कमरेड असल संस्कार कहिले सिक्ने ?

२०५४ सालमा नेकपा एमाले विभाजन पूर्व र विभाजन पश्चात एकले अर्कोलाई गरेको गाली सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । दशौ वर्षसम्म नेकपा एमाले र माओवादी केन्द्र विचको द्वन्द्व–प्रतिद्वन्द अझ सम्झि साध्य छैन । आज हामीसवै एउटै नाउमा सवार हुन आई पुगेका छाै

हामी कम्युनिस्टहरू आफुलाई सवभन्दा निस्वार्थ छौ, भन्छौ । यथार्थमा बिशेष स्वार्थी देखिन थालेका छौ । हामीले आफुलाई अरू भन्दै आयौ । तर, हामीलाई पनि जनताले उस्तै जोगि भन्छन् । हामी कम्युनिस्टहरूले राजनीति वर्गीय हुन्छ भन्यौ । हाम्रो स्वार्थ नै वर्गको स्वार्थ हो, भन्यौ । अनी हाम्रो वर्गीय स्वार्थको प्रतिनिधित्व कम्युनिस्ट पार्टीले गर्छ भनेर नारा लगायौ । जीन्दगी भरी लडाइँ गर्यौ । त्यसै अनुसार सवै कुरा पार्टीलाई सुम्पिने गरी विधि र प्रणाली बनायाैँ । विधि अनुसार पार्टीलाई प्राधिकार ठानेर जिम्मा लगायौ । अहिले आएर हामीबाटै सवै कुरा मिथ्या सावित गर्ने प्रयास हुदैछ । कम्युनिस्ट पार्टी र यसले बनाएको विधि तथा प्रणाली पनि केही होइन भनेर प्रमाणित गर्न खोजिदैँछ । अन्ततः पार्टी र कार्यकर्तालाई फगत केही व्यक्तिलाई पदमा पुर्याई दिने र उनकै पद रक्षा गरिदिने साधनको रूपमा वुझ्ने काम भइरहेको छ ।

हामी कम्युनिस्टहरूले इतिहासका निर्माता जनता हुन भन्यौ । जनता र केवल जनताको लागि जीवन उत्सर्ग गर्ने कुरा गर्यौ । नयाँ इतिहास रचना गर्नको लागि लाखौ लाख जनतालाई सडकमा उतार्यौ । हामीले नयाँ इतिहास बनायौँ, संविधान बनायाैँ हाम्रो सरकार बनायौँ । अव जनतालाई सेवा दिने वेलामा हामीबाट ‘म’ भएका छौँ । पार्टीको घोषणा पत्र होइन, मेरो घोषणा पत्र भनिरहेका छाैँ । हामीले जनताको निम्ती सरकार चलाउने होइन । शासक मै हुँ, शासन तन्त्र पनि मै चलाउछु, भन्न थालेका छाैँ ।

आफ्नो स्वार्थसँग बाझियो भन्ने आधारमा राज्यको सवभन्दा माथिल्लो जिम्मेवारीमा बसेको पदाधिकारीले कसैलाई विदेशीबाट परिचालित जस्तो गम्भिर आरोप लगाउनु चानचुने कुरा होइन । राज्यको सुविधा खाएर, कसै प्रति खराव र द्वेष भावनाले काम नगर्ने शपथ खाएको व्यक्तिले आफ्नै पार्टीका अध्यक्ष र वरिष्ठ नेताहरूलाई आवेशमा आएर विदेशीहरूबाट सञ्चालित भएको आरोप लगाउनु साधारण भूल होइन

यसले के कुरा प्रमाणित गर्छ भने हामी कम्युनिस्ट भएका रहेनछौँ । कम्युनिस्टका नाममा जनतालाई भ्रम दिई रहेका छौँ । अवोध नेपाली जनतालाई सरप्राइज दिई रहेका छौँ । होइन भने कम्युनिस्ट पार्टीमा सामुहिक नेतृत्व प्रणालि स्थापित हुनु पर्छ की पर्दैन ? कम्युनिस्ट आन्दोलनको अगुवा दस्ता पार्टीको नेतृत्वलाई सम्मान गर्नु पर्छ कि पर्दैन । ढाट्ने र भ्रमित गरेर खेल्ने अधिकार कसैलाई छैन । अझ कम्युनिस्ट पार्टी कै नामवाट चुनिएका प्रतिनिधिलाई त छदै छैन ।

सुरू सुरूमा हामी कम्युनिस्ट पार्टीमा लाग्दा कमरेड मनमोहन अधिकारीलाई गाली गर्न सिकाउने गरिन्थ्यो । कमरेड मनमोहन अधिकारीलाई दरवारको वरिपरि घुम्ने प्यादा हुन्, पिध नभएको लोटा हुन्, सेना विनाका सेनापती हुन भनिन्थ्यो । ०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले एकिकृत भयो । मनमोहन कमरेड हाम्रो पार्टीको अध्यक्ष हुनुभयो । २०५१ सालमा म पनि प्रतिनिधिसभामा चुनिएर गएको थिए । मनमोहन कमरेड देशको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो । आज नेपाल राष्ट्रले पाएको सवभन्दा स्वच्छ, जनमुखी र निश्कलंक प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारी स्थापित हुनुहुन्छ । यसको कारण भनेको वहाको पचासौ वर्षको समर्पण र त्यागका साथै सुदृढ र शसक्त पार्टी नेकपा एमालेको सहि निर्देशन थियो । यसैले कमरेड अधिकारी देशको सवभन्दा अशल नेता र सफल प्रधानमन्त्री पनि हुनुभयो ।

हामीले कम्युनिस्ट पार्टीको वाह्रखरी पढि रहदा कमरेड पुष्पलाललाई गद्दारी गरेको आरोप लगाईन्थ्यो । वहाँलाई नेपाली कांग्रेसको वरिपरी घुम्ने उपग्रहको उपमा दिइन्थ्यो । पार्टीलाई कुशल नेतृत्व गर्न नसक्ने कमजोर नेता र कांग्रेसको मुख ताकेर वस्ने परमुखापेक्षी भनेर हेप्ने गरिन्थ्यो । पार्टी संगठनमा कमजोर नेता भनेर हेला गरिन्थ्यो । कमरेड मोहनविक्रम सिंहले त गद्दार पुष्पलाल भनेर ठुलो ठेली नै लेख्नुभयो । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठलाई सवैले सम्मान गरेका छन । अहिले वहाँको पार्टी प्रतिको निष्ठा, इमान, त्याग, समर्पण र सिद्धान्त वादिताको चर्चाले हामी सवैको शिर ठाडो हुन्छ । अन्ततः कमरेड पुष्पलाल श्रेष्ठले अघि सार्नु भएको विचार र संयुक्त जन आन्दोलनको सिद्धान्त स्थापित भयो । सवैले आफुले गरेको गल्ती स्वीकार गरेर गाली फिर्ता लिएका छन् । आज पुष्पलाल कमरेड सवै तिरबाट सम्मानित हुनु भएकोछ ।

२०५४ सालमा नेकपा एमाले विभाजन पूर्व र विभाजन पश्चात एकले अर्कोलाई गरेको गाली सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । दशौ वर्षसम्म नेकपा एमाले र माओवादी केन्द्र विचको द्वन्द्व–प्रतिद्वन्द अझ सम्झि साध्य छैन । आज हामीसवै एउटै नाउमा सवार हुन आई पुगेका छाैँ । हामीले बाहिर भएका वाम शक्तिलाई अझै पार्टीमा मिलाउनु छ । कम्युनिस्ट पार्टीको सरकारको पक्षपोषणको नाममा यस्तै लाजमर्दो गाली बेइज्जती र तिक्तता पूर्ण संस्कृति हुर्काएर उभो लाग्न सकिएला ? अलीकती गम्भिर भएर सोचौँ हामीले असल संस्कार कहिले सिक्ने हो ।

सानै छदा हामीहरू कम्युनिस्ट पार्टीको बैचारिक प्रशिक्षणमा जान्थ्याैँ हामीलाई वीपी कोइराला देश बेचुवा हुन भनेर पढाउने गरिन्थ्यो । नेपाली काग्रेस पार्टीलाई भारतको दलाल पार्टी भनेर सिकाउने गरिन्थ्यो । कोशी र गण्डकी नदिको पानी भारतलाई दिने सम्झौता नेपाली कांग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरेका थिए । यसैले काग्रेसलाई भन्ने प्रसस्त ठाउ छ । तर, जहाँसम्म विपी कोइरालाको कुरा छ । उनले जीवनका अनेकौ मोडमा लिएका राष्ट्रवादी अडान र उनका देशभक्ति पूर्ण पुस्तकहरू पढ्दा मान्छेहरू नतमस्तक हुन्छन । चाहे नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता लिदा होस चाहे जनवादी गणतन्त्र चीनसँगको सिमा सम्झौताको प्रसंगमा वा भारतको दवावलाई अस्वीकार गर्दै आफ्नो जीवन जोखिममा राखेर नेपाल फर्कदा होस । त्यती मात्र होइन उनले नेपाली साहित्यमा गरेको अतुलनिय योगदानदेखि नेपाली राजनीतिमा गरेको समग्र त्याग समेतलाई हेरेर आज सवै पक्षहरू वीपी कोइरालालाई देश प्रति समर्पित राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा समेत लिने गर्दछन । हामी जस्ता कम्युनिस्टहरू पनि वीपीलाई लोकतन्त्र र देश प्रति समर्पित व्यक्तित्वको रूपमा स्वीकार गछौंँ ।

यसको अर्थ कुनै पनि मान्छेको मुल्यांकन एउटा खास घट्ना र परिवेशको आधारमा गरिनु हुदैँन र गरिदैँन पनि । जीवनका अनेकौ उतार चढाव हुन्छन् । समग्र जीवनका सम्भव–असम्भव तथा सकारात्मक नकारात्मक सवै कामको मुल्यांकन गरेरमात्र व्यक्तिको मुल्यांकन गरिन्छ । राजनीतिक पार्टीमा क्रियाशिल नेताहरूको कुरा पनि त्यही हो । आजको नेपाली राजनीतिले समयलाई ठग्ने कोसिस गरिरहेको छ । हाम्रो पार्टीमा आन्तरिक राजनीतिक कलहको नाममा फेरी पुरानै कमजोरी दोहोर्याउने असफल प्रयास भैरहेको छ । अनाहकमा कसैलाई राष्ट्रवादी मसिहा र कसैलाई राष्ट्रघातको विल्ला भिराएर बदनाम गराउने नक्कली अभियान चलाइदैछ । यो कदापी उचित हुदैँन र टिक्ने काम पनि होइन् । चाहे पार्टी अध्यक्ष केपी शर्मा ओली हुन चाहे कमरेड प्रचण्ड । चाहे कमरेड झलनाथ खनाल हुन चाहे माधवकुमार नेपाल या कमरेड वामदेव र नारायणकाजी श्रेष्ठ वा ईश्वर पोखरेल हुन् । सवैको मुल्यांकन समग्रमा हुनुपर्छ । नेकपाको सचिवालयले गरेको साझा निर्णयलाई सवैले साझा स्वामित्वको रूपमा लिनु पर्छ ।

हरेक व्यक्तिलाई एजेण्डा अनुसार विचार बनाउने अधिकार हुन्छ । राष्ट्रियताको एजेण्डामा सम्पूर्ण व्यक्ति र पार्टीमात्र होइन देश नै एक ठाउमा आउनु पर्दछ र आएको पनि हो । राष्ट्रियता बाहेक अरू एजेण्डामा व्यक्तिहरूका मत बाझिन सक्छन् । कसैका काम कसैलाई चित्त नवुझ्न पनि सक्छ । कसैले अरू धेरै कमजोरी गरेर राष्ट्रियताको एउटा एजेण्डामा ठिक गरेको पनि हुन सक्छ, अर्थात अनेक हुन सक्छन् । आफ्नो स्वार्थसँग बाझियो भन्ने आधारमा राज्यको सवभन्दा माथिल्लो जिम्मेवारीमा बसेको पदाधिकारीले कसैलाई विदेशीबाट परिचालित जस्तो गम्भिर आरोप लगाउनु चानचुने कुरा होइन । राज्यको सुविधा खाएर, कसै प्रति खराव र द्वेष भावनाले काम नगर्ने शपथ खाएको व्यक्तिले आफ्नै पार्टीका अध्यक्ष र वरिष्ठ नेताहरूलाई आवेशमा आएर विदेशीहरूबाट सञ्चालित भएको आरोप लगाउनु साधारण भूल होइन ।

अहिले ‘ताक परे तिवारी, नत्र गोतामे’ भने जस्तो भएको छ । आफुलाई पर्दा भयंकर देशभक्त जनवादी अरूलाई पर्दा देशद्रोही भनिदैँछ । अझ आफुसँग बस्ने, आफुसँग हिड्ने र हरेक पलमा साथमा रहने सहयात्रीलाई समेत देशद्रोही करार गर्दै सम्पूर्ण पार्टीलाई समेत कलंकित गर्ने प्रयास भइरहेको छ । कतिसम्म अज्ञानता देखियो भने कम्युनिस्ट पार्टीमा त्यसका वहुसंख्यक नेताहरूको चरित्रले पार्टीको चरित्र निर्धारण हुन्छ । त्यसैगरी पार्टीले लिएको नीति र पार्टीले गर्ने निर्णयको आधारमा उसको चरित्र निरूपण हुन्छ ।

पार्टीमा व्यक्तिको भूमिका जहिले पनि गौण हुन्छ । सामुहिक दायीत्व प्रधान हुन्छ । यहाँ पार्टीले गरेको निर्णय चाहिँ ठिक अनि निर्णय गर्ने व्यक्तिहरूलाई वेठीक बनाउने दुस्प्रयास भइरहेको छ । यसले पार्टीको सामुहिक निर्णय प्रधान हुने, सवै व्यक्तिहरू निर्णय प्रति समान जिम्मेवार र हकदार हुने अनि पार्टी निर्णय मान्न सवै सदस्यहरू वाद्य हुनु पर्ने कम्युनिस्ट पद्दतीलाई नै चुनौती हुन्छ । अझ सामुहिक रूपमा भएको निर्णयलाई व्यक्तिको एकल पुँजी बनाएर अनर्गल प्रचार गर्नु र सहयात्रीहरूको तेजोवध गरीनु कसरी जायज हुन्छ होला र ? यसले माथि भनिए जस्तो विगतकै कमी–कमजोरीलाई पटक पटक दोहोर्याउनु बाहेक अरू केही पनि हुदैँन, सवैलाई चेतना भया ।

प्रतिक्रिया