्पण गर्न भनेको तर, उनले आत्मसमर्पण नगर्दा गोली चलाउनु परेको प्रहरीको दाबी छ । तर, उनलाई कति गोली लाग्यो भन्ने जानकारी प्राप्त भएको छैन । प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण दिने जनाएको छ ।

मन्दिरमा पक्राउ

दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई मध्य प्रदेश राज्यको एउटा मन्दिरमा पक्राउ गरिएको हो। समाचारहरूमा जनाइएअनुसार बिहीवार सबेरै दुबेलाई उज्जैन सहरमा देखेपछि एक स्थानीय पसलेले प्रहरीलाई सूचना दिएका थिए ।

बुधवार प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको गोली हानाहानमा परेर मृत्यु भएको बताएको थियो । बिहीवार दुबेका अन्य दुई सहयोगी पनि भिन्न कारबाहीहरूमा मारिएका थिए । विकास दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा संलग्न भएका ६० वटाभन्दा बढी अभियोगहरू थियो।

तीन दशकदेखि अपराधमा

प्रहरी विवरणहरूका अनुसार दुबे झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न छन् । उनी यसअघि पनि केही पटक पक्राउ परेका थिए । तर, उनले कुनै पनि अभियोगमा सजाय पाएका थिएनन् ।

कानपुरस्थित पत्रकार प्रवीण मेहताले बीबीसी हिन्दीलाई भने, ‘सबै राजनीतिक दलमा विकास दुबेको प्रभाव छ । यही कारण उनी पक्राउ परे पनि केही दिनमा छुटिहाल्ने गरेका थिए ।’ – बीबीसी

प्रतिक्रिया