विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक

बाग्लुङ । बागलुङको एक विद्यालयले बार अनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । बन्दाबन्दीको अवस्थामा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा रहेको जनता–धन माविले शिक्षक परिचालन गर्न लागेको हो ।

सेवा क्षेत्रभित्रका पाँच वटा टोलमा शिक्षकलाई पठाएर विद्यालयले पठनपाठनमा सहजीकरण गर्ने जनाएको छ । तत्काल शिक्षक टोलटोलमै पुग्नुबाहेक विकल्प नरहेकाले बारअनुसार टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठनपाठनमा आवश्यक सहयोग गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताए । विद्यालयलाई सिकाइ केन्द्र कायम गरेर शिक्षकका पाँच वटा समूह बनाएर काममा लगाइएको हो ।

विद्यार्थीलाई शिक्षक टोलमा आउने विषयमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ । सम्बन्धित टोलको जिम्मेवारी पाएका शिक्षकले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थी भेटेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी बनाइ सहयोग गर्ने वातावरण मिलाइएको उनले बताए । विद्यालयको निर्णयानुसार कैया टोलमा आइतबार, सरंगीमा सोमबार शिक्षक पुग्ने छन् । मङ्गलबार शिक्षकको संयुक्त बैठक बसेर सातामा भएका गतिविधिका विषयमा समीक्षा गर्ने विद्यालयले जनाएको छ ।

बुधबार अर्माह, लाम्पाटा, बैदारटोल, धन्सार, ठूलोखोरलगायतका टोलमा शिक्षक पुग्ने छन् भने बिहीबार गार्लुङ र शुक्रबारका लागि नमूनागाउँ, केटीचौर टोल छुट्याइएको छ । टोलमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको समूह ठूलो वा सानो बनाएर पठाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सुवेदीले जानकारी दिए ।

विद्यार्थीलाई भेट्ने, उनीहरुलाई पाठ्यक्रमअनुसारका शैक्षिक सामग्री पढ्न लगाउने र गृहकार्य दिनेलगायतका काम तोकिएको छ । सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन विद्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया