नेपाल पिसिआर परीक्षणमा अगाडि

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ ।

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बंगलादेशमा पाँच हजार ४१६, श्रीलंकामा पाँच हजार ३५९ र अफगानिस्तानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । नेपालमा कूल १६ हजार ४२३ जना संक्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड–१९ संक्रमणले ३५ जनाको मृत्यु भएको छ । यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बंगलादेशमा १३, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।

बुधबार नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् । कोभिड–१९ बाट संक्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २५३ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या सात हजार ७५२ रहेको छ । जम्मा संक्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएका छन् ।

कोरोना परीक्षण शुल्क लिए कारवाही
प्रवक्ता गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताए । सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने उनले बताए । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ ।

बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनको भनाइ छ । प्रवक्ता गौतमले कतिपय स्थानमा संक्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए । त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए

उपत्यकामा थपिए २३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया