ऐतिहासिक दुगुनागढी बजेट अभावमा अधुरो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए ।

आगामी आर्थिक वर्ष २०७७–७८ मा गाउँपालिकाले मर्मतका लागि कुनै बजेट विनियोजन गरेको छैन । अध्यक्ष कोषबाट रु १० लाखबाट काम शुरु गरिने र आवश्यक बजेटका लागि वाग्मती प्रदेश सरकार र पुरातत्व विभागलाई अनुरोध गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

माथिल्लो ठूलो र तल्लो सानो गरी दुई उक्त गढी पूरै मर्मत गर्न करिब रु तीन करोड बजेट आवश्यक पर्ने बताइएको छ । आव २०७५-७६ मा मर्मतका लागि रु ३० लाख बजेटबाट उपभोक्ता समितिले भित्री भागको मर्मतकार्य सम्पन्न गरेको थियो ।

चालू आर्थिक वर्षमा वाग्मती प्रदेशबाट आउनुपर्ने रु १० लाख ५० हजार समयमा उपलब्ध हुन नसकेको र चैत ११ गतेदेखि लकडाउन शुरु भएकाले काम हुन सकेन । अध्यक्ष कोषबाट प्राप्त रु पाँच लाख ५० हजारबाट मात्र मर्मतकार्य भएको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गढीको पर्खाल लगाउन सिमेन्ट प्रयोग गर्न मिल्दैन, ढुङ्गा पनि कालो र कडाखाले हुनु पर्दछ । त्यस्तो ढुङ्गा टाढाबाट ल्याउनुपर्ने हुँदा काम सम्पन्न गर्न झण्डै दुई–तीन वर्ष लाग्ने देखिन्छ ।

नेपाल–चीनको सिमानामा पर्ने उक्त गढी भोटेकोशी गाउँपालिका–३ को दुगुनामा पर्दछ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको उक्त गढी समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा पर्दछ भने अरनिको राजमार्गको तातोपानी बजारबाट १० किलोमिटर माथि पर्दछ । उक्त गढी जीर्ण भएपछि बाह्रबिसेस्थित तत्कालीन केवलजङ्ग गुल्मले विसं २०५७ मा मर्मत गरेको थियो । विसं २०७२ को भूकम्पबाट तहसनहस भएपछि गत वर्षदेखि गाउँपालिकाले मर्मतकार्य शुरु गरेको हो ।

नेपाल र तिब्बतबीच युद्ध शुरु भएपछि तत्कालीन कमाण्डर जनरल धीरशम्शेर जबराले विसं १९११ मा शुरु गरी १९१२ मा गढीको निर्माण गराएका थिए । त्यहाँबाट करिब ३० किलोमिटर दूरीमा रहेको कुतीसम्म तोपद्वारा शत्रुमाथि प्रहार गर्न सकिने उद्देश्यका साथ गढी निर्माण गरिएको इतिहासमा उल्लेख भएको पाइन्छ ।

प्रतिक्रिया