विद्यार्थीको घरमै दिवाखाजा वितरण

दैलेख । जिल्लाको नौमूले गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई घरमै पुगेर दिवाखाजा वितरण गरिएको छ । बुधवार नौमुले गाउँपालिका भित्रका ७ ओटा आधारभूत विद्यालय र २७ ओटा प्राथमिक विद्यालय गरी जम्मा ३४ ओटा विद्यालयका घर–घरमा टेकहोम रासनका रूपमा दिवाखाजा वितरण गरिएको हो ।

नौमुले गाउँपालिका भित्र रहेका ३४ ओटा विद्यालयमा अध्ययनरत ११३३ जना छात्र र ११७३ छात्रा गरी २३१२ जना विद्यार्थीहरु लाभान्वित भएका छन् । उनीहरूलाई प्रतिविद्यार्थी ७ केजी चामल, २ केजी दाल र ४५० ग्राम तेलका दरले उपलब्ध गराइएको छ । अन्य समयमा विद्यालयमा दिवाखाजा वितरण गर्ने विश्व खाद्य कार्यक्रमले हाल कोरोनाको कहरले गर्दा विद्यार्थीको घरमै पुगेर दिवाखाजा वितरण गरिएको शिक्षाका लागि खाद्य परियोजना इकाई कार्यालय दैलेखका एकाइ प्रमुख कृष्णप्रसाद रेग्मीले बताए ।

कोरोनाको कारण घरमा पुगेर दिवाखाजा पुर्याउने अवस्थामा सहभागी शिक्षक, अविभावहरुलाई वितरण केन्द्रमा नै साबुन पानीले पटक–पटक मिचिमिची हात धुने, मास्कको समुचित प्रयोग गर्ने, भौतिक दूरीको पालना गर्ने र अन्य वितरणका क्रममा आवश्यक पर्ने सहयोग एकीकृत विकास समाज नेपाल (आइडिएस–नेपाल) का सामाजिक परिचालक विष्णु कुमारी शाही र सम्झना शाहीले सहकार्य गरेका थिए ।

उक्त विद्यालयहरूमा विगत ४ वर्ष देखि विद्यालय सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । दैलेख जिल्लामा विगत २५ वर्षदेखि आधारभूत विद्यालयहरूमा विश्व खाद्य कार्यक्रमको सहयोगमा शिक्षाका लागि खाद्य परियोजनाद्वारा दिवाखाजा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

हाल जिल्लाका चामुण्डाविन्द्रासैनी नगरपालिका आठबीस नगरपालिकासहित ५ ओटा गाउँपालिका, भगवतीमाई, नौमुले, महाबु, भैरवी र ठाटिकाँध गरी ७ ओटा स्थानीय तहमा दिवाखाजा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । चैत्र ११ गतेदेखि देशभर नै बन्दाबन्दी (लकडाउन)को घोषणा भएकोले विद्यालय पनि पूर्णरूपमा बन्द रहेको र विद्यार्थीहरु नियमित रूपमा दिवाखाजा खानबाट वञ्चित हुँदै आएको भन्दै उनीहरूको घरमा पुगेर दिवाखाजा वितरण गरिएको एकीकृत विकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनालले बताए ।

प्रतिक्रिया