मनसुनजन्य विपद्ः वैशाखपछि ११४ को मृत्यु

काठमाडौं । मुलुकमा वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन् । दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन् । आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घर आंशिक क्षति भएको छ । उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताए ।

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ । जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन् । प्राप्त विवरणानुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएको छ । असार २५ देखि २८ सम्म प्रदेश–१, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन ।

शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ । खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन विभागले आग्रह गरेको छ । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

प्रतिक्रिया