दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान

रूकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६–७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिन सुरू गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो। व्यक्तिगत रूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ। नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएको थियो। दूध उत्पादन बढाउन प्रोत्साहन स्वरुप किसानलाई प्रति लिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो।

एक लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चालु आर्थिक वर्षभित्र एक लाख १५ हजार रुपैयाँ खर्च भएको नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिइन्। उनका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन्।

अनुदान पाउनका लागि कम्तीमा ५०० लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधानअनुसार ​व्यक्तिगत रूपमा दूध उत्पादन गरिरहेका नगरक्षेत्रका​ १८ किसानले कम्तीमा एक हजार ५०० देखि बढीमा २४ हजार ६०० रुपैयाँसम्म अनुदान पाएको सापकोटाको भनाइ छ।

अनुदानका लागि वर्षभित्र कम्तीमा ५०० लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको थियो। आगामी वर्षसमेत यो कार्यक्रमले निरन्तरता पाउने भए पनि चालु वर्षकै अनुसार सञ्चालन गर्ने कि नयाँ विधिबाट सञ्चालन गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन।

आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार विनियोजन भएको छ भने संघीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ। दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट विनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताए।

प्रतिक्रिया